बागलुङमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनमा सरकारी सेवा सन्तोषजनक

बागलुङ, २८ माघ – राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययन अनुसार बागलुङमा रहेका सरकारी कार्यालयले प्रदान गर्ने सेवा सन्तोषजनक देखिएको छ । केन्द्रले गरेको सर्भेक्षणमा सहभागीले सेवा प्रदायक संस्थाबाट सेवा प्राप्त गर्दा कर्मचारीले गर्ने व्यवहार राम्रो भएको धारणा आएको हो । सर्वेक्षणमा सहभागी मध्ये ९५ प्रतिशतले सेवा प्रवाहमा कर्मचारीको व्यवहार राम्रो रहेको र ५ प्रतिशतले सुधार गर्नुपर्ने अवस्था रहेको मत जाहेर गरेका थिए । बागलुङका एक सय जना साक्षर र निराक्षर नागरिकहरुको बिचमा मत सर्वेक्षण गरिएको थियो । कार्यालयहरुबाट प्रदान हुने सेवा सुबिधा लिनका लागि कर्मचारीले गर्ने व्यवहारले कुनै असर नगरेको उनिहरुको आसय छ ।

कार्यालयमा काम लिन जाँदा अतिरिक्त रकम दिनु नपरेको धेरैको मत छ । सर्वेक्षणमा सहभागी मध्ये ९५ प्रतिशतले कुनै रकम दिनु नपरेको र दिनुपरेकोमा ५ प्रतिशतले मत जाहेर गरेका सतर्कता केन्द्रले सार्वजनिक गरेको छ । बागलुङका ५० प्रतिशत साक्षर नागरिक ‘नागरिक वडापत्र’को बारेमा अनविज्ञ रहेको पाईएको समेत प्रतिवेदन छ । केन्द्रले बागलुङमा गरेको सर्भेक्षणमा सहभागी एक सय जना मध्ये ५० प्रतिशत नागरिकले वडापत्रको बारेमा जानकारी नभएको बताएका थिए । एक सय जना नागरिकमा गरिएको सर्भेक्षणमा ९६ प्रतिशत साक्षर र ४ प्रतिशत निरक्षर नागरिक सहभागी भएका थिए  । शिक्षित नागरिकनै वडापत्रबारे अनविज्ञ हुँदा सार्वजनिक सेवा प्रवाहमा हुने ढिला सुस्ती र राजस्व संकलनमा समस्या हुने सर्तकता केन्द्रको ठहर पनि छ ।

नागरिक वडापत्रबारे जानकारी भएका नागरिकलाई सेवा प्राप्त गर्न लाग्ने समय र दस्तुरको विषयमा प्रश्न गर्दा ४६ प्रतिशतले अनविज्ञता प्रकट गरेका थिए । सर्भेक्षणका सहभागीले कर्मचारीले सबैलाई समान र राम्रो व्यवहार गरी जनताको काम छिटो र छरितो र इमान्दारिता पूर्वक गर्नुपर्ने, स्थानीय निकायमा राजनीतिक निर्णयका आधारमा मात्र निर्णय हुने हुँदा महत्वपूर्ण निर्णय गर्दा सरोकारवाला समावेश गरिनुपर्ने सुझाव राखेका छन् । नागरिक वडापत्र कार्यान्वयन अनुगमनमा सहभागीबाट कर्मचारीहरुले सेवाग्राहीलाई शिष्ट व्यवहार गर्नुपर्ने र हरेक निरक्षर सेवाग्राहीलाई सेवा प्रक्रिया तथा आवश्यक कागजातको विषयमा सहायता कक्ष राखी सेवाबारे जानकारी दिनुपर्ने, नगरपालिका क्षेत्रमा फोहोर समयमै व्यवस्थापन नगरेको भन्ने गुनासो बढी रहेको र कर्मचारीहरु तोकिएको समयमा कार्यालयमा उपस्थित हुनुपर्ने तथा तोकिएको आफ्नो कार्यकक्षमा बसी सेवा प्रवाह गर्नुपर्ने सुझाव दिएका छन् ।