रहेनन् नेकपा नेता पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी

कम्युनिस्ट नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो ।

बागलुङ, १८ फागुन- पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । लामो समयदेखि बिरामी कम्युनिस्ट नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो । अस्वस्थ भएपछि गत पुस २३ गते उनलाई सुरूमा ललितपुरकाे मेडिसिटी र त्यसपछि ह्याम्स अस्पतालमा भर्ना गरिएकाे थियाे । नेता अधिकारीलाई हेर्न पुगेका मोरङ समाज काठमाडौँका अध्यक्ष कृष्णमुरारी कोइरालाका अनुसार भेन्टिलेटरमा नेता अधिकारीको श्वास प्रश्वास कम हुँदै गएको थियो । अधिकारीको निधन भएको खबर पाएसँगै अस्पताल परिसरमा आफन्त र शुभेच्छुकको रुवाबासी भएको छ ।
फोक्सो र मुटुमा समस्या हुँदा तीन हप्तादेखि ह्याम्स अस्पतालमा उपचाररत अधिकारीलाई बचाउन नसकिएको ह्याम्स अस्पतालका मेडिकल डाइरेक्टर डा. भाष्करराज पन्त र अस्पतालको क्रिकिटल केयर सर्भिसेजका संयोजक डा.हेमराज पनेरूले दिएका छन् । शनिबार दिउँसो मात्रै डा. हेमराज पनेरु र डा. पन्तले विज्ञप्ति सार्वजनिक गर्दै बचाउन सक्ने सम्भावना न्यून रहेको बताएका थिए । विदेशमा रहेकी छोरी आइनपुग्दासम्म अस्पतालमा अधिकारीलाई कृत्रिम स्वासप्रस्वासको लागि भेन्टिलेटरमा राखिएको थियो । अधिकारीे वि.सं. १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुवा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका थिए । उनका श्रीमती ओमकुमारी र तीन छोरी छन्।
कानुन र अर्थराजनीतिका विज्ञ अधिकारीले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक अध्ययन गरेका थिए । महोत्तरीमा जन्मिएर विराटनगरलाई कार्यक्षेत्र बनाएका अधिकारी पछिल्लो समय राजधानीमा बस्दै आएका थिए । अधिकारी पञ्चायत अवधिका चर्चित कानुन व्यवसायीसमेत हुन्। वि.सं. २०१७ सालमा पीएचडी  गर्ने विचार गरेका अधिकारी तत्कालीन सोभियत सरकारले दिएको छात्रवृत्ति छोडेर राजा महेन्द्रको ‘कु’ विरुद्ध सघर्षमा होमिएका थिए । नेपालको राजनीतिमा त्यागी नेताको रुपमा चिनिने अधिकारीले चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताएका थिए । वि.सं. २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा उनी ८१ दिन नजरबन्दमा थिए । अध्ययनशील मानिने नेता अधिकारीले नेपालमा अद्योगीकरणका समस्या, मेरो जीवनयात्रालगायत कृति प्रकाशित गरेका छन् ।  जीवन यात्राको नयाँँ भाग पुस्तक भने प्रकाशन नहुँदै अधिकारी सदाका लागि बिदा भएका छन् ।
राजनीतिक यात्रा
वि.सं. २००८ सालमा राजनीतिमा आवद्ध भएका अधिकारीले तत्कालीन एमालेको नवौं महाधिवेशनमा लिखित रुपमै पार्टीको कुनै पनि नेतृत्वदायी कमिटीमा नबस्ने घोषणा गरेका थिए । अधिकारीले १६ वर्षको उमेरमा बनारबाट भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीतिमा आवद्धता जनाएका थिए । पञ्चायतविरुद्ध लामो सघर्ष गरेका अधिकारी २०४७ सालको संविधान  लेखन समितिका सदस्य हुन् । वाममोर्चाको तर्फबाट माधवकुमार नेपाल निर्मल लामासँगै अधिकारी संविधान लेख्ने आयोगका सदस्य बनेका थिए । ०४७ सालको संविधान लेखनमा उनको भूमिकालाई महत्वकासाथ हेरिन्छ । त्यसपछि माले र माक्र्सवादी एकता भएर नेकपा एमाले बन्दा अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । गिरिजाप्रसाद कोइरालाले टनकपुरको विषयमा राष्ट्रघाट गर्दा संसदमा लगातार सात घण्टा नारा लगाउने कामको अगुवाई अधिकारीले नै गरेका थिए । २०४९ सालमा एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीले ल्याएको ‘जनताको बहुदलीय जनवाद’ कार्यक्रम निर्माणमा अधिकारीको महत्वपूर्ण योगदान रहेको थियो । यो कुरालाई उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
२०५१ सालका चर्चित अर्थमन्त्री
२०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालीन एमाले सबैभन्दा ठूलो दल बन्यो । मनमोहन अधिकारी नेतृत्वमा बनेको एकल सरकारमा अधिकारी अर्थमन्त्री भए । नौ महिना मन्त्री हुँदा उनले दुईवटा बजेट पेश गरेका थिए । अधिकारीले महेश आचार्यले पेश गरेको बजेटलाई परिमार्जन गरेर पुसमा पहिलो कम्युनिस्ट बजेट पेश गरेका थिए । उनले  ०५२ असारमा अध्यायदेशमार्फत् पूर्ण बजेट पेश गरेका थिए । यो बजेमा अधिकारीले अगाडि सारेका आफ्नो गाउँ आफै बनाऔं, वृद्धा भत्ता, सामाजिक सुरक्षा, नौ स लगायतका नाराले लोकप्रियता पाएका थिए ।
अर्थमन्त्री अधिकारी
२०४७ सालमा संविधान आयोगका सदस्य भएका अधिकारी २०४८ पछि चार पटक सांसद निर्वाचित भएँ । पाँच पटक विभिन्न मन्त्रालय सम्हालेका अधिकारी उपप्रधानमन्त्री हुँदै कार्यवाहक प्रधानमन्त्रीसम्म भए । पहिलो पटक ०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको एकमना सरकारमा अर्थमन्त्री बनेका अधिकारी दोस्रो पटक २०५५ सालमा कांग्रेससँगको संयुक्त सरकारमा अर्थमन्त्री बने । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनले एमालेको तर्फबाट नेतृत्व गरेका थिए । २०६१ साल असार २१ गते उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाउँदा अधिकारीले सात दिनमै बजेट तयार पार्ने जिम्मेवारी पाएका थिए । अधिकारी २०६७ साल माघ २७ गते उपप्रधानमन्त्री बने । प्रधानमन्त्री झलनाथ खनालले अर्थ मन्त्रालय हेर्ने जिम्मासमेत अधिकारीलाई नै दिएका थिए ।  बजेटसँगै संसदमा पेश गर्नुपर्ने विधेयक अधिकारी स्वयम्ले संसदमा पेश गरे । तर कांग्रेसका तत्कालीन प्रमुख सचेतक लक्ष्मण घिमिरेले अधिकारीलाई अध्यादेश बजेट पेश गर्न नदिने बताए । संविधानमै आर्थिक बजेट अर्थमन्त्रीले पेश गर्ने उल्लेख भएको भन्दै विरोध भएपछि ०६७ माघ ३० गते अधिकारीले उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए ।