अस्तव्यस्त बागलुङको काँङग्रेस

बागलुङ, १ चैत – २०७२ सालको फागुनमा कांग्रेसको जिल्ला अधिवेसनबाट नयाँ नेतृत्व आएको थियो । दिपेन्द्र थापा नेतृत्वको कांग्रेसले तीन बर्ष पुरा गरेको छ । काम गर्नेका लागि एकैबर्ष काफी हुन्छ । तर सभापति थापाले तीन बर्ष बित्दा कुनैपनि उपलब्धीमूलक काम नगरेको आरोप लागेको छ । सभापति थापाले मनोनित गर्न पाउने उपसभापति, सचिव, सहसचिव पनि मनोनित नगरेका हुन् । कांग्रेसको समिति सहजै चल्नका लागि दर्जनबढी बिभाग गठन गर्नुपर्ने प्रावधान छ । तर त्यो पनि नभएपछि पार्टीको गतिविधि अस्तव्यस्त भएको हो । सभापतिले एजेण्डा लगेपछि जिल्ला कार्यसमितिले निर्णय गर्ने तथा निर्णय हुन नसके सोझै नियुक्त गर्न पाउने सम्मको प्रावधानमा पार्टी प्रवेश समेत नगरेको टिप्पणी हुन थालेको छ । उनको कार्यकाललाई असफल कार्यकालको रुपमा टिप्पणी पनि हुन थालेको छ । तीन बर्षको अवधिमा केन्द्रीय पार्टी सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मा आएको कार्यक्रम व्यवस्थापनबाहेक अरु नभएको पूर्वसभापतिहरुले टिप्पणी गरेका हुन् ।

म्याग्दीको काममा आएको बेलामा कांग्रेसले यो मौका छोपेको थियो । कार्यक्रममा पनि प्रचार नगरेकोले सोचेजस्तो उपस्थिति नभएको गुनासो समेत बढेको छ । सभापति थापाले पदाधिकारी बाहेक संगठन समितिसहित प्रचार, कार्यसम्पादन मूल्यांकन, अनुगमन, अनुशासन, महिला सहितका भातृ संगठन र सुभेच्छुक संगठन हेर्ने र प्रशिक्षण समिति बनाउनु पर्ने थियो । तीन बर्षसम्म त्यो हुन नसकेको पूर्व सभापति हरिप्रसाद श्रेष्ठले बताए । ‘सभापतिको कार्यशैली एउटा गाउँ र वडा अध्यक्ष जति पनि फराकिलो भएन’ श्रेष्ठले भने, ‘संगठन बिस्तार, प्रचार र सभापतिले पाएको अधिकारबाट मनोनयन पनि नभएपछि अरु के आस गर्न सकिन्छ ?’ पार्टी संयन्त्रहरु निस्कृय भएको उनले टिप्पणी गरे । बर्तमान सभापति दिपेन्द्रबहादुर थापा निर्वाचित भएर आएपछिका स्थानीय तह, प्रदेश र संघिय संसदको निर्वाचनमा पार्टी पराजित भएको पूर्व पदाधिकारीहरुले टिप्पणी गरे ।

‘संसदीय निर्वाचनमा ६ वटै सिट हारियो’ पूर्व उपसभापति तथा थापाका प्रतिष्पर्धी जगदिशचन्द्र उपाध्यायले भने, ‘प्राविधिक कारणले हारिएको हो भनेपनि सबै उमेदवारसंग बसेर समीक्षा गर्न सक्नु पथ्र्यो’ उपाध्यायले भने, ‘जिल्ला कार्यसमितिको बैठकै नबस्ने, क्रियाशिल सदस्यता बितरणको तयारी समेत नहुने र आफ्नै व्यानरमा एउटा पनि कार्यक्रम नहुनुले पार्टीको अस्तित्व समेत देखिएन ।’ तीन बर्षमा आफ्नै व्यानरमा सभापति शेरबहादुर देउवा आएको कार्यक्रम मात्र भएको उनले टिप्प्णी गरे । प्रतिपक्षमा रहँदा सबैभन्दा धेरै संगठन बिस्तार गर्नुपर्नेमा एउटा पनि अभियान नचलेको उनले टिप्पणी गरे । ‘सभापतिले एकल मनोनित गरेका सदस्य पनि बैठक र जिल्ला तहका कार्यक्रममा देखिन पाईएन’ उनले भने, ‘रणनीति बनाएर अगाडि बढ्ने काम पटक्कै भएन ।’ महिला, बिद्यार्थी, युवा, ट्रेड युनियन लगायतका भातृ संगठनमा पनि पार्टीको कुनै प्रभाव नपरेको टिप्पणी बढेको छ । पूर्व सहसचिव गण्डकी थापाले पार्टी सुस्तमनस्थिति जस्तो भएर बसेको टिप्पणी गरिन् । ‘बिरामी भएकोले अब राम्रो उपचारै गर्नुपर्ने भयो’ उनले भनिन्, ‘आफ्नो खुट्टामा हिड्न नसकेको हो की भन्ने स्पष्ट भएको छ ।’ प्राविधिक कारणले निर्वाचन हारेपनि जिल्लाका ६ वटा स्थानीय तह र ६ वटै संसदीय निर्वाचन क्षेत्रमा उपबिजेता भएकोले जनताले गरेको आसा पुरा गर्न सक्नुपर्ने उनले बताईन् । बिकास निर्माण, जनताको अन्य सुखदुःख र दैनिकीमा कांग्रेस पुग्नुपर्नेमा चुकेको उनको टिप्पणी छ ।

त्यसो त पार्टी सचिव नवराज पौडेल पनि आफ्नै कार्यकालबाट सन्तुष्ट छैनन् । ‘आफ्नै कार्यकाल कसरी नराम्रो भनौं, तर म सन्तुष्ट हुन सकिन’ पौडेलले भने, ‘सबै ठाउँ अस्तव्यस्त भएर बसेपछि कतैपनि टाल्न सकिएन ।’ सभापतिले आफ्नै अधिकार प्रयोग नगरेपछि अरु काम गर्न कठिन हुने स्वभाविक भएको पौडेलले टिप्पणी गरे । गत बर्षको प्रदेश र संघिय संसदीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तालमेलमा निर्वाचनमा जाऔं भनेपनि सभापति लगायतले वास्ता नगरेपछि सबै सिट गुमाउनु परेको उनले गुनासो गरे । सभापति दिपेन्द्रबहादुर थापा भने राज्य पुनसंरचना, संविधान कार्यान्वयन लगायतका जटिलताले अलमलिनु परेको दाबी गरे । ‘टुक्रिन लागेको जिल्ला एक बनाउन भूमिका खेल्न सकियो, मेरै कार्यकालमा पुनसंरचनाको खाका पनि कोरियो’ थापाले भने, ‘केन्द्रीय सर्कुलर अनुसारका काम कारवाहीमा हामी पछाडि परेका छैनौं ।’ निर्वाचनको पराजयलाई भने गम्भिर रुपमा लिएको उनले बताए । बृहत समीक्षा गर्न नसकेको उनले स्विकारे । पदाधिकारी मनोनयन नगरेको र बिभाग नबन्दा ठूलै अप्ठ्यारो नपरेको उनले टिप्पणी गरे । २०७२ फागुन २८ गते कांग्रेस जिल्ला अधिवेसनबाट थापा निर्वाचित भएका थिए । तीन जना उमेदवार रहेकोमा पहिलो चरणमा मणीभद्र शर्मा बाहिरीएपछि थापाले उपाध्यायलाई पराजित गरेका थिए ।