सहयोग जुटाएर सडक निर्माण

बागलुङ, २८ फागुन – जिल्लाको ताराखोला गाउँपालिका–१ का स्थानीयले सहयोग उठाएर सडक निर्माण थालेका छन् । गाउँपालिका–१ मा पर्ने माझखर्कदेखि आरुखोला सम्मको दुई किलोमिटर सडक गाउँपालिकाको केही अनुदान र स्थानीयको आर्थिक सहयोगमा निर्माण थालिएको हो । चालु आर्थिक बर्षको बजेटमा गाउँपालिकाले उपलव्ध गराएको दुई लाख रुपैयाँ बजेटले अपुग हुने भएपछि स्थानीयले चार लाख रुपैयाँ सहयोग संकलन गरेका छन् ।

पाँच किलोमिटर सडकमध्ये यसै आर्थिक बर्षमा निर्माण गर्न लागिएको दुई किलोमिटर सडकका लागि रकम अपुग भएपछि चार लाख रुपैयाँ सहयोग संकलन गरिएको सडक निर्माण समितिका अध्यक्ष यमकान्त गैरेले बताए । कुल ६ लाख रुपैयाँको लागतमा सडक निर्माण थालिएको हो । सडक निर्माण कार्यको बयोबृद्ध समाजसेवी धनपती गैरेले उद्घाटन गरेका थिए । गैरेले सडक निर्माणका लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको निर्माण समितिका सचिब खिमानन्द कँडेलले बताए ।

उनीसहित सडक प्रभावित क्षेत्रका यमकान्त गैरेले ५१ हजार १ सय ५१ , प्रेम प्रसाद गैरे ले १५ हजार, नन्दलाल गैरेले ५ हजार ५ सय रुपैयाँ सहयोगको घोषणा गरेका छन् । प्रभावित क्षेत्रका सर्वसाधारणले सडक बन्न लागेको खुसी ब्यक्तगर्दै सहयोग गर्ने क्रम जारी रहेको निर्माण समितीका सचिब कँडेलले जानकारी दिए । स्थानीयले सरकारको मात्रै मुख ताक्ने प्रबृत्तिको अन्त्य गर्दै आफ्नो ठाउँको बिकासका लागि आँफुले पनि केही लगानी गर्ने भन्दै सहयोग गरेका हुन् । उनीहरुले सडक बन्दा आँफैलाई फाईदा हुने भएकाले सहयोग गरेको बताउँछन् ।