मृत्यु (कविता)

सूर्यनारायण
दक्षिणायनबाट उत्तरायण हुँदै जाँदा
पहिले घाम छेक्ने पिपल बोट छलिएर
न्यानो घाम लागेको
चराहरु आकाशमा चिर्विराएको
मानिसहरु ढाड सेकाएर घाम तापेको
प्रियहरुले घुम्टा उघारेको
पृथ्वीमा शक्ति भरिएको
एउटा बूढोको परिकल्पना लुकाउँदै
उत्तरायण सूर्यनारायणलाई
बादलका ठूलाठूला डल्लाहरुले
रुखले जस्तै छेकेर
गोलाद्र्धको यतापट्टीको सुन्दर भूगोल
अँध्यारोमा बेरिंदा
उस्तै–उस्तै हो नानू भनेर
जिब्रो लेप्राउने र काल पर्खिने
बुढोको उही पुरानो अभ्यासको
पुनरावृत्ति भैरहेछ
आशाहरु फेरि मर्दैछन्
उत्तेजनाहरु चिसिंदैछन्
उद्देश्यहरु छरिंदैछन्
अभिलाशाहरु खण्डित हुँदैछन् ।

उत्तरायण पनि कालोले घेरिएर
तिक्त, रिक्त, दिक्क लाग्दो भएपछि
दिनहिनलाई दुःखदायी र कष्टकर भएपछि
सिरक नहुनेलाई सिरेटो र मृत्योर्मुख भएपछि
गफहरु फगत कानका दाउरा भएपछि
हातहरु जदौ महाराजमै व्यस्त भएपछि
रित्ता पेटले कति पत्याउनु नाटकीय
शिव र पार्वतीका प्रेमका कुरा
राम र रावणका निशाफका कुरा
कृष्ण र युधिष्ठिरका कर्म र धर्मका कुरा ।

दक्षिणायनमा रुखले छेकेर आशा मरिसकेको बेला
उत्तरायणमा बादलले ढाकेर आशा मरिरहेको बेला
घामले ताप थपेर बादल फिट्न नसके
कि त मर्नेछन मानिसहरु आशा सकिएर
कि त दिक्दारिको अभिसप्त समयमा मानिसहरु
जन्माउने आमालाई दोषी देखेर धिक्कार्दै–
आमाको विरोधमा युद्ध छेड्ने छन्
निर्वल, कोमल, ममतामयी आमा हानेछिन्
त्यसैले घाम आउँछ नभन छिटो ल्याएर देखाऊ
न्यानो पाउँछौ नभन छिटो दिएर देखाऊ
काम गर्छौं नभन छिटो कमाएर देखाऊ
आशा छर्ने हैन छिटो आशा पुर्याएर देखाऊ
रित्ता थाललाई फाल्ने हैन छिटो भरेर देखाऊ ।
गजेहडा, कपिलवस्तु