फुर्सदको सारथी ‘साहित्य’ (अन्तरवार्ता)

सशस्त्र प्रहरीको अधिकृत तह (डिएपी)मा कार्यरत किरण पौडेल पछिल्लो समय नेपाली साहित्यमा उदाउँदा हाईकु लेखक हुन् । बाल्यकालदेखी नै साहित्यमा निकै रुची राख्ने पौडेल प्रहरी सेवाका अलवा हाईकु लेखनमा विशेष दख्खल राख्छन् । पढ्ने बेलामा बिद्यालयमा हुने कार्यक्रमहरु हुन् वा कामको शिलशिलामा सुरक्षार्थ खटेको ठाउँमा आयोजना हुने गरेका साहित्यीक कार्यक्रम किन नहुन उनको सिकाईका केन्द्र बने । सशस्त्र प्रहरीको काम थालेको केही महिना उनी साहित्यबाट टाढा बसेर काम गरे पनि उनलाई साहित्यको भुतले छोडेन । काम सकेर फुर्सदमा लेखेका दुई हाईकु सग्रह बजारमा ल्याएका उनले अरु धेरै हाईकु लेखेका छन् । प्रस्तुत छ भरतपुर महानगरपालिका–२० चनौली चितवन घर भएका पौडेलसँग केपी कुमार जलनले गरेको साहित्य संवाद ।

हाल कता के गर्दै हुनुहुन्छ ?
–करिब डेढ दशकदेखि सशस्त्र प्रहरी सेवामा कार्यरत छु । साहित्य तथा गीत संगीत मेरो रुचीको विषय हो र फुर्सदको समयमा यसमै कलम चलाउने प्रयास गरेको छु ।
साहित्यसंगै संगीत क्षेत्रमा कसरी र कहिलेदेखि लाग्नुभयो ?
–साहित्यमा मेरो रुची पहिलेदेखि नै थियो । विद्यालय तहदेखि नै त्यसप्रति अभिरुची रहेको र उत्साह बढ्दै जाँदा त्यस किसिमका कार्यक्रमहरुमा सहभागिताका साथै लेखन तर्फको अभिरुची बढ्दै गयो ।
आफ्नो नियमित कामसँगै साहित्य क्षेत्रलाई कसरी सँगसँगै अगाडि बढाइरहनु भएको छ ?
–विभिन्न पेशामा आवद्व भएर पनि धेरै स्रष्टाहरुले आफ्नो व्यस्तताका बावजुद कला साहित्य तथा सिर्जनात्मक कृतिहरु पस्कन सफल हुनु भएको देखिरहेकै छौं । मैले पनि फुर्सदको समयलाई सदुपयोग गर्दै साहित्य तथा गीत लेखनमा लागिरहेको छु ।
तपाईंका प्रकाशित सृजना र कृतिहरु के–के छन् ?
–पचासको दशकदेखि नै फुटकर कविता, लघुकथा, हाइकु लगायतका रचनाहरु विभिन्न पत्र पत्रिकामार्फत पाठक सामु आइरहेका थिए । कृतिको हिसाबले ‘नाईलको सहारा’ र गोदावरी हाइकु संग्रह गरी २ वटा पुस्तकहरु बजारमा आईसकेका छन् । गीत लेखन पनि मेरो रुचीको विषय रहेको छ । देश संघियतामा गईसकेपछि प्रदेशबासीलाई शुभकामना दिई लेखिएको ‘शुभकामना सवै प्रदेशबासीलाई’ बोलको गीत यसै वर्षको विन्दबासिनी म्युजिक अवार्ड २०७५ को नोमिनेशनमा पर्न सफल भएको थियो । यो गीत राष्ट्रिय भावनाले ओतप्रोत गीतको हिसाबले नोमिनेशनमा परेको थियो ।
तपाई आँफूलाई साहित्यकार वा गीतकार कुन क्षेत्रको स्रष्टा भनेर भन्न रुचाउनु हुन्छ ?
–हामीले देखिरहेकै छौं, सर्जकहरु सधैं एउटै विधा वा क्षेत्रलाई मात्र अंगाल्ने भन्दा पनि समय र परिस्थिती अनुसार प्रष्फुटित भावहरुलाई फरक–फरक विधामा पर्ने गरी एउटै सर्जक पनि विभिन्न क्षेत्रमा लागेको हुन सक्दछ । त्यसैले मैले पनि आफूँलाई विधा तोकेरै भन्नुभन्दा पनि एउटा स्रष्टाको रुपमा परिचय दिन रुचाउँछु ।
यतिखेर तपाईका के कस्ता सृजनाहरु आउने क्रममा छन् जानकारी दिनुहुन्छ कि ?
–तेश्रो कृतिको रुपमा ‘उबअषष्अ धबखभ’ भन्ने हाइकु संग्रह पुस्तक प्रकाशनको क्रममा रहेको छभने केही गीतहरु पनि बजारमा आउने क्रममा छन् ।
साहित्यमा विशेष गरी यहाँको रुची हाईकुमा देखियो, हाईकु भनेको के हो र नेपालमा यसको शुरुवात कहिलेदेखि भयो ?
–जापानमा नियमवद्व छोटो कविताहरुको सुरुवात माचुवा बासोले गर्नुभएको थियो । यही छोटो कवितालाई नै हाईकु भनेर बुझिन्छ । यो शब्द जापानबाट आएको हो । वि सं २०१७ सालमा शंकर लामिछाने ४५ दिनको जापान बसाई सकेर फर्किसकेपछि विस २०१९ सालमा वहाँले लेख्नुभएको हाईकु–
माकुरा जाल
झोल्लिएको ओसले
तन्किदै गयो
यो नै नेपालको पहिलो हाईकुको रुपमा स्थापित रहेको छ ।
हाईकु लेख्ने नियम र कसरी लेखिन्छ बताईदिनुस् न ?
