आइडी कार्डपछि यसरी सुटुक्क भागेर क्यानाडा पुगें

६ वर्षअघि नै मैले साउदी अरब छाड्ने तयारी गरेकी थिएँ । तर मलाई त्यसका लागि पासपोर्ट र नेशनल आइडी कार्ड चाहिन्थ्यो । मलाई ती सबै कागजातका लागि आफ्नो अभिभावकको सहमती चाहिन्थ्यो । तर राम्रो के भइदियो भने, विश्वविद्यालयमा पढ्ने क्रममा चाहिने भएकाले मैले आइडी कार्ड पाएँ । त्यसका लागि परिवारले सहमति दियो । मसँग पासपोर्ट पनि थियो, २वर्षअघि अंग्रेजी परीक्षा दिन त्यो चाहिन्थ्यो । तर, ती सबै परिवारले लिएको थियो, मसँग थिएन । मलाई त्यो फिर्ता पाउनुथियो । एकदिन मैले घरको चाबी चोरें । चाबी पसलमा गएर नक्कली चाबी बनाएँ । एकदिन घरका मानिसहरु सुतिरहेको बेला मैले सुटुक्क ती कागजात चोरें । यो सबै जोखिमपूर्ण काम थियो । मेरो चोरी फेला प¥यो भने मसँग नराम्रो हुन सक्थ्यो ।
मैले आफ्नो र बहिनीको पासपोर्ट सुटुक्क निकालें । र मेरा बा सुतिरहेका बेला उहाँको फोन पनि लिएँ । त्यो फोनमार्फत् मैले गृहमन्त्रालयको वेबसाइटमा उहाँको अकाउन्टमा लग इन गरें र उहाँको रजिष्ट्रेशन नम्बर परिवर्तन गरेर आफ्नो नम्बर हालिदिएँ । त्यही अकाउन्टबाट मैले हामी दिदीबहिनीका लागि देश छाड्ने अनुमति लिएँ । एक रात सबै सुतिरहेको बेला हामी दिदीबहिनी घरबाट भाग्यौ । त्यतिबेला हामी निकै तनावमा थियौं । हामी गाडी हाँक्न सक्दैनथ्यौं । यसैले हामील ट्याक्सी मगायौं । गज्जब त के थियो भने सबै ट्याक्सी चालक विदेशी थिए । त्यसैले हामीलाई एक्लै यात्रा गरेको देखेर उनीहरुले अचम्म मानेनन् । हामी रियादनजिकैको किङ खालिद इन्टरनेशनल एयरपोर्टका लागि निस्कियौं । त्यतिबेला हामी के गर्न गइरहेका छौ भनेर कसैले थाहा पाएको भने हाम्रो हत्या हुन सक्थ्यो ।
कलेज पढ्ने क्रममा मैले एक अस्पतालमा काम गरेको थिएँ । मैले जर्मनीका लागि विमानको टिकट र ट्रान्जिट भिसाका लागिपैसा जम्मा गरेको थिएँ । मसँग बेरोजगारी भत्ताको पैसा पनि थियो । म बहिनीसँग जर्मनीको उडानमा थिएँ । विमानमा यात्रा गरेको नै त्यो पहिलो थियो । त्यो गज्जबको अनुभव थियो । मैले डर र खुशी एकसाथ अनुभव गरिरहेको थिएँ । हामी भागेको थाहा पाएपछि बाले प्रहरी बोलाउनुभयो । तर त्यतिन्जेलसम्म ढिलाई भइसकेको थियो । मैले गृहमन्त्रालयको वेबसाइटमा पिताको फोन नम्बर परिवर्तन गरिदिएको थिएँ । अधिकारीहरुले उहाँलाई फोन त गर्थे, तर त्यो मेरो मोबाइलमा आउथ्यो । हामी जर्मनीमा उत्रिएपछि प्रहरीले एक सन्देश पठायो । तर त्यो मेरा पिताका लागि थियो ।
साउदी अरबमा जिन्दगी नै छैन । मेरो जिन्दगी यतिमात्र थियो, घरबाट विश्वविद्यालय, विश्वविद्यालयबाट घर । यस अलावा म केही गर्न सक्दिनथें । उनीहरु जहिले पनि भन्थे, पुरुष हामीभन्दा माथि हुन्छ । मलाई रमजानका लागि रोजा राख्न बाध्य पारिन्थ्यो । जब म जर्मनी पुगें, आश्रयका लागि कानुनी मदतका लागि वकिलकहाँ गएँ र आफ्नो कथा सुनाएँ । मैले क्यानडामा रहने निर्णय गरें किनकि यो देश मानवअधिकारको हिसाबले राम्रो देश हो । मैले समाचारमा पनि सिरियाका शरणार्थीलाई त्यहाँ लगिदैछ भन्ने पढेको थिएँ । मेरो निवेदन स्विकारियो । जब म टोरन्टो उत्रिएँ, एयरपोर्टमा क्यानडाको झण्डा देखेर निकै ठूलो उपलब्धी भएजस्तो लाग्यो ।
म आजकाल बहिनीसँग विना तनाव मन्ट्रीअलमा बस्छु । यहाँ मलाई केही काम गर्न कसैले पनि बाध्य पार्न सक्दैन ।साउदी अरबमा बढी पैसा हुन सक्छ । तर त्यहाँको भन्दा यहाँको जिन्दगी निकै राम्रो छ । यहाँ म आफ्नो मर्जीले निस्कन सक्छु, निस्कन कसैको सहमति चाहिदैन । मलाई स्वतन्त्रता महसुस हुन्छ, म जे चाहन्छु, त्यो लगाउन सक्छु । मलाई पतझर र हिउँ मन पर्छ । म फ्रेन्च सिकिरहेकी छु । बाइक चलाउन, पांैडी खेल्न र आइस स्केटिङ सिकिरहेको छु । मलाई लाग्छ, म जिन्दगीमा केही गरिरहेकी छु । (८ महिनाअघि साउदी अरबबाट भागेर क्यानडा पुगेकी सलवा नामकी युवतीको कथा, स्रोत बीबीसी)