शिवरात्रीको अवसरमा बिहुँकोटमा राष्ट्रिय भजन प्रतियोगिता हुने

बागलुङ, ८ फागुन – बिहुँकोट खेलकुँद तथा समाज बिकास केन्द्रले शिवरात्रीको अवसरमा राष्ट्रिय खुला लोकभजन प्रतियोगिता गर्ने भएको छ । बिहुँकोटमा धार्मिक पर्यटक भित्राउने लक्षले यो बर्ष भजन प्रतियोगिता गर्न लागिएको समाजका अध्यक्ष कृष्ण कंडेलले बताए । काठेखोला गाउँपालिका ५ मा रहेको त्रिपुरेश्वर महादेव मन्दिर रामकोटको पहिचान बढाउने, धार्मिक महत्व बारे प्रचार प्रसार गर्ने र आसपासका अन्य पर्यटकीय क्षेत्रमा पनि पर्यटक बढाउने लक्ष राखिएपछि केन्द्रले भजन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा बागलुङ, पर्वत लगायतका छिमेकी जिल्ला सहित सातै प्रदेशबाट पनि कम्तिमा एकएक वटा टिम सहभागि गराईने लक्ष राखिएको छ । कम्तिमा २१ टिम सहभागि हुने प्रतियोगिताले पर्यटन प्रवद्र्धन, रामकोटका संस्थापक परमानन्द स्वामी र ज्ञानानन्द सरस्वतीको भूमिको बास्तविक पहिचान हुने समेत बताइएको छ ।

केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा वडा अध्यक्ष शिवप्रसाद कंडेलले बर्षौदेखि लगानी हुन नसक्दा संभावना भएका क्षेत्र पनि ओझेलमा परेको बताए । जनप्रतिनिधि भएर आएपछि खेलमैदान निर्माण तथा मन्दिर व्यवस्थापन, होमस्टे र पर्यटन क्षेत्रको बिकास गर्न बिशेष काम थालेको दावी गरे । प्रतियोगिताका लागि प्रायोजक समेत खोजिएकोले केही रकम बचाएर प्रमानन्द स्मृति खेल मैदान निर्माण गरिने कंडेलले बताए । पछिल्लो समय बसाई सराईले गाउँ रित्तो बन्दै गएकोले पर्यटन प्रवद्र्धन मार्फत युवा पलायन रोक्ने र स्वदेशी पर्यटक बढाउने गरी गाउँपालिका तहबाट समेत योजना बनाउन थालिएको छ । बजेटको व्यवस्थापन नभएपनि पर्यटकीय गाउँको अवधारणा आएकोले आगामी दिनमा केही काम गरेर देखाउन सकिने कंडेलको भनाई छ ।