–हाइकु शाब्दिक हिसाबले ५÷७÷५ अक्षरको परिधीमा रहेर लेखिन्छ । पहिलो लाईन ५ अक्षरको हुन्छ, दोस्रो लाईन ७ अक्षर र तेस्रो लाईन पुन ५ अक्षरको हुन्छ यसमा जम्मा १७ अक्षरको संरचना रहन्छ  । हाइकु लेख्दा बिम्बको प्रयोगमा ध्यान दिनु जरुरी हुन्छ । सामान्य किसिमले अक्षर मात्र पूरा भएका हिसाबले सार्थक हाइकुको निर्माण हुन सक्दैन ।
नेपाली साहित्यमा हाईकुको अवस्था कस्तो पाउनु भएको छ ?
–नेपालमा हाइकुको शुरुवात् वि सं २०१९ सालबाट भएपनि वि सं २०६० सालमा आएर मात्र नेपाल निप्पन रिसर्च सेन्टरको स्थापना भयो । त्यस लगत्तै पहिलो हाईकु महोत्सव २०६२ सालमा प्रज्ञा भवन कमलादीमा भएको थियो । नेपाली साहित्यमा साठीको दशकदेखि नै हाइकु नयाँ युगमा प्रवेश गरेको मानिन्छ । प्राध्यापक रामकुमार पाँडे ज्यू र प्रकाश पौडेल माईला ज्यूको सक्रियतामा उक्त महोत्सव सम्पन्न भएको थियो । तत्पश्चात् सन् २०१३ मा नेपाल हाइकु केन्द्रको स्थापना भएको थियो । प्राध्यापक रामकुमार पाँडे ज्यू नेपाल हाईकु केन्द्रका अध्यक्ष हुनुहुन्छ भने प्रकाश पौडेल माइला ज्यू अन्तराष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । गतवर्ष सन् २०१८ मा प्रकाश पौडेल माइला ज्यूको संयोजनमा दोस्रो अन्तराष्ट्रिय हाइकु महोत्सव २०१८ जापानमा सम्पन्न भएको थियो । यसले हाइकुलाई अझ सशक्त र नयाँ उचाईमा पुराउनेमा पूर्ण विश्वस्त हुन सकिन्छ ।
हाइकुले नेपाली जनमानसमा कस्तो प्रभाव पार्दै गएको छ ?
–हाल आएर नेपाली साहित्यमा हाइकु क्षेत्रको बाढी नै आएको अनुभूति हुन्छ । संरचनाको बारेमा सुनी सकेपछि र जानी सकेपछि लेखौं–लेखौं लाग्ने साहित्य पनि हो यो । धेरै समय खर्चिनु नपर्ने र छोटो समयको फुर्सदको समय तथा यात्राकै क्रममा पनि हाइकु उतार्न सकिने हुँदा यो क्षेत्र नेपाली जनमानसमा लोकप्रिय बन्न पुगेको छ । हाल विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरु पनि हाइकु लेखनमा अग्रसर हुनु भएको देखिन्छ । पक्कैपनि यसले राम्रो प्रभाव पार्न सफल भएको छ भन्ने ठहर गर्न सकिन्छ ।
तपाईका प्रकाशित हाईकु संग्रहतर्फ प्रसंग जोडौँ । हाईकु संग्रहको नाम नाईलको सहारा र गोदावरी रहनुको कारण केही छ कि ?
–विगत २÷३ वर्षअघि म अफ्रिकी मुलुकहरुमा रहने मौका पाएको थिएँ र त्यहाँ काम गर्दाका बखत लेखिएका हाईकुहरुको संग्रहित कृति हो नाईलको सहारा । नाईल भन्ने संसारको सबैभन्दा लामो नदी र सहारा संसारको सबैभन्दा ठुलो मरुभुमि हो र यस पुस्तकमा नाईल नदीले त्यस स्थानलाई कसरी सहारा दिएको छ भन्ने कुरालाई बिम्बित गर्न खोजिएको छ । अर्को पुस्तक गोदावरीको नाम प्रतिकात्मक किसिमले नै छनौट गरिएको हो । आदरणीय प्राध्यापक राम कुमार पाँडे ज्यूले समय–समयमा हामीलाई धेरै विषयवस्तुको जानकारी दिने क्रममा भन्नु भए अनुसार अठारौं शताव्दीमा जापान गएका विद्यार्थीहरुले जापानबाट हलुवा वेद, कटुस, निल लहर फूल र गोदावरी फूल लिएर आएका रहेछन् । सोही कारण जापानबाट आएको साहित्यलाई पनि एउटा फूलको स्वरुपमा गोदावरीको सम्झना गरिएको हो ।
कुराकानीको अन्त्यमा छौं, केही भन्न चाहनुहुन्छ कि ?
–साहित्य लेखनमा सदैव सकारात्मक उत्प्रेरणा र साथ दिनुहुने नेपाल हाइकु केन्द्रका अध्यक्ष प्राध्यापक राम कुमार पाँडे ज्यू साथै नेपाल हाइकु केन्द्रका उपाध्यक्ष मित्रबन्धु पौडेल ज्यू एवं चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफल ज्यू तथा काव्य उत्सव काठमाण्डौंका संयोजक रिसी बराल ज्यू लगायत सम्पूर्ण साहित्यिक मनहरुमा आभार प्रकट गर्दछु ।