नेपालमा पहिलो भूउपग्रह भक्तपुरमा तयार

स्विट्जरल्यान्डका भू–उपग्रह र अन्तरिक्ष प्रविधिसम्बन्धी कम्पनीमा काम गर्ने नेपाली राकेश प्रजापतिले ओराइन स्पेस स्थापना गरेका हुन्।

बागलुङ, १७ माघ – नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्। भक्तपुरकाे कमलबिनायकस्थित ओराइन स्पेशमा ‘नेपाल पिक्यु वान’ तयार भएको हो। यो सानो भू-उपग्रह ५ सेन्टिमिटर लामो, पाँच सेन्टिमिटर अग्लो र पाँच सेन्टिमिटर चौडा छ। २ सय ५० ग्राम तौलको पिको भूउपग्रह खल्तीमा राखेर हिँड्न मिल्नेछ। ‘हामीले तयार पारेको योजनाअनुसार जाने हो भने २०२० को मध्यसम्ममा पिको स्याटलाइट अन्तरीक्षमा पुग्नेछ,’ ओराइन स्पेशका रिसर्च एन्ड डेभलोप्मेन्ट इन्जिनियर सौरभ पौडेल भन्छन्, ‘अहिलेसम्म इन्जिनियरिङतर्फका ७५ प्रतिशत काम सम्पन्न भएको छ। हामी अन्तरिक्षमा प्रक्षेपण गर्न मिल्ने सानो स्याटलाइट बनाउन सफल भएका छौं।’ पौडेलले विगत दुई वर्षदेखि गर्दै आएको परिश्रमको परिणमस्वरुप पकेट क्युब तयार भएको बताए। पौडेल र अन्य चार जना इन्जिनियरहरू कमलविनायकस्थित ओराइन स्पेश कम्पनीमा ल्याब पिको भूउपग्रहलाई अन्तिम रुपमा दिइरहेका छन्। ‘दैनिक जस्तो छलफल हुन्छ र कामका बाँडफाँट गर्दै काम गर्ने गरेका छौं। नियमित रुपमा ५ जना काम गरिरहेको भए पनि विज्ञान र इन्जिनिरिङ २५ साथीहरु यसमा जोडिनु भएको छ,’ ओराइन स्पेशका जितेन थापाले भने, ‘महिनामा एक पटक सबै जम्मा हुन्छौं। छलफल हुन्छ, जिम्मेवारीको बाँडफाँट पनि हुन्छ।’ थापा र पौडेल काठमाडौं विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनिरिङमा स्नातक हुन्। अभिनव मैनाली, रुकेश प्रजापति र राजेश धुसुले ख्वप ईन्जिनियरिङ्बाट इलेक्ट्रोनिक्स ईन्जिनियरिङ् गरेका हुन् । ‘यसमा इलोक्ट्रिकल इन्जिनियरिङको पनि पावर र कम्युनिकेसन विषय अध्ययन गर्ने बढी छौं’, थापा भन्छन्।
नेपालमा भूउपग्रह निर्माण गर्न स्विट्जरल्यान्डका भू–उपग्रह र अन्तरिक्ष प्रविधिसम्बन्धी कम्पनीमा काम गर्ने नेपाली राकेश प्रजापतिले ओराइन स्पेस स्थापना गरेका हुन्। प्रजापतिकै नेतृत्वमा नेपालमा विद्यार्थीहरुले काम गरिरहेका छन्। प्रजापति काठमाडौं विश्वविद्यालयका पूर्व विद्यार्थी हुन्। बिइ तेस्रो वर्ष अध्ययनको क्रममा पिको भूउपग्रह निर्माण गर्ने विषयका काम शुरुवात भएको पौडेलले बताए। ‘पहिलो क्यान स्याटको काम गर्दथ्यौं,’ पौडेल सम्झन्छन्, ‘राकेश दाईसँग भेटपछि पिको स्टयाटलाइट निर्माणका विषय शुरु भएको हो। हामी निरन्तर रुपमा सम्पर्कमा रहेर काम गरिरहेका छौं।’ थापाले शुरुमा शैक्षिक परियोजनाको रुपमा शुरु गरेकाे विश्वविद्यालयकाे अध्ययन सकिएपछि बाहिर कम्पनी स्थापना गरेर काम गरेको बताए। क्यान स्याटले भूउपग्रहसम्बन्धी सिस्टमले कसरी काम गर्छ भनेर प्रयोगात्मक रुपमा सिकाउने काम हुन्छ। उनीहरुले पिको भूउपग्रह बनाउन दश लाख रुपैयाँ खर्च भइसकेको छ। विद्यार्थीहरुले आफूले बनाएको सानो भूउपग्रह पृथ्वीका सतहभन्दा ५ सय किलोमिटर माथि अन्तरीक्ष परिक्रममा गर्नेछ। जुन प्रतिसेकेन्ड ७ दशमलव २ किलोमिटर दरले पृथ्वीको परिक्रमा गर्नेछ। ‘यसले अन्तरिक्षमा रहेको रेडिएसनका परिणामका मापन गर्ने छ,’ मैनाली भन्छन् , ‘यसले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक फन्को लगाउने छ।’

