साहसिक खेलमा १५ करोड लगानी

बागलुङ, १६ फागुन – सिन्धुपाल्चोकका राजु कार्की र उनकी फ्रान्सेली श्रीमती ल्फोरेन्सले बिभिन्न साहसिक खेलका लागि बागलुङको बलेवामा आएर १५ करोड लगानी गरेका छन् । बागलुङको बलेवादेखि पर्वतको कुश्मा जोड्ने बन्जीजम्पसंगै भीरमा डोरी टाँगेर गरिने साइकलिङ र स्वीङ (पुलबाटै खेलिने अग्लो पिङ) मा लगानी गरेका हुन् । यो अभियानमा स्थानीयले पनि लगानी थपेर सहयोग गरेका छन् । विशेषगरी कुश्माका केही व्यापारीले बन्जीमा लगानी गरेका हुन् । विश्वकै दोश्रो अग्लो बन्जीजम्पका लागि पुल निर्माणाधिन छ । यो पुल पानीको सतहदेखि २ सय मीटर अग्लो र ५ सय मीटर लामो हुनेछ । यहाँ झण्डै एक बर्षदेखि पानीको सतहदेखि ५ सय मीटर माथिसम्म भीरमा डोरीमा साइकल कुदाउने साहसिक खेल स्वीङ संचालन भैसकेको छ । यस्तो साहसिक खेलका लागि नेपाली र बिदेशी पर्यटक आउने क्रम बढीरहेको कार्कीले बताए । बिबाहपछि केही समय फ्रान्समै बसेका कार्की दम्पत्तिले नेपाल फर्केर ८ बर्षसम्म भोटेकोशीको बन्जीजम्पमा काम गरेका थिए । त्यहाँको अनुभवबाट उनीहरुले ऋण खोजेर लगानी गरेको बताए । नेपालमै बसेर ल्फोरेन्सले नेपाली नागरिकता लिएकी छिन् । ‘अब नेपालमै बसेर केही उद्यम गर्ने र युवालाई रोजगार दिने भनेर लगानी गरेका हौं’ उनले भनिन्, ‘हामीले थालेको लगानीलाई स्थानीयले पनि साथ दिएका छन् ।’

कसैले नगदै लगानी थपेका छन्भने केहीले जग्गा दिएर सहयोग गरेको बताईन् । दुई जिल्ला जोड्ने यो बन्जीपुलबाहेक कार्की दम्पत्तिले बागलुङको बलेवामा झण्डै एक सय रोपनी जमिन लिएर कम्तिमा एकसय जनालाई रात बस्न सक्ने र डेढ सय मानिसलाई दैनिक खाजा खुवाउने रेष्टुरेष्ट समेत बनाएका छन् । नेपानेस्थित खरवारी र कोदो रोप्ने जमिन केही खरिद गरेका छन्भने केही जमिन १५ बर्षका लागि भाडामा लिएका छन् । यो सिंगो लगानीको काम संचालनमा आएपछि कम्तिमा ५० युवालाई नियमित रोजगारी दिन सकिने उनले बताईन् । बन्जीमा दैनिक एक सय जनाले खेल्न सक्ने व्यवस्था हुनेछ । त्यस्तै भीरैभीरको दृश्याबलोकन लागतमा पनि पैसा तिरेर हेर्ने व्यवस्था उनीहरुले गर्दैछन् । यहाँका सबै साहसिक खेल खेल्दा पर्यटकले कम्तिमा १० हजारदेखि १५ हजार रुपैयाँसम्म खर्चने उनीहरुको अनुमान छ । होटलमा बस्ने खाने र अन्य स्थानको घुमाईबाट बलेवा र पर्वतको कुश्मामा धेरै आर्थिक क्रियाकलाप बढ्ने अनुमान छ ।

कालीगण्डकी नदीमाथी बनिरहेका यी संरचनाले बर्षेनी कम्तिमा २० हजार बढी साहसिक खेल खेल्ने पर्यटक थपिने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदार शर्माको अनुमान छ । ‘हरेक मानिस कुनै न कुनै व्यवसायमा लाग्नका लागि यस्ता लगानी भित्राउन जरुरी छ’ शर्माले भने, ‘अझै धेरै लगानीलाई आर्कर्षित र सुरक्षा दिन हामी लाग्नै पर्छ ।’ व्यवसायीहरुले यसअघि नेपालकै नमूना यान्त्रिक पुल बनाएर संचालन गरिरहेका छन् । दुई जिल्ला जोड्ने गरी नेपालकै अग्ला झोलुंगे पुल पनि बनेका छन् । पोखरा र अन्नपूर्ण संरक्षण क्षेत्रमा आउने बिदेशी पर्यटक तथा नेपाली पर्यटकलाई यहाँ भित्राउने उनीहरुको मुख्य योजना हो । ‘साहसिक खेल र यहाँका अन्य संरचनामा ल्याएर कम्तिमा एक दिन र बढीमा ३ दिनसम्म घुमाउने गरी संरचना तयार गर्दैछौं’ कार्कीले भनिन्, ‘डिलक्स र स्ट्याण्डर कोठामा पाहुनाले चाहे अनुसारको बस्न सक्ने व्यस्था गरिंदैछ ।’ हिमाल चढ्ने जस्तै बन्जी, स्वीङ र हिल साईकलिङ साहसिक खेल भएको उनले बताईन् ।

कार्की दम्पत्तिले बागलुङ नगरपालिका–१४ नारायणस्थानमै आकासे पानी संकलन, प्रशोधन र एक पटक प्रयोग भएको पानी पुन प्रयोगका लागि प्लान्ट समेत निर्माण गर्दैछन् । त्यसका लागि स्मार्ट पानी कम्पनीका निरोज सापकोटा सहितको टिमलाई ल्याएर काम गराइएको छ । बायो ग्यास, माटो संरक्षण तथा वातावरणमैत्री परियोजना समेत संचालन गर्ने उनीहरुको योजना छ । रेष्टुरेन्ट तथा होटलमा स्थानीय किसानकै तरकारी, दूध र अन्य बस्तु खरिद गरिदिने आश्वासन पनि दिईएको छ । ‘अब नारायणस्थान, पैयुपाटा लगायतका किसानले प्रसस्त तरकारी फलाउने, दूध उत्पादन गर्ने र खसीबोका उत्पादन गरेपनि सहजै खपतको व्यवस्थापनमा सहयोग गर्ने कार्की दम्पत्तीले बताए ।