घलेगाउँमा हिउँ पर्‍यो फुरुरु (फोटो फिचर सहित)

शनिबार मध्यान्हबाट झरी हटेपछि हिउँ खेल्न आन्तरिक पर्यटकहरू डाँडातिर उक्लिएका छन्।

लमजुङ, २६ माघ – वरीपरी सेता हिमाल बोकेर हाँसिरहने सार्क राष्ट्रको नमूना घलेगाउँ आज सेताम्मे भएको छ। २ हजार १ सय ५० मिटर उचाईमा रहेको घलेगाउँमा शुक्रबार राती हिउँ परेपछि शनिबार पर्यटकहरूको ओइरो लागको छ। यो वर्षको जाडो सकिनै लाग्दा लमजुङका अग्ला डाँडाकाँडा हिउँले सेताम्ये भएका छन्। लमजुङका १७ सय मिटरको उचाईसम्म हिमपात भएको छ। बिहीबारदेखिको झरी शनिबार मध्यान्हबाट हटेपछि हिउँ खेल्न आन्तरिक पर्यटकहरू डाँडातिर उक्लिएका छन्। घलेगाउँ ग्रामीण पर्यटन समितिका सचिव उमल विकका अनुसार घलेगाउँमा २ फिटसम्म हिउँ परेको छ। हिउँ खेल्न सदरमुकाम बेसीसहरबाट सयौं पर्यटकहरू गाउँ आएका उनले बताए। मर्स्याङदी गाउँपालिका ७ का वडा अध्यक्ष युवक घलेका अनुसार वडा नम्बर १ को घनपोखरा, नायुँ, वडा नम्बर ३ को खुदी ढंगै, वडा नं. ४ को कालाघिरिङ, वडा नम्बर ५ को सञ्जापु, वडा नम्बर ६ को भिरपुस्तुन, वडा नम्बर ७ को लुदी, छिनखोला, उस्तालगायतका स्थानमा हिउँ परेको छ। पूर्वी क्षेत्रको इलामपोखरी, दुधपोखरी, गौंडा, राइनासलगायतका स्थानमा हिउँ परेको छ। सदरमुकाम वरीपरीका डाडाँपाखामा हिउँ देखिएपछि निकै रमाइलो देखिएको छ।