नेपाली विद्यार्थीले बनाएको यो पिको भूउपग्रहको भाइब्रेसन र इन्भारामेन्टल परीक्षण हुन बाँकी छ। ‘रकेटमा पठाउँदा उत्पन्न हुने भाइब्रेसनमा हामीले प्रयोग गरेको स्याटलाइटका हार्डवेयर टिक्छ वा टिक्दैन र अन्तरिक्षमा राखेपछि त्यहाँका अवस्थामा यो कतिका काम गर्छ भनेर जाँच गर्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘नेपालमा यस्तो परीक्षण गर्ने प्रयोगशाला छैन। यो परीक्षणका लागि विदेश पठाउनु पर्ने हुन्छ।’ विदेश पठाउँदा ८–१० लाख रुपैयाँसम्म खर्च हुन्छ। पिको स्याटलाइट निर्माण गरे पनि त्यसलाई प्रक्षेपण गर्ने विषयमा नेपालमा कुनै कानुनी व्यवस्था छैन। ‘यसको सिस्टमअनुसार एमेच्युरो रेडियोमा कम्युनिसेन हुन्छ तर त्यसको फ्रिक्वेन्सी ब्यान्ड लिने व्यवस्था हाम्रो कानुनमा छैन। सरकारले ब्यान्ड उपलब्ध गराइदिनुपर्ने हुन्छ,’ पौडेल भन्छन्, ‘यो विषयमा सरकारले कानुन संशोधन गर्नेदेखि सिफारिस गर्नेसम्मका काम गरिदिनु पर्छ।’ अन्तरिक्षमा पिको भूउपग्रह पठाउन सरकारले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन(आइटियु) र इन्टरनेसनल एमेच्याेर रेडियाे युनियन (आइएआरयु) पठाउने अनुमति लिइदिनु पर्ने हुन्छ। पिको स्याटलाइटसँगै त्यसलाई ट्रयाकिङ गर्ने र त्यसबाट डेटा प्राप्त गर्नका लागि ग्राउण्ड स्टेसन निर्माण काम पनि भइरहेको छ। स्याटलाइट निर्माणभन्दा त्यसलाई अन्तरिक्षमा पठाउने खर्च महँगो रहेको भन्दै उनीहरूले आफूहरु सहयोग खोजिरहेका छन्। ‘बेलायतका अर्वा अर्बिटल कम्पनीबाट प्रक्षेपणका विषयमा काम गरिहेको छ। त्यसका लागि २५ हजार अमेरिकी डलर खर्च लाग्छ,’ पौडेल भन्छन्, ‘यसका लागि सरकार वा अन्य क्षेत्र कसैले सहयोग गर्छ की भनेर खोजिरहेका छौं।’