राप्रपाद्धारा उच्च पदस्थ व्यक्तिको सम्पतिको छानविन गर्न माग

बागलुङ, ८ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च पदस्थ व्यक्तिको सम्पतिको छानविन गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमार्फत प्रधामन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सम्पति छानविन गर्न न्यायिक छानविन आयोग गठन गर्न आग्रह गरेको हो । भ्रष्टाचार नियन्त्रणको लागि विशेष पहल गर्न आग्रह गर्दै राप्रपाले विदेशमा लुकाएको कालोधन ल्याउने, जफत गर्ने, शंकास्पद व्यक्तिहरुको बैंक खाता तत्काल रोक्का गर्ने तथा अवैध कारोबरमा संलग्नलाई कानुन बमोजित कार्वाही गर्न ज्ञापन पत्र मार्फत ध्यानकर्षण गरेको छ । ज्ञापन पत्रमा सर्वोच्च अदालतको आदेश अनुसार एनसेलले तिर्नुपर्ने पुँजीगत लाभकर तत्काल उठाउन पनि माग गरेको छ । त्यसैगरी कर छलीमा मुछिएका सबैलाई कानुन बमोजिम कारबाही गर्न पनि राप्रपाले माग गरेको छ ।

३८ क्विण्टल तथा ३३ किलो सुन तस्करीको छानविन र कार्वाही, नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खरिद गर्दा भएको भ्रष्टाचारको छानबिन गर्न पनि माग गरेको छ । त्यसैगरी मेलम्ची खानेपानी आयोजनामा भएको घोटालाको पनि छानिब हुनुपर्ने राप्रपाको मागपत्रमा उल्लेख छ । राप्रपाले बिनाप्रतिस्पर्धा बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिइएकोमा आपत्ति जनाउँदै नेपालले नै बनाउनुपर्ने माग गरिएको छ । राप्रपाले आरक्षणको सुविधाबाट वञ्चित रहेका तर आर्थिक रुपमा विपन्न आर्य जातिय समूलाई समेत १० प्रतिशत आरक्षणको व्यवस्था हुनुपर्ने, सन् १९५० को शान्ति तथा मैत्री सन्धि प्रतिस्थापन गरी भारतसँगको खुला सिमा व्यावस्थित र नियमन गर्न माग गरिएको छ । राप्रपाले धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रता सहितको नेपाललाई हिन्दुराष्ट घोषण गर्ने माग अगाडी सारेको छ ।

ज्ञापन पत्रमा भनिएको छ राजसंस्था सहित सबै राजनीतिक दल अटाउने मौलिक प्रजातन्त्र कायम गर्न गराएर गोलमेच सम्मेलनको माग गरेको छ । देश टुक्राउन चाहने विखण्डनकारी तत्वलाई कडाईका साथ नियन्त्रणको माग राखेको राप्रपाले संगठितरुपमा जवरस्ती धर्म परिवर्तन गराउने काम बन्द गर्न माग गर्दै धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थामाथि प्रतिबन्ध लगाउन पनि सरकारसँग माग गरेको छ । राप्रपा बागलुङका अध्यक्ष सुरेन्द्र खडकाद्वारा हस्ताक्षर २२ बुद्दे ज्ञापन–पत्र राप्रपा बागलुङका सल्लाहकार टिकाराम सापकोटाले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई हस्तान्तरण गरेका थिए ।