जनगायक जीवन शर्मा नेकपा मसालबाट निलम्बित

पार्टीले स्पष्टीकरणको मौका समेत नदिई शर्मालाई निलम्बन गर्ने निर्णय गरेको छ।

बागलुङ,२३ माघ – बागलुङमा जन्मिएर जनकलाकारको रुपमा चिनिएका गायक जीवन शर्मा मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालबाट निलम्बित भएका छन्। पार्टी निकट स्रोतका अनुसार पार्टी हितविपरित जापानमा गएर गीत गाएको, नेकपा अध्यक्ष केपी ओली र प्रचण्ड सहभागि कार्यक्रममा सहभागि भएर गीत प्रस्तुत गरेको लगायतका आरोप लगाउँदै उनलाई मसालले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको हो । उनलाई राष्टिय सम्मेलनको तयारीमा रहेको रक्तिम सांस्कृतिक परिवारको अध्यक्षबाट समेत हटाइएको छ। पार्टीले स्पष्टीकरणसमेतको मौका नदिई शर्मालाई निलम्बन गर्ने निर्णय गरेको बताइएको छ। रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष समेत रहेका शर्मामाथि पार्टी अध्यक्ष मोहन विक्रमको लाइन नपक्रिएको आरोप समेत लगाइएको छ। शर्माको सिमली छायामा बसी, झरनाको चिसो पानी, सालघारीमा, सामन्तले, लडाईँको मैदानबाट, फोक्ल्याण्डको टापुबाट लगायतका जनवादी गीत चर्चित छन् ।