रहस्य(कविता)

माटोवाट गुलाब फुल्दा
अन्नवाट शरीर बन्दा
सृष्टिको अद्भुत रहस्यले
विचलित वनाउँछ ।

भात रुपान्तरण हुँदा
प्राण, मन, अाँखा, दाँतमा
मस्तिष्क , मुटु , जिब्रो , नाकमा
माटो परिवर्तन हुँदा
खुर्सानी, वेसार, अदुवामा
अौषधि, अाँप, सिसौ, सालमा
किन? कसरी ? कसले ? अलमल्ल ।
माटो त्यति नै छ, टनका टन रुख बाहिर कसरी ?
खेत त्यस्तै छ, सदियौं देखि धान कसरी ?
माटो त्यही हो, त्यहीँ उखु र खुर्सानी कसरी ?
माटो त्यस्तै छ, गुलाब फुल्छ कसरी ?
रहस्य ! जति सोच्यो त्यति गहिरो !!
दुध खाएर तन, मन र मुटु बन्ने
शारीरिक उद्योग कसरी ?
हाँसो कसरी ? रोदन कसरी ?
शक्ति कसरी ? पिडा कसरी ?
एउटै स्थानमा
फूल रोप्दा फूल फुल्ने
मूला रोप्दा मुला फल्ने
गुण कसरी ?
बुझ्ने कसरी ?
गहिराइ अनन्त !!!
माघ १४, २०७५ कुश्मिसेरा बागलुङ ।