विकासको काम गाउँबाटै –मन्त्री बस्नेत

बागलुङ, ४ चैत – भौतिक तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले बिकासको काम गाउँबाट सुरु गर्ने बताएका छन् । बागलुङको काठेखोला गाउपालिका–३ धम्जामा निर्माण हुन लागेको धम्जा स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारले कुल बजेटको ४५ प्रतिशत बजेट भौतिक क्षेत्रमा बिनियोजन गरेकाले बिकासको काम अगाडि बढिसकेको बताए । बस्नेतले यसैबर्ष काठेखोला गाउपालिका–१ अक्षेते–तंग्राम–धम्जा सडकको बिस्तृत परियोजना प्रतिबेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरे । भौतिक संरचना निर्माण गर्ने काम अगाडि बढेकाले अब स्थानीयले पनि उत्पादशील क्षेत्रमा लगानी बढाउनुपर्ने उनको सुझाव थियो । ‘बाटो कालोपत्रे मात्र भएर हुँदैन, डिपिआर तयार गर्नुअघि तपाईँहरुले पनि गाउँमा स्थानीय बस्तु उत्पादन गर्छौँ भनी प्रतिबद्धता व्यक्त गर्नुपर्छ’ उनले भने ।

बस्नेतले प्रदेशका ३६ वटा निर्वाचन क्षेत्रका हरेक एउटा निर्वाचन क्षेत्रमा सडक कालोपत्रे गर्ने काम सुरु भएको बताए । गाउँमा सडक निर्माण गर्दा उपभोक्ता समितिका पदाधिकारीहरुले डोजरमा कमिसन माग्ने गरेको पाइएकाले यसरी रकमको दुरुपयोग गरेकारबाही गरिने उनले उद्घोष गरे । कार्यक्रममा बोल्दै सांसद ईन्द्रलाल सापकोटाले यसैबर्ष जिल्लामा ४ वटा पक्की पुलको शिलान्यास हुन लागेको बताए । धम्जाहुँदै ताराखोलासम्म पुग्ने सडक स्तरोन्नति गर्ने कामलाई प्राथमिकतामा राखेको उनको भनाई थियो । कार्यक्रममा नेकपाका नेता हीराबहादुर केसी, काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बोेलेका थिए । १ करोड ८० लाख रुपैयाँ लागत स्टिमेट गरिएको भवन निर्माणको लागि जुम्ली र आचार्य संयुक्त निर्माण कम्पनीले १ करोड ४५ लाख रुपैंयामा ठेक्का लिएको छ । कम्पनीले १८ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने छ । स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर, तालीम कक्ष, परामर्श कक्ष, ल्याब र आवाससहित १८ कोठे २ तले भवन बन्नेछ । २०७२ असारमा ठेक्का सम्झौता भएपनि धम्जा देउराली वा सायकटेरा मध्य एक ठाउमा बनाउने भन्ने बिषयको बिवादले ३ बर्षसम्म काम रोकिएको थियो । संघीय सरकार, प्रदेश र स्थानीय सरकारको लगातारको पहल पछि सायकटेरामा स्वास्थ्य ईकाई स्थापना गर्ने र देउरालीमा स्वास्थ्यचौकी निर्माण गर्ने सहमती पछि आईतबार शिलन्यास भएको हो । आईतबार नै सायकटेरामा निर्माण हुने स्वास्थ्य ईकाई तथा सामुदायिक बहुउद्देश्यीय भवनको पनि मन्त्री बस्नेतले शिलान्यास गरेका छन् । चालू बर्षका लागि ३० लाख ३७ हजार रुपैयाँमा भुई तलासम्मको काम सक्ने गरी तिलक निर्माण सेवा संग सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए ।

यो भवन २ तलाको बन्नेछ । आ.व ०७७÷७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको यस भवनलाई २ करोड ६५ लाख लाग्ने जनाइएको छ । यसैबीच आईतबार धम्जामा निर्माण गरिने आलु चिस्यान केन्द्रको शिलान्यास गरिएको छ । नेपाल सरकारको आलु जोनमा सुचिकृत काठेखोला गाउँपालिकाका अधिकांश वडाबासी आलु फलाएर बर्षभरीको खर्चको जोहो गर्छन् । यस बर्ष गाउपालिकाले ८ लाख रुपैयाँ बिनियोजन गरी काम अगाडि बढाएको छ । गाउपालिकाले सुन्तला भण्डारणका लागि पनि पूर्वाधार निर्माणको तयारी गरेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । धम्जामा आलु बाहेक सिमी, मुला लगायतका कृषि फसल प्रशस्त उत्पादन हुन्छ । सडकको सहज पहुँच नहुदा किसानले उत्पादन गरेका उपज बजार पठाउन सकेका छैनन् । कार्यक्रममा उपस्थित मन्त्री बस्नेत सहित सांसद ईन्द्रलाल सापकोटा, गाउपालिका अध्यक्ष अमर थापा लगायतले सबै ग्रामीण र कृषि सडकहरु स्तोरन्नतिगर्दै किसानका उत्पादनलाई बजारिकरणमा सघाउने प्रतिबद्धता जनाएका थिए ।