सिलाई कटाई र पलम्बर सम्बन्धि ४ महिने तालिम सुरु

बागलुङ, २६ फागुन – युवाहरुलाई स्वरोजगार बनाउनका लागि यहाँको एक गैह्र सरकारी संस्थाले ४ महिने सिलाई कटाई तथा पलम्बर तालिम सुरु गरेको छ । ओएनजिडि र फिनेलएनजिवको सहयोगमा स्थानिय धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्र (डिआईआरडिसी) बागलुङले चौथो चरणको तालिम सुरु गरेको हो । सिटिईभिटी सँग समन्वय गरेर यस भन्दा पहिले पनि केन्द्रले तीन चरणका तालिमहरु सम्पन्न गरीसकेको छ । तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले सिपमुलक क्षेत्रमा पछिल्लो समय युवाहरुको आकर्षण बढ्दै गएको भन्दै खुसी व्यक्त गरे । क्षमतावान नागरिकले देश बिदेश जुनसुकै ठाउँमा रोजगारी पाउने भन्दै ढुंगानाले सिलाई कटाई र प्लम्वरको क्षेत्रमा प्रसस्त रोजगारीका सम्भावना रहेको बताए ।

सिकेको सिपलाई व्यवहारमा उतारेर आत्म निर्भर बन्न ढुुंगानाको सुझाव थियो । कार्यक्रममा सहयोगी संस्थाका परियोजना प्रबन्धक जुली डेनेम, पत्रकार कोपिला कँडेल, सहभागीको तर्फबाट कल्पना बिक लगायतले बोलेका थिए । तालिममा ५० जना युवा युवतीको सहभागीता रहेको छ । यस अघि सञ्चालन भएका तालिमहरुबाट कयौं युवाहरुले रोजगारी पाएकाले तालिम प्रति आकर्षण बढेको परियोजना संयोजक शालिग्राम शर्माले बताए । यस अघि तीन चरणमा सञ्चालन भएको तालिमबाट १ सय १४ जनाले सिप सिकेका छन् । सिटिईभिटीले तालिममा सहभागीहरुको सिप परिक्षण गरेर योग्यताको प्रमाणपत्र प्रदान गर्ने गरेको छ । अहिले सम्म सिप परिक्षण पश्चात ६० जनाले प्रमाणपत्र पाईसकेका छन भने बाँकीको परीक्षा भई नतिजा आउने क्रममा रहेको छ । आईतवार भएको उद्घाटन कार्यक्रम केन्द्रका अध्यक्ष केवी राना मगरको अध्यक्षता, परियोजना व्यवस्थापन शालिकराम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।