सकारात्मक सोच, उत्प्रेरणा, पठन संस्कृति अभिवृद्धि गरि व्यक्तित्व विकास गराउन फुर्सदमा अनुशिक्षण

बागलुङ, ९ फागुन – जिल्लाको तमानखोला गाउँपालिकाका लेखापाल यामबहादुर थापा कार्यालय बिदाको समयमा विद्यालयहरुमा हुन्छन् । पेशाले निजामती कर्मचारी उनी शिक्षकले जस्तै पढाउँदै विद्यालयहरु चाहर्ने गरेका छन् । विद्यार्थीमा हराउँदै गएको पठन संस्कृति, सामाजिक सञ्जालका कारण समाजमा परेको प्रभाव, विद्यालयको सबै जिम्मेबारी शिक्षकको काँधमा छाड्ने अभिभावक र पेशाका लागि मात्रै शिक्षणमा सहभागी हुने शिक्षकहरुलाई सचेत बनाउँदै पठन संस्कृति अभिबृद्धि गर्न थापाले अनुशिक्षण सञ्चालन गर्ने गरेका छन् । बागलुङका दुरदराजदेखी जिल्ला सदरमुकाम नजिकैका विद्यालयहरुमा समेत अनुशिक्ष सञ्चालन गर्दै आएका थापाले अहिलेसम्म दर्जन बढि विद्यालयमा पुगेको बताए । स–साना विद्यार्थीहरु सामाजिक सञ्जालमा भुलेको देखेपछि सचेतना फैलाउनकै लागि थापाको मनमा अनुशिक्षण सञ्चालन गर्ने उत्प्रेरणा जागेको थियो । विद्यार्थीलाई मात्रै नभई शिक्षक र अभिभावकलाई समेत सचेत गराउनुपर्ने देखेर सबैलाई एकै ठाउँमा राखेर उनले अनुशिक्षण दिँदै आएका छन् । अनुशिक्षणका लागि उनलाई लोकसेवाको तयारी गर्ने बेला लिएका तालिम, पत्रकारिता तथा उद्घोषण तालिम, व्यक्तित्व विकास तालिम र बिभिन्न समयमा बिभिन्न व्यक्तिका लेख तथा रचनाहरु पढ्ने क्रममा उव्जेका जिज्ञासा र आँफैले खोजी गरेर पत्ता लगाएका कतिपय तथ्यहरुले साथ दिने गरेको छ ।

‘निजामती सेवामा प्रवेश गर्नुपुर्व गरेको पत्रकारिता र समाजसेवाले सिकाएका कुरा अहिले फुर्सदको समयमा विद्यालयहरुमा पुगेर बाँड्ने गरेको छु’ थापाले भने ‘बिकृत बन्न लागेको समाजलाई सुधार गर्नु हामी युवाको दायित्व हो ।’ थापाले एक दिने अनुशिक्षणमा सकारात्मक सोच, उत्प्रेरणा, पठन संस्कृति (अध्ययन संस्कृति) अभिवृद्धि गरि व्यक्तित्व विकास गराउने खालको शिक्षण गर्ने गरेका छन् । ‘अनुशिक्षणमा सहभागि भएपछि उत्प्रेरणा जागेको छ, पढ्ने मात्रै पढाउन सक्छ भन्ने भावनाको बिकास भएको छ’ भैरव माध्यमिक विद्यालय बागलुङ नगरपालिका–१० भकुण्डेका शिक्षक खिमबहादुर थापाले भने ‘एक दुई पटक मात्रै होईन कम्तिमा बर्षमा चार पाँच पटक यस्तो खालको कार्यक्रम गर्न सके शिक्षक, विद्यार्थी, अभिभावक सबैमा सुधार आउँछ ।’ अनुशिक्षणमा बिशेष गरेर आधारभुत र माध्यमीक तहका विद्यार्थी सहभागी हुने गरेका छन् । अहिलेसम्म बागलुङका २ हजार ५ सयभन्दा धेरै शिक्षक विद्यार्थी र अभिभावकलाई अनुशिक्षण दिईएको छ । बिना शुल्क विद्यालयहरुमा पुग्ने गरेका थापालाई विद्यालयहरुले विदाको समय मिलाएर बोलाउने गरेका छन् । थापाले यसअघि रेश नुन्थला माध्यमीक विद्यालय काठेखोला गाउँपालिका, न्यु मोडेल इङ्लिस बोर्डिड स्कुल काठेखोला–७ , शिवालय आधारभुत विद्यालय बानपा–१०, चौतारेडाँडा माध्यमिक विद्यालय बानपा–१०, मंगला आधारभुत विद्यालय तमानखोला, खोलेस्वाङ आधारभुत विद्यालय बोङ्गादोभान, विष्णु आधारभुत विद्यालय नर्जाखानी, हिल साइड बोर्डिङ स्कुल तमानखोला, शान्ति माध्यमिक विद्यालय खुंखानी, जनजागृति माध्यमिक विद्यालय बोङ्गादोभान, धनगौज्योति माध्यमिक विद्यालय तमान, प्रकाश माध्यमिक विद्यालय खुंगा, त्रिभुवन माध्यमिक विद्यालय खरवाङ लगायतका विद्यालयमा निशुल्क अनुशिक्षण गरेका छन् । अनौपचारिक शिक्षा हाँसिल गर्नको लागि उत्प्रेरणामुलक अभियान थालनी गर्न प्रशिक्षण गर्दै हिँडेको थापा बताउँछन् ।

प्रशिक्षणमा स्थायी साथी किताब बनाउनु पर्ने, पुुस्तकालयमा अध्ययन गर्ने बानीको विकास गर्ने, अध्ययन गर्न लागेको विद्यालयको पोशाकमा अनिवार्य फोटो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने, जन्म दिवस, नयाँ वर्ष, दशै तिहारमा पुस्तक उपहार दिने संस्कारको विकास गर्ने, वाक कलाको विकास गरी व्यक्तित्व विकास निर्माणमा ध्यान दिने, दयालाग्दो जिवनशैली नभई डाहलाग्दो जिवनशैली अपनाउनको लागि संघर्षशील जिवनयापन गर्ने, खोज अनुसन्धानमुलक अध्ययनमा निरन्तर लागि पर्ने जस्ता विभिन्न शैलीको अनौपचारिक शिक्षण हुने गरेको छ । बागलुङ जिल्लाका नगरपालिका तथा गाउँपालिकासँग समन्वय गरी जिल्लाभरिका विद्यार्थीहरुलाई सकारात्मक सोच, उत्प्रेरणा तथा अध्ययन संस्कृतिको विकास र विस्तार गर्न प्रशिक्षण कार्यक्रम गरिने योजना बनाएको थापाले बताए । थापाले लोकसेवाको तयारीमा रहेका युवायुवतीलाई समेत निशुल्क प्रशिक्षण दिने गरेका छन् ।