शोकमा वडाका कार्यालय दुई दिन बन्द हुने

बागलुङ, ९ फागुन – जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीले वडामा रहेका सबै सरकारी कार्यालय र विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । मंगलबार साँझ भएको पिकअप भ्यान दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा दुई दिनका लागि सबै सरकारी कार्यालय र विद्यालयहरु बन्द गर्ने निर्णय गरेको वडा सदस्य कर्ण बहादुर पुनले जानकारी दिए । बुधबार बसेको वडा कार्यालयको बैठकले बुधबार र बिहिबारका लागि कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । वडामा रहेका निजी तथा आवासिय विद्यालय र अन्य प्रतिष्ठानहरुलाई समेत कार्यालय सञ्चालन नगर्न वडा कार्यालयले आग्रह गरेको छ ।

मंगलबार साँझ रापुङ्गमा भएको दुर्घटनमा जनकल्याण माध्यमिक विद्यालयका तीन छात्रा र लेखापालको निधन भएको थियो । दर्घटनामा घाईते भएकाहरुमध्ये पाँच जनाको धौलागिरी अञ्चल अस्पताल र चार जनाको पोखराका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनापछि छिस्तीको रापुङ्ग, नेपाने लगायतका गाउँहरुमा सन्नाटा छाएको छभने जैमिनी नगरपालिका शोकमा डुबेको नगर उपप्रमुख लिला रानाले बताए ।