खबरा गाउँभरी केराखेती, वार्षिक ५० लाख आम्दानी बढि

करीब ५० जनाले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन् । दश पन्ध्र घारी केरा नलगाएको घरनै छैन् ।

म्याग्दी २८ माघ – म्याग्दीको बेनी नगरपालिका–२ खबरा गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करिब १८ हेक्टर क्षेत्रफलमा गरिएको केराखेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेर केरा लगाएको डेढ वर्षमै लाखौं रुपैयाँ आम्दानी लिन थालेका छन् । अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केराखेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकहरुले बताएका छन् । यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक ५० लाख रुपैयाँ भित्राउने गरेका छ ।
केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने खबरा अहिले केराको बगैचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाले बताए । ‘यहाँका सबै कृषकले केरा खेती गरेका छन्,गाउँको करिब १८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ, सापकोटाले भने ‘खबराको मुख्य आम्दानीको स्रोत भनेकै केरा खेती हो ।, सापकोटाका अनुसार विगत ३ वर्षदेखि यहाँका कृषकले व्यवसायिक केरा खेती शुरु गरेका हुन् । करिब डेढसय घरधुरीको बसोवास रहेको खबराका बासिन्दा केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारी जताततै केराखेती गरेका छन् ।
खबराकी जाँगरिली महिला तारा कुवँरको जीवनस्तर पनि केरा खेतीबाट नै फेरिएको छ । वार्षिक ३ लाख रुपैयाँको केरा विक्रि गर्दै आएका बलबहादुर कुँवरकुवँरले केरासंगै तरकारी खेती पनि गरेका छन् । ‘वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म केरा बेचेर कमाइ हुन्छ, यहाँको आम्दानीको मुख्य माध्यम भनेकै केरा खेती हो, कुवँरले बताए । करीब ५० जनाले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन् । दश पन्ध्र घारी केरा नलगाएको घरनै छैन् । मानबहादुर थापा, बलबहादुर कुँवर, घनश्याम सापकोटालगायत केही कृषकले पाँच वर्षअघि खबरामा हजारी जातको केरा भित्र्याएका थिए ।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केराखेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी बलबहादुर कुवँरले बताए । खबराको केरा बेनीमा खपत हुन्छ । केरा बेचेर मासिक रु ५० देखि ६० हजार आम्दानी हुने कुँवरले बताए । दैनिक पाँच भारिका अनुपातमा खबराबाट बेनीमा केरा बिक्रीका लागि ल्याउने गरेका छन् । पकाएकोप्रति १२ कोसा एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकहरुले बताएका छन् ।
बिरुवा लगाएको डेढवर्षमै उत्पादन लिन सकिन्छ । पूर्व फर्किएको भिरालो पाखोमा अवस्थित खबराको हावापानी केराखेतीका लागि अनुकूल मानिन्छ । बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन् । खबरामा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घटेको फलफूल व्यापारीहरुले बताएका छन् । बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा अध्यक्ष हीराबहादुर थापाले बताए । केराखेतीसम्बन्धी कार्यक्रमका लागि यसवर्ष पनि रु.तीन लाख विनियोजन भएको छ ।