दुर्घटनामा पीडितलाई आर्थिक सहयोग

बागलुङ, १५ फागुन – जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा एक साताअघि भएको पिकअप दुर्घटनाका पीडितहरुलाई नगरपालिकाले आर्थिक सहयोग गरेको छ । पिकअप दुर्घटनामा ज्यान गुमाएका परिवारको लागि किरिया खर्च र गम्भिर घाईतेहरुका लागि उपचार खर्च उपलव्ध गराईएको हो । दुर्घटनामा मृत्यु भएका प्रियंका पुन, ज्योति पुन, एलिना पुन र तुलसी पुनको परिवारलाई किरिया खर्चबापत जनही २५ हजार रुपैयाँ उपलव्ध गराईएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए । त्यस्तै दुर्घटनामा गम्भिर घाईते भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा उपचार गराईरहेका संगम पुन र सम्झना पुनलाई उपचार खर्चबापत जनही ४० हजार रुपैयाँ प्रदान गरिएको छ ।

सामान्य घाईते भएका धनकला श्रीस, बिना श्रीस, पूजा पुन र तुलबिर पुनलाई जनही २५,००० आर्थिक सहयोग गर्ने निणर्य भएको नगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक लक्ष्मी प्रसाद सापकोटाले बताए । नगरपालिकाका प्रमुखसहितको टोली पीडितका घरघरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको थियो । गत फागुन ७ गते जनकल्याण माध्यमिक विद्यालयको बार्षिकोत्सव सकेर छिस्तीको नेपानेका लागि हिँडेको ध१ज ७९१ नम्बरको पिकअप भ्यान रापुङ्गमा दुर्घना हुँदा दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो । दुर्घटनामा घाईते भएका ११ जनामध्ये संगम पुन र सम्झना पुनको अवस्था अझैपनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।