विश्व बैंकका परामर्शदाता बागलुङमा

आगामी आर्थिक बर्षदेखि संचालन हुने गरी १६ अर्ब रुपैयाँको परियोजनाका लागि बैंकले लगानी गर्न

बागलुङ, ३० पुस – बिश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकामा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार कार्यक्रम संचालन हुने भएपछि परामर्शदाताले छलफल शुरु गरेको छ । आगामी आर्थिक बर्षबाट लगानी भित्रिने गरी बिश्व बैंकले नेपाल सरकारसँग ऋण सम्झौता गरिसकेपछि छनौटमा परेको नगरमा पनि परामर्शदाता आएका हुन् । नगरक्षेत्रमा कुन–कुन क्षेत्रमा लगानी परिचालन गर्ने भन्ने बिषयमा उनीहरुले सरोकारवालासँग छलफल गरेका छन् । आइतबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलसहित कार्यपालिका सदस्यहरु, शिक्षा, स्वास्थ्य, खानेपानी, उद्योग बाणिज्य संघ लगायतका क्षेत्रका प्रतिनिधिको उपस्थितिमा छलफल शुरु भएको नगरप्रमुख जनकराज पौडेलले बताए । पूर्वाधार योजना र व्यवस्थापकीय सुधारका कामबारे अध्ययन गरेर आगामी दिनमा कुन–कुन योजनामा बजेट लगानी गर्ने भनेर छलफल भएको हो । बिश्व बैंकले सहुलियत ऋण सहयोग गर्ने भएपछि नेपाल सरकारले शहरी बिकास मन्त्रालयमार्फत देशभरका २१ नगरपालिकामा यो कार्यक्रम संचालन गर्नेछ । ढल निकास, सडक, खानेपानी र सरसफाईका लागि कार्यक्रम छनौट गरेपछि बैंकले लगानी गर्नेछ ।

आगामी आर्थिक बर्षदेखि संचालन हुने गरी १६ अर्ब रुपैयाँको परियोजनाका लागि बैंकले लगानी गरेको हो । परामर्शदाताले बिस्तृत प्रतिवेदन बनाएर बुझाएपछि सोही अनुसार बजेटको पनि सम्झौता हुने बताइएको छ । लगानीबाट चक्रपथ, ढल निकास र सरसफाईको क्षेत्रमा काम गरिनेछ । कार्यक्रमले सहिद स्मृति पार्क सुधार गरिएको सुवेदीले बताए । आयोजनाले सूचक तय गरेर बजेट बाँड्दा बागलुङ नगरपालिकाले ७० देखि ८० करोड रुपैयाँ पाउनेछ । ‘यो बजेटले हामीले कुनै गौरबको आयोजना बनाउने तयारी गरेका छौं’ पौडेलले भने, ‘पूर्वाधारसहित आन्तरिक व्यवस्थापकीय सुधारमा पनि लगानी हुनेछ ।’ परामर्शदाताले नगर प्रोफाइल, सडकको दुरी तथा हरेक वडामा सडक संजालको अवस्था, खानेपानी, ढल निकास र फोहोर व्यवस्थापनको अवस्थाको तथ्यांक समेत संकलन गरेको वातावरणबिद पुरुषोत्तम महतले बताए । ईन्जिनियरिङ स्ट्याण्डर अनुसार नबनेका सडकमा बैंकले लगानी नगर्ने उनले बताए । तोकिएका मापदण्डमा खनिएका सडक भए स्तरोन्नती र कालोपत्रेका लागि लगानी गर्न सकिने मापदण्ड बनाइएको छ । त्यस्तै सरसफाईको लागि भने फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण र खानेपानीका योजना संचालनमा लगाउन सकिने महतले बताए । पछि बिबाद नआउने गरी नगरपालिकाले मापदण्ड बनाएर योजना ल्याउन उनले सुझाव दिए । यस्ता योजनामा कसैको आवास अतिक्रमणमा परेमा तोकिएको क्षतिपूर्ति दिने व्यवस्था पनि छ ।

सडकको हकमा लागत कट्टा गरेर निर्माण गर्न समेत परामर्शदाताले सुझाव दिएका छन् । बागलुङ नगरपालिकाले यस अघिको नगरभित्र चक्रपथ बनाएको थियो । क्षेत्र बिस्तार भैसकेपछि पनि पहिलो प्राथमिकता चक्रपथकै लागि बनाउनु पर्ने कार्यपालिका सदस्यहरुले सुझाव समेत दिएका छन् । नगरपालिकाका धेरै क्षेत्रमा अझै स्वच्छ खानेपानीको समस्या रहेको, फोहोरको उचित व्यवस्थापनका लागि पहल नभएको र मुख्य बजारमा अझै ढल निकास राम्रो नभएकोले ती क्षेत्रमा लगानी गर्न पनि वडा अध्यक्षहरुले सुझाव दिएका थिए । आइतबार भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले नगरको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । उक्त अवसरमा वडा अध्यक्षहरु चक्रबहादुर खत्री, गुरुदत्त पाठक, कांग्रेस सभापति दिपेन्द्रबहादुर थापा, समाजसेवी देवबहादुर श्रेष्ठ, खानेपानी तथा सरसरसफाई उपभोक्ता संस्थाका सचिव रामबहादुर केसी लगायतले बोलेका थिए ।