मन्त्री अधिकारीको अन्त्येष्टि आज

पोखरा, १७ फागुन – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार पोखरास्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टि अघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले जानकारी दिए । सरकारले स्व. अधिकारीकोे राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय बुधबार नै गरिसकेको छ । नेता गुरुङका अनुसार, अधिकारीको अन्त्येष्टिमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, दलका नेतालगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहनेछ ।

नेकपा प्रदेश कार्यालयको आयोजनामा बिहिबार बिहान शान्तिवनवाटिका स्थित जिल्ला पार्टी कार्यालयमा बसेको प्रदेश कार्यालय, उपलब्ध केन्द्रीय तथा प्रदेश सदस्य र कास्की पार्टी संयन्त्र सदस्यहरुको बैठकले मन्त्री अधिकारीको अन्त्येष्टिका लागि पार्टीको आन्तरिक व्यवस्थापन प्रदेश सरकारको समन्वयमा जिल्ला पार्टी कार्यालयले गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले फागुन १९ गते आइतबार गण्डकी प्रदेशका सबै जिल्लामा शोकसभा गर्ने र तीन दिन पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले बताए । यसैबीच, ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारी सातै जनाका लागि तय भएको श्रद्धाञ्जलि कार्यक्रमा शुक्रबार बिहानसम्मका लागि सरेको छ । पोस्टमार्टम गर्न समय लाग्ने भएकाले शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि सारिएको हो ।

बिहीबार दिउँसो ताप्लेजुङबाट काठमाडौं ल्याइएका शवको पहिचान हुन समस्या भएर डिएनए परीक्षण गर्नु परेपछि समय लाग्ने भएको हो । डिएनए परीक्षणको नतिजा आउन १० देखि १५ घण्टा लाग्ने भएपछि बिहीबारको कार्यक्रम शुक्रबार सम्मका लागि सारिएको हो । बुधबार ताप्लेजुङको सिस्नेभिरमा हेलिकोप्टर दुर्घटना मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । उक्त घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको हो ।