निजी क्षेत्र गुहार्दै महानगर

पोखरा, १ चैत – पोखरा महानरपालिकाले दीर्घकालीन महत्वका केही परियोजना निर्माणमा निजी क्षेत्र गुहारेको छ । महानगरले सराङकोट पर्यटन पूर्वाधार विकास परियोजना, सेतीखोँच साहसिक पर्यटन पूर्वाधार विकास, पातले छाँगो (डेविसफल)का सिसाको पुलनिर्माण, फेवा र बेगनास तालमा जल खेल र नगरको होर्डिङ बोर्डहरु व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्न लागेको हो । सार्वजनिक निजी साझेदारी अवधारणमा टेकेर सुरु गरिएका यी परियोजनाहरुको लागि महानगरले आशयपत्र आह्वान नै गरेको छ । निजी क्षेत्रले चैतको ५ गतेभित्र आफूले रुचाएको परियोजनाको आशयपत्र भर्न सक्ने महानगरले जनाएको छ ।

महानगरका बरिष्ठ अधिकृत तथा सार्वजनिक निजी साझेदारी परियोजनाका अनन्त प्रसाद कोइरालाका अनुसार महानगरले लामो सम्भाव्यता अध्ययनपछि यी क्षेत्रहरुमा निजी क्षेत्रसँग साझेदारीको आह्वान गरेको हो । सराङकोटमा निर्माण हुने संरचनाको लागि करिब ३० करोड लागतसहितको बिस्तृत परियोजना रिपोर्ट तयार भएपनि अन्य परियोजनाको लागतबारे कुनै अध्ययन भएको छैन । ‘हामीले निजी क्षेत्रसँग साभेदारी गर्ने हो, नाफा र जोखिम दुबैमा महानगरको साझेदारी रहन्छ’ उनले ढोरपाटनसँग भने, ‘कति लगानी गर्ने र कस्तो परियोजनाबाट नाफा हुन्छ भन्ने कुरा निजी क्षेत्रलाई नै थाहा हुन्छ ।’ उनका अनुसार हालसम्म विभिन्न परियोजनाको लागि १७ वटा कम्पनी र व्यक्तिहरुले महानगरबाट फाराम लगेका छन् ।

फेवा तालमा जल खेलकुदमा चासो दिनेहरु धेरै रहेका छन्भने होर्डिङ बोर्ड व्यवस्थापन लगायतका परियोजनामा पनि धेरैले चासो देखाएका छन् । आशयपत्रको मूल्याङ्कन सार्वजनिक निजी साझेदारी समितिले गर्नेछ । परियोजनाको लागि प्राविधिक क्षमता, जनशक्ति र पूँजीको आधारमा महानगरले साझेदार छनौट गर्नेछ । परियोजना स्वीकृत भएपछि लगानीको मोडल भने निजी क्षेत्रले नै बनाउनेछ । महानगरले सार्वजनिक निजी साभेदारी ऐन र विनियम नै बनाएर पर्यटकीय पूर्वाधारको क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्ने निर्णय गरेको हो । ‘महानगरको सीमित बजेटले ठूला पूर्वाधारमा लगानी गर्न सकिँदैन, त्यसैले हामीले निजी क्षेत्रसँग सहकार्यको हात बढाएका हौँ’, महानगरका बरिष्ठ अधिकृत कोइरालाले भने, ‘परियोजना कति वर्षको हुने भन्ने पनि पछि नै निर्णय हुन्छ ।’ सार्वजनिक निजी साझेदारीमा सामान्यतया एक वर्षदेखि ३० वर्षसम्मको लागि गरिन्छ ।

नेपालमा सार्वजनिक निजी साझेदारी खासै सफल छैन । काठमाण्डौं–हेटाँैडा द्रूतमार्ग यही मोडलमा बनाउने भनिए पनि त्यो बन्न सकेन । तर, भारतमा भने करिब १४ सय वटा परियोजनाहरु सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार संचालन भइरहेका छन् । छिमेकी भारतमा राजमार्गदेखि बसपार्क र अन्य संरचनाहरुमा निजी क्षेत्रको लगानी रहेको छ । पोखरा महागनरले अगाडि सारेका यी परियोजना कार्यान्वयनमा आए सार्वजनिक निजी साभेदारीतर्फ देशकै नमूना हुुने पोखरा महागनरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले बताए ।