दुइ दिने खेलकुद पत्रकारिता तालिम सुरु

तालिममा जिल्लाका ३० जना पत्रकारहरुको सहभागिता

बागलुङ, १८ माघ – नेपाल पत्रकार महासंघ बागलुङले जिल्ला फुटबल संघको सहकार्यमा दुइ दिने खेलपत्रकारिता तालिम शुरु गरेको छ । शुक्रवार देखि शुरु भएको तालिममा सदरमुकाम सहित ग्रामीण क्षेत्रमा बसेर काम गर्ने पत्रकार समेत गरी ३० जना सहभागि भएको पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरिषले बताए । विशेष गरी ग्रामीण र जिल्ला तहमा बसेर काम गर्दा पत्रकारले खेल, आर्थिक, सामाजिक, राजनीतिक, दैविप्रकोप लगायतका सबै क्षेत्रमा काम गर्नुपर्ने भएकोले दक्षता बढाउन यो तालिम आयोजना गरिएको हो । सबै क्षेत्रको काम गर्दा आइपर्ने प्राविधिक समस्या समाधानमा यो तालिम सहयोगी हुने तालिमका सहभागिले बताए ।

जिल्ला तहमा पनि हरेक बर्ष दर्जनौं खेल गतिविधि हुने गरेका छन् । ती गतिविधिलाई समाचारमा प्रस्तुत गर्ने क्षमता बढाउन यो तालिम सहयोगी भएको तालिमका सहभागि नविन शिशिर बिकले बताए । तालिममा कान्तिपुर एफएमका स्टेशन म्यानेजर पवन आचार्य र खेल पत्रकार प्रकाश तिमिल्सिनाले सहजीकरण गरिरहेका छन् । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उप–प्रमुख सुरेन्द्र खड्काले खेल क्षेत्रको विकासका लागि पत्रकारहरुलाई दिईने खेल पत्रकारीता तालिम महत्वपुर्ण बन्ने बताए । उनले खेलक्षेत्रको विकासले आर्थिक उन्नतीलाई समेत सहयोग गर्ने भन्दै खेलकुदका क्षेत्रमा रहेका बिकृति बिसंगितको बिषयमा समेत कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

आगामि दिनमा पत्रकारको क्षमता विकासका लागि स्थानिय सरकारले पनि सहयोग गर्ने खड्काले बताए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, जिल्ला फुवल संघका अध्यक्ष रामराज गुरुङ, पत्रकार महासंघका पुर्व अध्यक्ष रामबहादुर जिसी लगायतले बोलेका थिए । पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सल्लाहकार कोपिला कँडेलको स्वागत र सचिव राम थापाको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा जिल्लाका बिभिन्न भागमा कृयाशिल पत्रकारहरुको सहभागिता रहेको छ ।