भूकम्पको असरले जोखिममा परेको बस्ती स्थानान्तरण हुने

बागलुङ, ९ फागुन – भूकम्पको असरले जोखिममा परेको काठेखोला गाउँपालिका–५, बिहुँको काउले बस्ती स्थानान्तरण हुने भएको छ । काउले नजिकै सापकोटाचोकमा एकीकृत बस्ती निर्माणको प्रक्रिया अघि बढेको हो । गाउँपालिका, वडा कार्यालय र विस्थापित परिवार लामो समयदेखि जग्गाको खोजीमा थिए । जग्गा नहुँदा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट अनुदान प्रक्रिया शुरु हुन सकेको थिएन । ‘जग्गा व्यस्थापन भएको छ’, वडाध्यक्ष शिव कँडेलले भने, ‘आवश्यक कागजात प्राधिकरणमा पठाउँदै छौँ ।’ उनका अनुसार वडा कार्यालयको पहलमा रु ३३ लाखमा ११ रोपनी जग्गा खरीद गरिएको छ ।

चौध परिवारमध्ये केहीले पहिले नै अनुदान लिएर घर बनाइसकेको र केही भाडामा बसेको हुँदा १० परिवारमात्र लाभग्राहीमा समेटिने भएका छन् । एकीकृत बस्ती निर्माणको लागि प्राधिकरणले जग्गा व्यवस्थापनमा प्रतिपरिवार रु दुई लाख उपलब्ध गराउने व्यवस्था छ । यस्तै, बस्तीमा खानेपानी, बिजुलीजस्ता पूर्वाधार निर्माणमा प्रतिपरिवार रु चार लाख र घर निर्माणका लागि रु तीन लाख अनुदान उपलब्ध गराइनेछ । एकीकृत बस्तीले मात्र पूर्वाधार निर्माणको अनुदान पाउने प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त प्रमुख इञ्जिनीयर रामाशिष साहले बताए । ‘जग्गा भएपछि अब अनुदानको प्रक्रिया अघि बढ्छ’, निमित्त प्रमुख साहले भने, ‘केन्द्रबाट छनोट र स्वीकृत भएपछि बल्ल अनुदान आउँछ ।’ प्राविधिकलगायत सबै हिसाबले उपयुक्त ठहरिएको जग्गामा मात्र एकीकृत बस्ती बसाल्ने प्राधिकरणको नीति छ ।

प्राप्त भएको जग्गाको स्वामित्व, साँध, सिमाना, लालपुर्जा केहीमा पनि विवाद नरहेको वडाध्यक्ष कँडेलको भनाइ छ । उनले अनुदान रकमले नपुग्ने अवस्थामा बाँकी रहेको जग्गा बेचबिखन गर्न सकिने उल्लेख गरे । एकीकृत बस्तीका लागि प्रतिपरिवार न्यूनतम छ आना जग्गा हुनुपर्ने व्यवस्था छ । प्राधिकरणले अनुदान स्वीकृत गरेपछि एक वर्ष्भित्रै एकीकृत बस्ती निर्माण हुने जनाइएको छ । बस्तीमा एकै किसिमका एकतले घर बन्नेछन् । जग्गा भेटिएपछि घर निर्माणको आशा पलाएको विस्थापित बसीमाया परियारले बताइन् । ‘घरबास गुमाएको वर्ष दिन हुन लाग्यो’, उनले भनिन, ‘छिटो बस्ती निर्माण होस्, अरुको आश्रयमा बस्दा हामीलाई दुःख छ ।’