नेता कसरी महान् बन्छन् ? यस्ता छन सफलताका ११ सूत्र !

बागलुङ, ८ फागुन-कुशल सञ्चार कलाबिना महान नेता बन्नु असंभव छ। विश्वभर पढाइ हुने शिक्षाका आधारमा यस्ता कुशल वक्ता भेटिएलान् भनेर कमै आशा गर्न सकिन्छ। सञ्चार शिक्षाको कक्षामा व्याकरणका शब्दावली, पदावली, उपस्थिति, वितरणका तरिकाहरु सिकाइन्छन्। यस्तो शिक्षा कुशल संवाददाता बन्नका लागि आवश्यक छ। हो, नेताहरुलाई यस्ता विषयको ज्ञान आवश्यक हुन्छ। तर, यति हुँदाहुँदै पनि योभन्दा माथि उनीहरुको प्रस्तुति हुनुपर्दछ।
माथि उल्लेखित विषय भन्दा अझ बढी जो व्यक्ति सचेत हुन्छ, त्यही व्यक्ति कुशल वक्ता र महान नेता बन्न सक्छ। विश्व विख्यात नेताहरुलाई नियालेर हेर्ने हो भने उनीहरुमा सञ्चार प्रवाह गर्न सक्ने सामान्य भन्दा भिन्न गुण भेटिन्छ। उनीहरु सामान्य रुपमै आफ्नो विचार प्रवाह गर्छन्। तर उनीहरुको बोलीले हाम्रो भावना र आशाहरुसँग सञ्चार गर्छ। उनीहरु आफ्नो बोलीले श्रोताको मन बुझाउन सक्यो कि सकेन भनेर आत्मसमीक्षा पनि गर्छन्।
व्यावसायिक सफलताको मुख्य कारक प्रभावशाली सञ्चार हो, चाहे त्यो अन्तर–व्यक्ति, अन्तर–संस्था, संस्थागत अथवा बाह्य तहको सञ्चार किन नहोस्। प्रभावशाली सञ्चार सफलताको सूत्र हो। कुशल सञ्चारको सूत्रहरुको बारेमा पढ्न र बुझ्न जति सजिलो छ, व्यवहारमा उतार्न हाम्रो सोचभन्दा गाह्रो छ। त्यसैले केही व्यक्तिमात्र यस कार्यका लागि अब्बल सावित हुन्छन्।महान नेता बन्ने सन्दर्भमा अध्ययन गरिएका सञ्चारका सूत्र र हासिल गरेका शिक्षा व्यवहारमा लागू गर्ने महत्वपूर्ण कडीमात्र हुन्। कुशल वक्ता अथवा सञ्चार प्रवाहकर्तामा हुने एक समान गुण हो, उनीहरुसँग अवस्थागत र प्रासंगिक चेतना निकै उच्च हुन्।कुशल वक्ता एक कुशल श्रोता र अचम्मको अवलोकनकर्ता हो। यस्ता वक्ताहरु मानिस तथा समूहको मनोभाव, व्यवहार, मूल्य मान्यता तथा परिवर्तनलाई पढ्न सक्ने दक्ष पाठक हुन्। उनीहरु आफ्नो वरपरको वातावरणलाई नियाल्नेमात्र होइन, वातावरण अनुसार आफूलाई बदलेर प्रत्येक व्यक्तिसँग सञ्चार गर्ने र खुशी बनाउने सामथ्र्य राख्दछन्। त्यस्तो सञ्चारले मानिसको चाहना र कामनालाई पूर्ति गर्छ।
तल उल्लेखित सञ्चारका सूत्रहरु तपाइँको व्यवहार र व्यक्तित्वसँग मेल खाएमा तपाईले प्रखर वक्ता, कुशल सञ्चारकर्ता र महान नेतामा भएको सञ्चार गुण परिपक्वताका साथ आत्मसाथ गर्न सुरु गर्नुभयो भन्ने बुझिनेछ।
दुई जिब्रे होइन, दृढ बक्ता
विश्वका अधिकाँश नेताहरुलाई मानिसले विश्वास गर्दैनन्। कारण उनीहरु आफ्ना वाचा पुरा गर्न सक्दैनन्। उनीहरु बोल्छन् एक, गर्छन् अर्को। यस्ता व्यक्तिलाई विस्तारै मानिसहरुले बिर्सदै जान्छन्। तर, महान नेता यस्ता हुँदैनन्। महान नेता बोल्नुअघि धेरै बेर सोच्छन्। उनीहरु आफ्नो व्यक्तित्व र विश्वासलाई तोड्न दिदैनन्। उनीहको अडान दृढ हुन्छ। काम गरेर देखाउने सामथ्र्य राख्छन्, पुरा गर्नसक्ने वाचा गर्छन्।
