धब क्याम्पसको ५६ औं बार्षिकोत्सव सकियो

विविध कार्यक्रम अन्तरगत फुटवलको उपाधि चिल्ड्रेन लाईफलाई

बागलुङ, २८ माघ – धवलागिरी बहुमुखी क्याम्पसको ५६ औं वार्षिकोत्सव आइतवार सम्पन्न भएको छ । सातादेखि संचालित बिभिन्न कार्यक्रम र क्रियाकलाप सहितको मूल समारोह आइतवार गरेर सम्पन्न भएको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटाले शिक्षा क्षेत्रमा राज्यको लगानी बढाएर प्राविधिक र गुणस्तरीय शिक्षा दिनुपर्ने आवस्यकता औल्याए । उनले धवलागिरी क्षेत्रकै पहिचान बोकेको क्याम्पसको बिकासका लागि सामुहिक पहल हुनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा अर्की सदस्य दिलमाया रोकाले अब सैद्धान्तिक शिक्षाको अन्त्य गरेर व्यवहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राखिन् । उनले शिक्षाको बिकासका लागि आर्थिक समृद्धिको पाटोलाई पनि मनन गर्न क्याम्पस परिवारलाई आग्रह गरिन् । कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले लामो समय देखि क्याम्पसको आर्थिक र शैक्षिक स्तर उकास्ने प्रयास भएपनि सोचे जस्तो नभएको बताए । उनले आंशिक शिक्षकको भरमा धेरै संकाय संचालन गर्नुपरेको, पूर्वाधार निर्माणको क्रम चलिरहेकोले घाटामा क्याम्पस संचालन गर्न बाध्य भएको टिप्पणी गरे ।

क्याम्पसमा अहिले पनि ७६ जना शिक्षक रहेकोमा ३७ जना र आंशिक ३९ जना कार्यरत छन् । क्याम्पसमा बिज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा शाष्त्र संकाय संचालनमा छ । ती मध्ये धेरै संकायमा आंशिक शिक्षक छन् । चालु बर्षदेखि व्यवस्थापन संकायको बिबिए संचालित छ । त्यसका लागि पनि आंशिक शिक्षककै भर पारिएको छ । संकाय तर्फ ५ जना दरबन्दीका प्राध्यापक भएकोले थप ७ जना आंशिक राखेर बिबिएस, बिबिए र एमबिएस संचालनमा छ । उपाध्यायकै प्रतिवेदन अनुसार ४ जना स्थायी दरबन्दी भएको ईतिहास र ३ जना दरबन्दी भएको राजनीति शाष्त्रमा भने बिद्यार्थी छैनन् । ७ प्राध्यापकले एउटा पनि कक्षा नलिएरै तलब खाएका छन् । खचाखच विद्यार्थी भएको व्यवस्थापन र बिज्ञानले दरबन्दी नपाउूदा आंशिक शिक्षकले छाडेको दिन पढाई ठप्प हुने खतरा छ । क्याम्पसमै मानविकी तर्फ समाजशाष्त्र मानवशाष्त्रमा विद्यार्थी भएपनि शिक्षक आंशिक धेरै छन् । उपाध्यायले नियमित आम्दानी ३ करोड ९५ लाख ४१ हजार आय हुने क्याम्पसमा ५ करोड ११ लाख ६१ हजार रुपैयाू खर्च भएको प्रतिवेदन पेश गरे । आंशिक शिक्षकको तलब दिन नपरे घाटा नहुने उपाध्याले बताए । हाल क्याम्पसमा २ हजार १ सय २७ बिद्यार्थी अध्ययनरत छन् । २०१९ सालमा स्थापना भएको यो क्याम्पसले आइतवार ५६ औं बार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसर पारेर टेवलटेनिस र कुर्सी दौड प्रतियोगिता पनि गरिएको थियो । क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायको अध्यक्षता, सहायक क्याम्पस प्रमुख धु्रवराज गौतमको स्वागत र तिलक कंडेलको संचालनमा सम्पन्न मुल समारोहमा नेकपाका प्रतिनिधि लालबहादुर थापा, कांग्रेसका क्षेत्रीय सभापति एवं स्ववियुका पूर्व सभापति चिरन्जिवी गौतम, राष्ट्रिय जनमोर्चाका सचिव भीमलाल पोखरेल, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, स्ववियु सभापति मनिष थापा सहित बिद्यार्थी संगठनका प्रतिनिधि, कर्मचारी संघ, प्राध्यापक संघ लगायत प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए । त्यस अघि सरस्वती पूजाको अवसर पारेर बिहान क्याम्पसमै पूजा आराधाना समेत गरिएको थियो  ।यसैबिच बागलुङमा संचालित क्याम्पस स्तरीय फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफले जितेको छ । आइतवार भएको खेलमा चिल्ड्रेन लाईफले गरिमा कलेजलाई १ का बिरुद्ध दुइ गोल हानेर जित हात पारेको हो । दोश्रो हाफको ८ औं मिनेटमा चिल्डे«न लाईफका दिपेश मल्ल र ३३ औ मिनेटमा मनोज थापाले गोल प्रहार गरेका थिए । गरिमाको तर्फबाट दोश्रो हाफकै ३४ औ मिनेटमा बिजय केसीले गरेको गोल प¥र्याप्त नभएपछि उपाधि चिल्ड्रेन लाईफले हात पारेको हो । धवलागिरी बहुमुखी क्याम्पसको ५६ औं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो । जिल्ला भित्रका ११ टिमले भाग लिएको खेलमा उपाधि जित्नेले ५० हजार नगद सहित मेडल उचालेको थियो ।

दोश्रो भएको गरिमाले २५ हजार रुपैयाूमा चित्त बुझायो । आइतवार बिहान भएको सेमी फाइनल खेलमा गरिमाले अमृत आदर्श माविलाई टाईवेकरमा हराएको थियो । निर्धारित समयमा गोल नभएपछि खेल टाइबेकरमा धकेलिएको थियो । कलेज स्तरीय फुटवल संचालनमा स्वतन्त्र बिद्यार्थी युनियनले संयोजन गरेको थियो । बिजेताहरुलाई आइतवारै धवलागिरी बहुमुखी क्याम्पसको ५६ औं वाषिैकोत्सव मुल समारोधमा पुरस्कृत गरिएको थियो । यसैबिच विद्यामन्दिर माध्यमिक विद्यालयको ७८ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित छात्र भलिवल प्रतियोगितामा व्यवस्थापन संकाय र मानविकी संकाय फाइनलमा प्रवेश गरेका छन । व्यवस्थापन संकायले शिक्षा संकायलाई २५–२० र २५–१८को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा व्यवस्थापन संकाय टिम एलाई मानविकी संकायले २५–१७, २१–२५ र २५–१७ मानविकी संकाय विजय भएको थियो । विद्यालयको ७८ औ वार्षिकोत्सवको अवसरमा विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुुटन गर्ने उद्धेश्यले विभिन्न संकायको आधारमा प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले जानकारी दिए । बार्षिकोत्सव अन्तरगतका अन्य प्रतियोगिता समेत चलिरहेका छन् ।