दुई लाखको अक्षयकोष स्थापना

बागलुङ, ३० फागुन – आफ्ना बाबु आमाको स्मृतिमा यहाँको एक परिवारले दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । बागलुङ नगरपालिका–२ का कुल प्रसाद उपाध्यायको परिवारले बानपा भित्रैका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बार्षिक रुपमा छात्राबृत्ति वितरण गर्नेगरी अक्षयकोष स्थापना गरेका हुन् ।

आफ्ना स्वर्गीय बाबु टंकनाथ उपाध्याय र आमा लिलावती उपाध्यायको स्मृतिमा बर्षिक पुण्यतिथीको अवसर पारेर २ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरीएको उपाध्यायले बताए । उनका भाई टंकनाथ शर्माको सहभागीतामा उपाध्यायले अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषको व्याज रकमबाट बानपा–४ मा रहेको मुक्तिनाथ वेद विद्याश्रम आधारभुत विद्यालयका एक जना उत्कृष्ट विद्यार्थी र सुस्त मनःस्थिती भएक विद्यार्थीहरुले अध्ययन गर्दै आएको बागलुङ बिषेश बाल कक्षा आधारभुत विद्यालयमा उत्कृष्ट अंक ल्याउने एक जना छात्रालाई छात्राबृत्ति वितरण गरीने छ ।

आफ्ना बाबु अध्यात्मीक चिन्तनमा रुची राख्ने भएकाले विद्याश्रमका विद्यार्थीलाई छात्रा बृत्ति वितरण गर्ने गरी कोष खडा गरीएको उनले बताए । त्यस्तै आमाको जिवनको उत्तरार्धमा शारीरीक समस्या देखा परेकाले उनको स्मृतिमा बागलुङ बिशेष बालकक्षाका छात्रालाई छात्रा बृत्ति दिने गरी अक्षयकोष बनाईएको परिवारले जनाएको छ ।