प्रभावकारी व्यक्तिगत सम्बन्ध
कर्पोरेट सञ्चार जारी गर्न छाड्नुहोस् र संगठित रुपमा कुराकानी गर्न सुरु गर्नुहोस्। मनोभाव होइन, संवाद सुरु गर्नुहोस्। जति व्यक्तिगत तवरबाट संवाद सुरु हुन्छ, त्यत्तिनै प्रभावकारी सञ्चार स्थापित हुन्छ। ‘तपाइँलाई कति विषयको जानकारी छ भन्ने विषय तपाइँ अरुको ख्याल कति गर्नुहुन्छ भन्ने विषयले निर्धारण गर्छ, नत्र मानिसले मतलब राख्दैनन्’ यो भनाईले गहिरो अर्थ राख्छ। जबसम्म तपाइँले व्यक्तिगत तवरबाट अर्थपूर्ण सम्बन्ध विस्तार गर्न सक्नुहुन्न, तबसम्म अरुको मनमा के छ थाहा पाउनपनि सक्नु हुन्न।
विशिष्टतामा ध्यान
विशिष्टता अस्पष्टताभन्दा उत्तम मानिन्छ। हामीले स्पष्ट रुपमा सञ्चार गर्न सिक्नुपर्छ। लामो र भ्रामक विचारभन्दा सामान्य र संक्षिप्त विचार सधैँ राम्रो मानिन्छ। के भन्न खोजेको हो, स्पष्टसँग बझ्ने भाषामा भनियो भने त्यसले अर्थ राख्छ। हाम्रो लक्ष्य सधैँ मानिसलाई नबुझेको कुरा बुझाउनु हो र उनीहरुमा आशा जगाउनु हो।
काममा ध्यान
कुशल सञ्चारकर्ता सूचना संकलन र अध्ययनमा मात्र पोख्त हुँदैनन्, उनीहरु आफ्नो विचार स्पष्टसँग पनि राख्न सक्छन्। कार्ययोजना सरल रुपमा प्रस्तुत गर्न सक्छन्। मुख्य कुरा भनेको सबै अन्तरक्रियामा मानिसको मन जित्नु हो। जब तपाइँ अन्यबाट केही कुराको आशा गर्नुभन्दा आफूले के गर्न सक्छु भन्ने कुरामा ध्यान दिनुहुन्छ, अनिमात्र तपाइँको योजना सफल हुन्छ। त्यसैले आफ्नो सधैँ आफूले के गर्ने हो, त्यो विषयमा ध्यान दिनुहोस्।
खुला दिमागले सोचौँ
बन्द दिमागले नयाँ अवसर भेट्न सक्दैन। यसले सोचलाई कुन्ठित गर्दछ। बन्द दिमागले आडम्बरी र घमण्डी बनाउँछ। यस्ता गुण भएका नेता जहिल्यै असफल हुन्छन्। कुशल नेताले पक्ष–विपक्ष सबैको विचारलाई सुन्न सक्नुपर्छ। नेताले सबै पक्षसँग वार्ता र संवादमार्फत् समस्यालाई सुल्झाउने प्रयत्न गर्नुपर्छ। तर्क र विचारभन्दा माथि उभिएर खुला दिमागले सोच्ने नेता सफल हुन्छन्।
धेरै सुन्ने बानी
महान नेताहरु धेरै बोल्नेभन्दा सुन्ने गर्दछन्। तर, जब बोल्छन्, उनीहरुले निष्कर्ष निकाल्छन्। धेरै बोलेर महान नेता कदापी भइँदैन। सुनेर धारणा बनाउने, इच्छा र चाहना बुझेर बोल्ने बानीले विश्वसनियता बढाउँछ। जब सुन्छौँ, समस्या बुझिन्छ। त्यही समस्यालाई सम्बोधन गर्ने विषयमा सम्बोधन गर्नेहरु नै महान नेता हुन सक्छन्।
अहंकार होइन सहानुभूति
अहंकारले समस्या हल गर्दैन, शत्रुमात्र बढाउँछ, विश्वसनियता घटाउँछ। तर जब नेतामा सहानुभूति र हेरचाहको भावना बढ्छ, त्यसले आशा र विश्वास जगाउँछ। सहानुभूतिले मानिसको पारदर्शिता र प्रमाणिकता झल्काउँछ। अहंकारी विचारले भने एक्लाउँछ।
