एमाले माओबादी एकतादेखि नयाँ माओबादी जन्मने कुरा

अहिले जताततै मौसम परिवर्तन भएर चिसो भएको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजधानीमा दिएको अभिब्यक्तीले एकाएक पुरै देशको महौल तताउने काम गरेको छ । भेनेज्वेलामा शक्तिशाली राष्ट्र अमेरिकाले गरेको नांगो हस्तक्षेपको बिरोधमा बिज्ञप्ती प्रकाशित गरेर रातारात चर्चामा आउन सफल भएका प्रचण्ड त्यो प्रकरण सेलाउन नपाउदै फेरि अर्को चर्चामा आएकाछन् । सधैं सधैं चर्चामा आउन रूचाउने नेकपाका अध्यक्ष प्रचण्डको यसपटकको अभिब्यक्ती हेर्दा भने अहिले पार्टी एकतालाई मजबुत हैन झन कमजोर बनाएर एकताबद्ध नभइ पार्टी एकताबाट कित बाहिर निस्कने कित आफु शक्तिशाली बन्ने रणनीतिक चाल देखिन्छ ।

देशमा दुई शक्तिशाली कम्युनिस्ट पार्टीको एकता पछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको पनि एकबर्ष बितिसक्यो । अहिलेसम्म पार्टी एकता भयो भन्ने छनक अहिले भइरहेको गतिविधि हेर्दा स्पष्ट हुन्छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका मुद्दालाई हल्का किसिमले लिइए र संविधान कार्यान्वयनलाई दायाँबायाँ गरिए देश द्वन्द्वमा जाने बताएका छन् । उनले यी विषय उठाउने माओवादीलाई सिध्याइसकियो अब जे गरे पनि हुन्छ भन्ने सोच्यो भने दुर्भाग्यपूर्ण हुने बताएका छन् । काठमाडौमा भएको एक कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डले दिएको अभिब्यक्ती हेर्दाखेरि अहिले पनि मुलुकमा माओबादी छुट्टै पार्टी हो नेकपा एमाले छुट्टै पार्टी हो भन्ने कुरा स्पष्ट देखिन्छ ।

‘शान्ति सम्झौता र संविधानमा व्यवस्था गरिएका मूलभूत कुराहरूको इमानदार कार्यान्वन मार्फत अगाडि बढ्ने कुरा हामी सबैको ऐतिहासिक जिम्मेवारी बनेको मैले महसुस गरेको छु । यदि त्यसो गरिएन र हल्काफुल्का रूपले लिइएको छ भने देशलाई फेरि गाह्रो पर्न सक्छ’ भनेर जुन नयाँ खालको अभिब्यक्ती प्रचण्डले दिए यसबाट अब यो दुई पार्टी बिच भावनात्मक एकता हुन सक्दैन भन्ने कुरा छर्लङ्ग भएको छ । ‘अब माओवादीहरूलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण कुरा हुन्छ । अर्को माओवादी जन्मिन्छ र झन ठूलो लडाइँ हुने खतरा आउँछ । हामी सबैले प्रतिबद्धता र प्रतिज्ञा गर्नुपर्दछ शान्ति सम्झौताको मर्मलाई इमानदार कार्यान्वयन संविधानको मर्मलाई त्यसरी नै कार्यान्वयन गर्नेतिर हामी एकजुट भयौँ भने हाम्रो अगाडि एउटा ऐतिहासिक अवसर छ ।’ विगतमा नेपालमा राजनीतिक द्वन्द्वहरू सहमतिबाट सजिलो गरी समाधान भएको तर अबका दिनमा भने त्यसो हुन नसक्ने प्रचण्डको भनाइमा अहिले एकाएक परिवर्तन आएको देखिन्छ ।

अहिलेसम्म पार्टी एकताले मुर्तरुप लिन नसकेको कारण पनि यहीँ शंका उपशंका नै हो भन्ने कुरा स्पष्ट छ । रातगए अगरात पलाउछ भन्ने नेपाली उखान त्यसै बनेको हैन होला अहिले केन्द्र देखि प्रदेशसम्म नेकपा कै शक्तिशाली सरकार छ मात्रै प्रदेश नम्बर २ लाई छोडेर । प्रचण्डले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने नाममा अहिले प्रहरीले द्वन्द्वकालका मुद्दा उँधिनेको र पक्राउ गर्न थालेकोप्रति आक्रोश व्यक्त गर्नुबाट पनि प्रचण्डलाई आशंका रहेको देखिन्छ । ‘आजभोलि म सुन्दै छु पुलिसकहाँ भएका मुद्दाहरू फटाफट अगाडि बढाउने र पक्राउ गर्न थाल्यो । २० वर्षपछि फेरि उही, शान्ति सम्झौताको मर्म एकातिर छ भावना एकतिर छ र काम यस्तो हुने ? म लामो व्याख्या गर्न चाहान्न तर ध्यानाकर्षण गर्न जरुरी ठानेको छु भन्ने अभिब्यक्ती बाट देश फेरि द्वन्द्वमा फर्कन्छ कि भन्ने आभाष हुन्छ ।

