नेपाली क्रिकेट टोलीलाई रेड कार्पेट बिछ्याएर स्वागत

राखेप अध्यक्ष विष्टले विजेता टोलीलाई जनही ५ लाख नगद पुरस्कार दिन सरकारलाई सिफारिस गर्ने आश्वासन दिए ।

बागलुङ, २१ माघ – संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको एक दिवसीय तथा टी-ट्वान्टी श्रृंखला विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली क्रिकेट इतिहासमै पहिलोपटक एक दिवसीय र टी-ट्वान्टी सिरिज जितेको नेपाली टोलीलाई सोमवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा रेड कार्पेट बिछ्याएर स्वागत गरिएको थियो । स्वागतका लागि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, खेलकुद मन्त्री जगत विश्वकर्मा, राखेप अध्यक्ष केशव विष्ट लगायतका उच्चपदस्थ अधिकारी विमानस्थल पुगेका थिए । त्यसक्रममा राखेप अध्यक्ष विष्टले यूएईविरुद्धको श्रृंखला विजेता नेपाली टोलीलाई जनही ५ लाख नगद पुरस्कार दिन सरकारलाई सिफारिस गर्ने आश्वासन दिए । नेपाली क्रिकेटको इतिहासमै दोस्रो एक दिवसीय श्रृंखला खेलेको नेपालले पहिलो जीत निकाल्दै इतिहास रचेको थियो । त्यसअघि नेदरल्याण्ड्ससँग खेलेको एक दिवसीय श्रृंखला १-१ को बराबरीमा टुंगिएको थियो । टी-ट्वान्टीतर्फ पनि नेपालले पहिलो पटक श्रृंखला आफ्नो नाममा लेखाएको हो । यसअघि खेलिएका टी-ट्वान्टी श्रृंखला नेपालले जित्न सकेको थिएन ।