झरी अनि चिहान

तप तप तप
झरीले हिर्कारहेछ पात माथी
अन्धकारबाट निस्केर बादल लागिरहेछ उकालो

म बसेको छु अगेनाछेउ
सोचिरहेछु कहिले रोकिन्छ होला झरी

लालीगुरास फेदमुनि छ मेरो बाको सालिक
यो झरी रोकिएपछि
पुग्नुछ त्यहाँ एक थुङ्गा अतीत बोकेर

बा भन्थे
म मुक्तियुद्धमा हिडेको योद्धा
मारिन सक्छु सत्ताको एउटा झोकमा पनि

एउटा जाडो झरिकै रात
बाले देशको लागि रगत दान गरे

मलाई लाग्थ्यो
यो झरीको दिन
कुनै प्रेम कविता लेखुँ
हिउँ पर्दै गरेको हिमाललाई हेरेर
कतिकती खुशी साटु

झरी पर्यो कि
बाको आकृती याद आउँछ
मैलो सर्ट र झोला बोकेर एउटा मान्छे
आइरहन्छ मेरो छेउ
मलाई रुवाउनका लागी

तप तप तप
झरिले हिर्काइरहेछ पातमाथी