तमानखोलामा आयोडिन नुनबारे सचेतना अभियान

बागलुङ, २२ फागुन – साल्टट्रेडिङ कर्पोरेशन बागलुङले तमानखोला गाउँपालिकाका बिभिन्न स्थानमा पुगेर आयोडिन युक्त नुनबारे सचेतना अभियान चलाएको छ । शाखाले बुङगादोभान, तमान र खुंखानीका बिद्यालय तहमा पुगेर आयोडिनको आवस्यकता बारे जानकारी दिनुको साथै बालबालिका लाई झोला, टिशर्ट लगायतका सामाग्री बितरण गरेको हो । आयोडिनको कमीले हुने समस्याबारे थाहा नपाएर धेरै गाउँलेले अन्य नुन खाँदा अपांगता बढेको समेत पाएपछि यो अभियान चलाइएको शाखाका प्रमुख मनोज श्रेष्ठले बताए । श्रेष्ठले ती बिदालयमा दुई बालबालिकाको चिन्ह अंकित ४० थान झोला, ३५ थान सामान राख्न मिल्ने झोला, शिक्षक र बिद्यार्थीका लागि आयोडिन युक्त नुनको प्रचार गरिएको टिशर्ट पनि बितरण गरिएको हो । बिषेश गरी गलगाँड आउने, अपांगता हुने, हातखुट्टा लुलो हुने जस्ता समस्या आउने भएकोले आयोडिन मिसाएको नुन खानुपर्छ ।

अघिल्लो बर्ष आयोडिन युक्त नुनको नाउँमा आयोडिन शुन्य भएको नुन समेत यहाँ बिक्री भएको, तोकिएको मूल्यभन्दा महंगोमा बेचिएको भेटिएको थियो । नामै नसुनेका कंपनीले बेचेका त्यस्ता नुनबाट स्थानीय बासिन्दा ठगिएकोले सचेतना अभियान चलाउनु परेको उनले बताए । आयोडिन नुन नभएकै कारण घरघरमा अपांगता भएकाहरु धेरै भेटिएको गुनासो पनि आएको थियो । नक्कली कम्पनीले जनतालाई ठग्ने र आयोडिन खानबाट बञ्चित गर्न नदिन बिद्यालय तहका बालबालिका सचेत बन्नुपर्ने उनले बताए । बालबालिकाहरु सचेत भएमा अभिभावकलाई पनि घरघरमा पुगेर सचेत बनाउन सक्ने उनको भनाई छ । तमानखोला गाउँपालिकाको वडा नं. ५ खुंखानी र ६ को नर्जाखानीमा यो समस्या बढी भएको भेटेपछि चासो बढाउन अभियान लागिएको वडा अध्यक्ष हिराबहादुर रसाईलीले बताए । कार्यक्रममा विद्यालयका सरोकारवाला उपस्थित थिए ।