विजयपुर पुल र बेथिति

पोखराको विजयपुर पुल जीर्ण बनेको छ । करोडौँको लगानीमा बनेको पुल जीर्ण बनेपछि त्यसको मर्मत थालिएको छ । विजयपुर खोलामाथिको यो पुल पोखराको मात्र नभएर गण्डकी र धौलागिरि अञ्चलको प्रवेश द्धार हो । यही पुल हुँदै दैनिक हजारौँ गाडीहरु पोखरा भित्रने र बाहिरिने गर्छन् । पोखराको मूख्य नाकामा भएको पुल जीर्ण बनेपछि अहिले सेतीमा वैकल्पिक बाटो बनाइएको छ । पुलमाथिबाट १० टनभन्दा बढी भार बोक्ने ठूला गाडी हिँड्न निषेध गरिएको छ । पुलमा रंगरोगन गर्ने क्रममा पुल जीर्ण बनेको पत्ता लाग्यो । समयमै पुलको अवस्था जानकारी भएकाले ठूलो दुर्घटना हुन पाएन । २०५९ सालमा बोलपत्र आह्वान गरिएको पुल को २०६४ सालमा निर्माण सम्पन्न भयो । बीटी इलाइट बीपी एड्भेन्चर जेभी कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको पुलको त्यपछि एकपटक पनि मर्मत गरिएन । यो पुलको भारबहन क्षमता र निर्माणको गुणस्तरबारे पनि चर्चा गरिएन । पुल मर्मत होला । तर, पुलको विषयले नेपालको भौतिक संरचना निर्माणमा हुने चरम लापरवाही र भ्रष्टाचारको मुद्दालाई पुनः स्मरण गराएको छ ।
भौतिक संरचना निर्माणमा हुने लापरवाहीको घटना यो पहिलो होइन ।

निर्माण क्षेत्रमा बदनाम भएको पप्पु कन्ट्रक्सन होस् वा राजधानीको सडक निर्माणका ठेकेदार नै किन नहुन् ? उनीहरुको अनियमितताको कथा लामो रहेको छ । ठेक्का लिएर समयमा सम्पन्न नगर्ने मात्र हैन, गुणस्तरहीन काम गरी राज्यलाई करोडौँको क्षति पु¥याउने निर्माण कम्पनीहरु यहाँ प्रसस्त रहेका छन् । तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा गुणस्तरहीन काम गर्नहरु डण्डका भागिदार बन्नुपर्ने हो । राज्यले यस्तो अपराध गर्नेहरुलाई डण्डित गर्नुपर्ने हो । तर, सत्ता र शक्ति केन्द्रका नजिक रहेका उनीहरु जघन्य अपराध गरे पनि मुक्ति पाउँछन्, संरक्षित हुन्छन् । यो नै नेपालको सबैभन्दा ठूलो बिडम्वना हो । जबसम्म सत्ता र शक्तिकेन्द्रले गलत काम गर्नेहरुलाई संरक्षण गरिरहन्छन्,निर्माण क्षेत्रमा यस्ता अनियमितताहरु कायमै रहन्छन् । अतः निर्माण क्षेत्रमा देखिएको चरम विकृति अत्यको लागि राजनीतिमा शुद्धिकरण पहिलो र अनिवार्य सर्त हुन आउँछ । विधीको शासनसँगै गलत काम गर्नेहरुलाई दण्डित गर्ने परिपाटीलाई बलियो नबनाउने हो भने यहाँ अझ धेरै पप्पुहरु जन्मन्छन् । राज्यकोषको चरम दुरुपयोग गर्छन् अनि सत्ता र शक्ति रिझाएर राज्यको दोहन गरिरहन्छन् ।

अर्कोतर्फ, भौतिक संरचना निर्माण गर्दा दूरदृष्टिको कमी पनि बिडम्वनापूर्ण रहेको छ । विकशित राष्ट्रहरु कुनै पनि भौतिक निर्माण गर्दा वर्षौँपछि सम्मको लागि सोच्छन् । बहुउपयोगितामा ध्यान दिन्छन् । तर, नेपालमा भविष्यको आँकलन त के एक वर्षपछि के हुन्छ भन्नेबारे पनि सोचिदैन । अन्धाधुन्ध तरिकाले भौतिक संरचना बनाइन्छ । त्यसको उपयोगिता र मर्मतमा समेत ध्यान दिइँदैन । यसको ज्वलन्त उदाहरण भनेका नेपालका ग्रामीण भेगका सडकहरु नै हुन् । कुनै नापजाँचबिना बनाइएका कतिपय सडकहरु ‘काल’ बन्नुको कारण यही हो । विजयपुर पुल प्रकरणले भौतिक संरचना निर्माणमा हुने अनियमितता, दूरदृष्टिको अभाव तथा नियमित मर्मत सम्हारको विषयलाई सतहमा ल्याएको छ । राज्य र सरोकारवाला निकायहरुले अब भौतिक निर्माण क्षेत्रमा देखिएका व्यथिति नियन्त्रणमा ध्यान दिनैपर्छ । भौतिक निर्माणमा देखिएका बिकृति अन्त्य हुनैपर्छ ।