डान्स आइडलको उपाधि सूरुचीलाई

बागलुङ, ९ फागुन – रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतले आयोजना गरेको ‘प्रथम खुल्ला डान्स आईडल’ को उपाधि बागलुङकी सुरूची पराजुलीले जितेकी छन् । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको चिल्ड्रेन लाईफ ईङलिस बोर्डिङ स्कुल कक्षा ३ मा अध्यनरत छात्रा सुरूची २० जना प्रतिष्पर्धिलाई पछि पार्दै उपाधि जितेकी हुन् । ११ औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा रेडियोले ‘प्रथम खुल्ला डान्स आईडल’को आयोजना गरेको थियो । उपाधिसँगै पराजुलीले नगद ५० हजार पुरस्कार पाएकी छन् । उनी सानै उमेरमा निकै मेहेनतका साथ आँफुभन्दा धेरै उमेरका प्रतिष्पर्धिसँग प्रतिष्पर्धामा थिईन् ।

उनको उत्कृष्ट प्रस्तुतीले महोत्सवलाई थप आकर्षण दिएको रेडियोकी अध्यक्ष कल्पना चापागाईंले बताईन् । प्रतियोगितमा दोस्रो स्थानमा बिपना थापा आईन । उनले ३० हजार रुपैयाँ जितेकी छन् । त्यस्तै तेस्रो बनेकी सिर्जना थापाले २० हजार नगद प्राप्त गरेको आयोजक रेडियो दिदीबहिनीका स्टेशन प्रमुख दुर्गा शर्माले बताईन् । चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीहरुका लागि नृत्य कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयमा सिकेको ज्ञानलाई पराजुलीले ब्यवहारमा उतारेर विद्यालयको इज्जत बढाएको प्रिन्सिपल नवराज श्रेष्ठले बताए ।