प्रचण्डले शान्ति सम्झौता र संविधानका कुरा गर्दा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम पनि लिए । उनले पटकपटक दोहो¥याएको शब्द भने शान्तिप्रक्रिया थियो । शान्ति सम्झौताका प्रतिज्ञा विपरीत जान खोजियो भने नचाहँदा नचाहँदै पनि देशमा द्वन्द्वको स्थिति आउन सक्ने कुरा गरेर शान्ति प्रक्रिया नै धरापमा पर्न सक्ने बताएर अर्को आशंका उव्जाएका छन् । प्रचण्डले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट आफूले गरेको शान्ति सम्झौता, गणतन्त्र, संघीयता लगायतको मर्मअनुसार वर्तमान नेतृत्व अगाडि नबढेको बताउदा अहिले पनि फरकफरक पार्टी भएको महसुस हुन्छ । उनले अहिलेको नेतृत्वले द्वन्द्वकालीन विकराल स्थितिको बोध गर्नुपर्ने धारणा राखेका थिए । कसले त्यस्तो गर्नुपर्ने हो ? सरकार वा राजनीतिक दलहरूको नेतृत्व, भन्ने प्रष्ट पार्न सकेनन् । मुलुकमा दुई शक्तिशाली कम्युनिस्ट पार्टीको एकतापछि शक्तिशाली सरकार बनेको छ सरकार बनेको पनि एकबर्ष पूरा भइसकेको छ तर नेपाली जनताले मुलुकमा शक्तिशाली सरकार छ भन्ने कुरा अनुभुति गर्न पाएका छैनन् । अहिले प्रचण्डको अभिब्यक्ती सरकारले जनतालाई केही दिन नसकेको अहिले सरकार छ भन्ने अनुभुती समेत नभएको भनेर सार्वजनिक कार्यक्रममा बोल्नुलाइ चानचुने कुरा मान्न सकिदैन यो गम्भीर कुरा हो अहिले पनि पार्टी एकता भावनात्मक नभएर मात्रै देखावटी हो भन्ने कुरासमेत स्पष्ट भएको छ ।

१० बर्षसम्म जनयुद्ध गरेर आएको पार्टी नेकपा माओबादी शान्ति प्रक्रियामा आएपछि आन्दोलनको भावना अनुसार चल्न नसकेको जनतालाई परिवर्तनको अनुभुति दिलाउन नसकेको भनेर मोहन बैध किरण नेत्रबिक्रम चन्द पार्टी बाट बिमति जनाएर नयाँ कम्युनिस्ट पार्टी बनाएर गइसकेको अबस्था छ । अहिले पनि प्रचण्डले बेलाबेलामा माओबादी फेरि जन्मिने जनयुद्ध हुने भनेर धम्की दिनपनि पछि परेको देखिदैन । यसबाट के कुरा स्पष्ट हुन्छ भने माओवादीमा अझैसम्म युद्धको मानसिकता कायमै छ अर्कोतिर युद्धको कुरा गरेर आफ्नो स्वार्थ पूरा गर्ने उदेश्य पनि देखिन्छ । जेहोस अहिले जनताले आन्दोलन हैन परिवर्तन खोजेका छन् । परिवर्तनको लागि सबैभन्दा पहिले राजनीति ठिक हुनुपर्छ अहिले सरकार शक्तिशाली छ तर काम गर्ने शैली भने देखिएको छैन । मात्रै ब्यबस्था परिवर्तनले केही पनि नहुने रहेछ जबसम्म जनताको अबस्थामा परिवर्तन आउन सक्दैन तबसम्म केही हुनेवाला छैन ।एकातिर पार्टी एकता गर्ने अर्कोतर सरकार जाने अनि फेरि सरकार कै बिरोध गर्ने दोहोरो चरित्र त्याग्न सक्नुपर्छ हैन भने मात्रै छोरी कुटेर बुहारी तर्साउने काम हो भने गलत हुनेछ ।