क्षणभरमै लुटियो खुशी

बागलुङ, ९ फागुन – जनकल्याण माध्यमिक विद्यालयको ४४ औं बार्षिकोत्सव । दिनभर बिबिध कार्यक्रम भए, विद्यालयको प्रतिवेदन प्रस्तुतीदेखी सांस्कृतिक कार्यक्रम र नेताहरुको भाषण । प्रदेश सभा सदस्य कृष्ण थापा कार्यक्रमका प्रमुख अतिथी थिए । विद्यालयका सबै विद्यार्थीलाई बार्षिकोत्सवको कार्यक्रममा अनिवार्य उपस्थित हुन विद्यालयले आग्रह गरेको थियो । आफ्नै मैदानमा दिनभर घरि हाँस्दै घरि नाच्दै त घरि अग्रजहरुका भाषण सुनेर विद्यार्थीहरुले मंगलबार पुरै दिन बिताए । साँझ पर्न आँटेको थियो धेरै ठाढा त होईन तर विद्यालयको कार्यक्रम अलिक लामो भएकाले विद्यार्थीहरुलाई घर पुग्न हतार थियो । यात्रु बोकेर बागलुङ बजारको लागि गुडेको गाडी विद्यालय नजिकै आईपुग्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको व्यक्तिगत गाडी विद्यालयमा पुग्दा विद्यार्थी फुरुङ्ग भए । आफ्नै साथी जस्तै गाडी चालक प्रवित पुन, उनी नेपाने जान्छन् र हामीलाई लैजान्छन् भनेर उनीहरुमा खुसी छाएको थियो । बर्षको एक पटक मनाईने पर्व जस्तै विद्यालयको बार्षिकोत्सव सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुर बहादुर पुनले बताउँदै खुसी लागेको बताए । सबै अतिथीको बिदाई, कार्यक्रमका लागि प्रयोग भएका सामग्रीदेखी संरचनाहरुको व्यवस्थापन सबै मिलाउनुपर्ने थियो । दिनभर कार्यक्रममा लागेको थकाईको समेत प्रवाह नगरी नूरबहादुरले खुसीनै मानिरहेका थिए । तर उनको खुसी धेरै बेर टिकेन । आफ्नै गाडीले विद्यालय प्राङ्गडबाट विद्यार्थी लिएर नेपाने जान लागेको थाहा पाएका उनी पटक–पटक गाडीको छेउमा पुगे, गाडीमा अटसमटस भएर बसेका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई भीडभाड गरेर नजान पुनले आग्रह गरे ।

चालक प्रविनले पनि पटक–पटक धेरै नबस्न आग्रह गरे । तर साँझ परेको थियो । हिँडेर घर पुग्न सबै थाकेका थिए । कसैले पनि उनीहरुको कुरा सुनेन् र क्षमताभन्दा कयौं गुणा बढी यात्री बोकेर पिकअप नेपानेतर्फ लाग्यो । पिकअप हिड्नु पुर्व बाटोको अवस्था राम्रो नभएको र उकालोमा जेपनि हुन सक्ने भन्दै जम्लाहत गरेको भएपनि कसैले नसुनेको नुरप्रसाद सुनाउँछन् । उनले भनेकै जस्तो भयो रापुङ्गको उकालोमा गाडी अगाडि बढेन् । पटक–पटक चालक गाडीबाट यात्रुलाई झर्न आग्रह गरे र गाडी अनियन्त्रित भएपछि सडकदेखी ७ सय मिटर तल खस्यो । झण्डै २५ जना सवार पिकअपको पछाडी ढालामा रहेका केही हाम फाल्न सफल भएभने अरु सबै गाडीसँगै खसे । साँझ ६ बजेर ५५ मिनेट गएको थियो गाडी खसेको हल्ला बिद्यालयमाा फैलियो । काम सकेर घर फर्किन लागेका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधकारी र अभिभावक सबै छाँगाबाट खसेजस्तै भए । गाडी खसेको स्थान रापुङ्गको भिर सम्झँदै कहालीलाग्दो थियो । तत्कालै प्रहरीलाई खबर गरियो, स्थानीय उद्धारमा जुटे । घटनास्थल पुग्दा विद्यालयका लेखापाल टिका भनिने तुलसी पुन र कक्षा ९ मा अध्ययनरत एलिना पुनले संसार छोडिसकेको भन्ने हल्ला फैलियो । घाईते भएकी आफ्नी १३ बर्षिय छोरीसहित १३ जना घाईतेलाई उद्दार गरेर पिकअप भ्यानहरुकै सहायतामा उपचारका लागि धौलागिरी अञ्चल अस्पताल पठाईयो । छिस्तीबाट हिँडेको पिकअप कुश्मीशेराको जैमिनीघाटसम्म आईपुग्दासम्म ज्योतीको धड्कन चल्दै थियो । आफ्नै काखमा छोरी थिईन् । ठेउलेखोलाको पुल कटेपछि छोरीको धड्कन नचलेको थाहा पाए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, दुर्घटनामा परेका सवारी मालिक भएकाले उनलाई सबै घटनाका पिडितको दायित्व त छँदै थियो बाबुको दायित्व पुरा गर्न घाईते छोरीलाई उपचार गर्ने ठाउँसम्म पु¥याउन नूरबहादुरले सकेनन् ।

घाईते छोरो, दुईजना छोरीका बालसखा र एक जना शिक्षिका गुमाएको पिडाले छटपटी भएपनि धौलागिरी अञ्चल अस्पतालको प्रतिक्षा कक्षमा मन थामेर बसेका थिए नुरबहादुर  पुनको । ध १ ज ७९१ नम्बरको पिकअप भ्यान छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमीक विद्यालयका लेखापाल टिका भनिने तुलसी पुन, सोही विद्यालयमा अध्ययनरत छात्राहरु एलिना पुन, प्रियंका पुन र ज्योती पुन रहेको जैमिनी नगरपालिका–८ छिस्तीका वडा सदस्य कर्णसिंह पुनले जानकारी दिए । दुर्घटनामा परि १२ जना घाईते भएका छन् । घाईतेमध्ये गम्भिर अवस्थामा रहेका धना श्रीष, बिष्ना श्रीष, संगम श्रीष र सम्झना पुनलाई धौलागिरी अञ्चल अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा पठाईएको प्रहरीले जनाएको छ । बाँकी सात जनामध्ये कृष्ण पुन, सविना थापा, नन्दकली श्रीष, निर्मला पुन र पुजा पुनको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाँकी दुईजना समान्य उपचारपछि घर फर्किएका छन् । दुर्घटना हुनुपुर्व बाटोको अवस्था देखेर चालकले तिन पटकसम्म ओरालेका यात्रुहरु अटेरी गरेर पटक–पटक चढेको घाईते बालक बिशाल परियार बताउँछन् । सामान्य असावधानी र यात्रुहरुकै हठका कारण दुर्घटना भएको हो । एक त कच्चि सडक त्यसमा पनि हिउँदे बर्षाका कारण हिलाम्मे । क्षमताभन्दा बढि यात्रु धान्न नसकेका कारण रापुङ्गको भिरमा दुर्घटना भएको जैमिनी नगरपालिकाका उप–प्रमुख लिला रानाले बताए ।