तातोपानी कुण्डमा डुबुल्की मार्दै नेपाली कांग्रेसका नेताहरु : आनन्द आयो-देउवा, अलौकिक अनुभूति-पौडेल

म्याग्दी, २५ फागुन – नेपाली कांग्रेसका सभापति एवम् भुतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिवार प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको तातोपानीकुण्डमा डुबेर आनन्द लिएका छन् । नेपाली कांग्रेस म्याग्दीको कार्यालय जि.पि. स्मृति भवनको उद्घाटनका लागि म्याग्दीको सदरमुकाम बेनी आएका नेता द्धयले तातोपानीमा डुबेर बाहिर निस्केपछि म्याग्दीको तातोपानी प्राकृतिक उपचारको केन्द्र भएको बताए । बेनी नगरपालिका ४ सिंगातातोपानीस्थित प्राकृतिक चिकित्सालय तातोपानी कुण्डलाई प्राकृतिक चिकित्साको क्षेत्रमा विश्वमा चिनाउनु पर्ने बताउँदै सभापति देउवाले यस्ता प्राकृतिक स्रोतहरुको संरक्षण र प्रवद्र्धनमा राज्यले चासो दिनुपर्ने बताए । नेपाली कांग्रेसले यस्ता स्रोतहरुको संरक्षण र प्रवद्र्धनका लागि माथिल्लो निकायबाट नै पहल गर्ने प्रतिवद्धता पनि जनाए । तातोपानी कुण्डमा डुबेर बाहिर निस्केपछि सभापति देउवाले आफूलाई निकै आनन्द आएको प्रतिक्रिया दिए ।

त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा डुबेपछि आफूलाई स्वर्गिय आनन्दको अनुभूति भएको बताउँदै प्रकृतिले दिएको यस्तो अमूल्य बरदानको भरपूर फाइदा स्थानीलयले लिनुपर्ने बताए । सभापति देउवाले तातोपानी कुण्डको अवलोकन गर्नुका साथै तातोपानी कुण्ड व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयवासिन्दाहरुसंग प्राकृतिक चिकित्सालय तातोपानीको जानकारी लिए । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले सभापति देउवालाई तातोपानी कुण्डको महत्व र यसको व्यवस्थापनको बारेमा जानकारी गराएका थिए । सभापति देउवाले तातोपानी कुण्डको संरक्षण र व्यवस्थापनका लागि नेपाली कांग्रेसले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी म्याग्दी नदीको कटानका कारण समस्यामा परेको तातोपानी बजारको संरक्षणका लागि पनि पहल गर्न सम्वन्धित निकायमा पहल गर्नेे उनले जानकारी गराए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा स्नान समेत गरे । यहाँ ७ दिनसम्म लगातार स्नान गरेमा ग्याष्ट्रिक, गानोगोला, चर्मरोग, सर्केमर्केको,प्यारालाइसेस लगाएतका रोगहरु निको हुने गर्दछन् । म्याग्दी नदीको किनारमा अवस्थित मूलबाट नै ५७ डिग्री सेल्सियस तापक्रमको विरेनुन र गन्धक सहितको सुगन्ध आउने तातोपानी कुण्डमा स्नान गर्न गत मंसिरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामवहादुर थापा पनि आएका थिए । म्याग्दीमा आउने उच्च पदस्थ व्यक्तिहरु सिंगा तातोपानी कुण्डमा पनि आउने गरेका छन् । प्राकृतिक चिकित्सालयको अवलोकन पछि सभापति देउवा बेनीस्थित नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयको उद्घाटन गर्ने क्रार्यक्रम छ ।