समालोचक बन्दाको फाइदा
महान नेताहरुको बारेमा हामीले बझ्न चाह्यौँ भने उनीहरुका केही विशेष गुणहरुमा समानता भेटिन्छ। उनीहरु समालोचक हुन्छन्। अरुले र आफूले गरेका, अरुले र आफूले बोलेका विषय उनीहरु गम्भीरतापूर्वक मनन गर्छन्। हरेक विषयलाई समालोचनात्मक दृष्टिकोणबाट हेर्छन्। कमजोरी पत्ता लगाई त्यसलाई बलमा परिणत गर्छन्। उनीहरु भन्न नखोजिएका विषय खोतल्छन्, गर्न नसकिएका विषय गर्ने प्रयत्न गर्छन्।
बोल्ने विषयमा ज्ञान राखौँ
आफ्नो विषयगत क्षेत्रका सन्दर्भमा प्राविधिक ज्ञान हासिल गर्न निकै जरुरी हुन्छ। इदि तपाइँमा विषयगत ज्ञान छैन भने तपाईलाई मानिसहरु सुन्न रुचाउँदैनन्, तपाइँको बोली अर्थहीन हुनेछ। वक्ताले आफ्नो विषयको के, किन, कसरी जस्ता प्रश्नको उत्तर दिन सक्नुपर्छ। त्यसका लागि अध्ययन जरुरी छ।
समूहलाई व्यक्ति सम्झेर बोलौँ
चाहे त्यो दश हजारको समूह होस् वा दश जनाको, प्रत्येक पटक नेताले व्यक्तिसँग बोलिरहेको आभास दिलाउन सक्नुपर्छ। किनभने जति व्यक्तिगत ढंगबाट सूचना प्रवाह हुन्छ, त्यति नै प्रभावकारी सञ्चार स्थापना हुन्छ। सानो होस् या ठूलो, कुनै कुनै पनि समूहमा गएर बोल्न हिच्किचाउनु हुन्न। तपाइँले सानोदेखि ठूलो समूह दुबैमा विश्वास र सम्बन्ध स्थापित गर्नसक्नु पर्छ।
भिन्न परिस्थितिमा अनुकूल बन्नसक्ने कला
कहिलेकाहीँ परिस्थिति बदलिन सक्छ। एक विषयमा तयारी भएको हुन्छ, परिस्थिति परिघटना बदलिदिएर अर्को विषयमा बोल्नुपर्ने अवस्था अवस्था सिर्जना गरिदिनसक्छ। यस्तो अवस्थामा महान नेताले आफ्नो सूचनालाई परिवर्तन गर्ने सामथ्र्य राख्न जरुरी छ। यस्तो अवस्थामा आफ्नो दक्षता, सहानुभूति, स्पष्टता गुणलाई भरपुर प्रयोग गर्नुपर्छ। यस्तो अवसथामा उपस्थित मानिसहरुसँग प्रश्न सोधेर, हँसाएर, कथा भनेर अथवा केही वाचा गरेर मानिसहरुसँग जोडिरहन सक्नुपर्छ। यो गुण माथि उल्लेखित गुणहरु जस्तैः सुन्ने बानी, अध्ययन, अभ्यास, तयारी जस्ता कुराले अभिबृद्धि गर्छ।
मुख्यकुरा के हो भने जतिबेला हामी सञ्चार गर्छाैँ, हामी ढुक्क हुनुपर्छ कि हाम्रो सन्देश सही र सत्य, कारणसहितको र तर्कसंगत हुनुपर्दछ। सन्देश विशिष्ट, सही र सरल पनि हुनुपर्छ। यहाँनेर दिमागमा राख्नुपर्ने महत्वपूर्ण विषय के हो भने, तपाईंले आफ्नो कुराको सञ्चार गरिरहँदा तपाइँको विचार, पद र परिस्थितिले त्यति धेरै फरक पार्दैन। प्रभावशाली सञ्चारले मानिसको चाहना, बुझाइ र उनीहरुको धारणालाई महत्व दिने गर्दछ, जसले विश्वास र आशा जगाउन सकोस्।
(माइक म्याट नेतृत्वसम्बन्धी परामर्शदाता हुन्। यो लेख फोब्र्स म्यागेजिनबाट अनुवाद गरिएको हो।)