ध्यान दिनुहोस क्यान्सरका लक्षण र उपचारमा

करिब ६० प्रतिशत क्यान्सरबाट बच्न या जोगिन सकिन्छ ।

कुनै पनि अङ्गका कोषहरू असामान्य र अनियन्त्रित रूपले वृद्धि भएर समस्या निम्तिनुलाई क्यान्सर भनिन्छ । एक अङ्गमा क्यान्सर लागेपछि शरीरका अन्य अङ्गमा पनि सर्न सक्छ । जस्तै, स्तनमा क्यान्सर लागेर फोक्सो, हड्डी र मस्तिष्कमा सर्न सक्छ । तर, क्यान्सर एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने सरुवा रोग भने होइन ।
इशाभन्दा ६ सय वर्षपहिले र त्यसपछि लेखिएका युरोपेली चिकित्सा ग्रन्थहरूमा क्यान्सरको स्पष्ट उल्लेख छ भने आयुर्वेदमा पनि अर्वुद रोगका रूपमा यसको उल्लेख छ । विश्वमा हरेक वर्ष क्यान्सरका एक करोड ४१ लाख नयाँ बिरामी देखिने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ । विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत कारक क्यान्सर नै हुने गरेको छ । नेपालमा क्यान्सरबाट बर्सेनि १५ हजार रोगीको मृत्यु हुने अनुमान छ ।
क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रपसाद बरालले उपचारमा नयाँ–नयाँ प्रविधि भित्रिए पनि क्यान्सर रोग बढ्नुमा मानिस सचेत भएर अस्पताल जान थालेर क्यान्सर पत्ता लागेको हुन सक्ने बताउनुभयो । सुर्तीजन्य पदार्थलाई नेपालमा बन्देज लगाउन सके ४० प्रतिशत क्यान्सर रोगका बिरामी घट्ने उहाँको अनुमान छ ।
क्यान्सरका चरण
१. पहिलो चरण : पहिलो चरणमा क्यान्सर रोगलाई पत्ता लगाउन सकियो भने सतप्रतिशत निको पार्न सकिन्छ ।
२. दोस्रो चरण: दोस्रो चरणमा पत्ता लाग्यो भने निको पार्न सकिन्छ तर धेरै खर्चिलो, लामो समयसम्म उपचार गराउनुपर्ने हुन्छ ।
३. तेस्रो चरण ः तेस्रो चरणमा पत्ता लाग्यो भने क्यान्सर रोग निको पार्न सकिँदैन तर बिरामीको जीवनलाई केही हदसम्म लम्ब्याउन सकिन्छ ।
४. चौथो चरण ः चौथो चरणको क्यान्सर रोगलाई केही गर्न सकिँदैन तर रोगको कारणले उत्पन्न अन्य समस्या व्यवस्थापन गर्न भने सकिन्छ ।
यसका लक्षण
दुखाइ ः शरीरको कुनै पनि अङ्ग वा भागमा निरन्तर दुखाइ महसुस हुनु ।
ज्वरो ः ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको सङ्केत हो । नियमित रूपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्नप्रकारले लामो समयसम्म ज्वरो आउने समस्या हुन सक्छ ।
दुब्लाउँदै गएर वजन कम हुनु ः शरीरको वजन एक वा डेढ सातामै १० प्रतिशतसम्म कम हुनु क्यान्सर रोगको सङ्केत हुन सक्छ ।
थकान ः क्यान्सरका सुरुवाती लक्षणमा निरन्तर थकान र कमजोर महसुस गर्नु हो । यसका लागि चिकित्सकीय परामर्श लिनु उपयुक्त हुन्छ ।
अन्य कारण ः निरन्तरको तनाव तथा दिसा र पिसाबको रङ बदलिए पनि सतर्क बन्नुपर्छ ।
क्यान्सरबाट बच्ने उपाय
उपचारभन्दा यो रोगको बचावट राम्रो कुरा हो । करिब ६० प्रतिशत क्यान्सरबाट बच्न या जोगिन सकिन्छ । केही निम्नसरल सावधानी अपनाउन सकिन्छ ।
 शरीरको कुनै अङ्गमा धेरै समयसम्म चिलाउने भएमा यथासम्भव चाँडो सो रोक्ने उपाय गर्ने ।
 घाम या बढी हावामा धेरै बेर नबस्ने ।
 बच्चा जन्मँदा भएको गर्भाशयको घाउ तत्काल उपचार गरी निको पार्ने ।
 स्तनको जाँच नियमित रूपमा आफैँ गरिरहने ।
 नियमित रूपमा क्यान्सर विशेषज्ञद्वारा वर्षको एकपटक शरीरको परीक्षण गराउने । ४० वर्ष पुगेका महिलाले हरेक दुई÷दुई वर्षमा मेमोग्राफी गराउनुपर्दछ ।
 रोगको शङ्का भएमा यथाशीघ्र क्यान्सर विशेषज्ञद्वारा परीक्षण गराई आवश्यक अन्य जाँचहरू गराउने ।
क्यान्सर उपचारमा शल्यक्रिया, रेडियोथेरापी केमोथेरापी, हर्मोनल थेरापी, टार्गेटेड थेरापीको प्रयोग गरिन्छ ।
प्रस्तुति : त्रिचन्द्र प्रतीक्षा
स्रोत :  विश्व स्वास्थ्य बुलेटिन तथा इन्टरनेट