जिल्ला भरि हात्तीपाईले रोगविरुद्धको औषधि खुवाउन शुरु

बागलुङ, १६ फागुन – स्वास्थ्य कार्यालय बागलुङको आयोजना र सबै गाउँपालिका तथा नगरपालिकाको आयोजनामा जिल्लाभर हात्तीपाईले रोगविरुद्ध औषधि खुवाउन थालिएको छ । सर्भेक्षणबाट एउटै वडामा १४ जना बिरामी भेटेपछि बागलुङमा हात्तीपाईले रोग बिरुद्ध साता व्यापी औषधि खुवाउने अभियान थालिएको हो । बुधबार सदरमुकाम सहितका सबै नगर र गाउँपालिकाका प्रमुखलाई औषधि खुवाएर शुभारम्भ भएको बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले बताए । निवारण अभियान स्वरुप एक सातासम्म औषधि खुवाइने छ ।

सबै नगरपालिका र गाउँपालिका तहका स्वास्थ्य ईकाईको समन्वयमा औषधि खुवाउन लागिएको हो । गत बर्षसम्म औषधि खुवाएको छिमेकी म्याग्दीमा शुन्य भएको छ । बागलुङमा भने समस्याकै रुपमा देखिएपछि अझै दुई बर्षसम्म खुवाउनुपर्ने भएको हो । अघिल्ला बर्ष स्वयंसेवक खटाएर खुवाउँदा छुटेकोले संक्रमण नघटेको पाइएको तिवारीले बताए । ‘यो पटक सात दिन लगाएर स्वास्थ्यकर्मीले मात्रै खुवाउने कार्यक्रम छ’ तिवारीले भने, ‘खाने र नखानेको नामाबली समेत संकलन गर्ने योजना बनाइएको छ ।’ जिल्लाका २ लाख ५१ हजार जनालाई औषधि खुवाउने तयारी गरिएको उनले बताए ।

मानिसको शरीर र लामखुट्टेको शरिरमा बाँच्ने जिवाणुलाई नष्ट गर्नका लागि औषधि खुवाउनु पर्छ । लगातार ६ बर्षदेखि चलेको औषधि खुवाउने अभियानमा छुटेकाहरुबाट रोग पुरै समाप्त नभएकोले अभियान जारी राख्नुपरेको उनले बताए । देशभरका १५ जिल्लामा यसको संक्रमण बाँकी रहेको तथ्यांक छ । बागलुङको नारायणस्थानमा गरिएको ३१० जनाको सर्भेक्षणमा १४ बिरामी भेटिएका थिए ।