बेनी–जोमसोम खण्डमा ४० प्रतिशत प्रगति

म्याग्दी ४ चैत – पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको ट्र्याक निर्माणले पूर्णता पाएको छ भने सडकलाई फराकिलो बनाउने र कालोपत्र गर्ने कार्यले गति लिएको छ । बेनी–जोमसोम खण्डमा अहिलेसम्म ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । कुल ७६ किलोमिटरको बेनी–जोमसोममा ४ वटा र एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा ७ वटा प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको छ ।
समग्रमा बेनी–जोमसोम–कोरला सडक आयोजनाको करीब ५५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नतिको काम सकिएको छ । बेनी–जोमसोम सडक नालीसहित ११ किलोमिटर फराकिलो र कालोपत्रे सहितको हुनेछ । जोमसोम–कोरला सडक ११ मिटर चौडा हुनेछ र नाली, ग्याबिन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल बिछ्याइने छ । तीन वर्षदेखि सञ्चालनमा रहेको यस आयोजनाले आगामी २०७७ असारसम्म सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

पक्की पुल बन्दै
‘‘बर्खायाममा बाढी पहिरो र कटानका कारण सडकको काम केही सुस्ताएको थियो, मङ्सिरदेखि सडक फराकिलो बनाउने लगायतका कामले तीब्रता पाएको छ, समय तालिका बनाएर यातायातका साधन आवागमनलाई व्यवस्थित गरेर काम गरिरहेका छौँ” – उहाँले भन्नुभयो । कुल साढे ७ अर्ब लागत अनुमान गरिएको यस आयोजनामा १ अर्ब ७५ करोडको ठेक्का लगाउने काम बाँकी छ । बेनी–जोमसोम सडकका लागि विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । भैरहवा–सुनौली नाकाबाट शुरु भएको कालीगण्डकी करिडोरको सडक बुटवल, पाल्पा, गुल्मी हुँदै बागलुङसम्म ल्याइएको छ भने म्याग्दीको बेनीबाट मुस्ताङको कोरलासम्म र बेनीदेखि पर्वत हुँदै र बेनीदेखि सिधै बागलुङसम्म यस अघि नै सडक निर्माण भैसकेको छ ।

यस सडकको कुल लम्बाइ ४३५ किलोमिटर रहेको छ । यो करिडोर व्यापारिक मार्ग सञ्चालनमा आए सँगै यस क्षेत्रमा चिनियाँ र भारतीय पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । कोरला नाकासम्मको सडक खण्डमा विभिन्न ३२ ठाउँमा पक्की पुल निर्माण गरिने भएको छ । कालिगण्डकी नदी र यसका सहायक साना–ठूला नदीहरुमा पुल निर्माण गर्नुपर्ने स्थानहरुमध्ये डोलिडारले जोमसोमस्थित कालीगण्डकी नदीमा पुल निर्माण सम्पन्न गरिसकेको छ । चैलेस्थित कालीगण्डकी नदीमा पक्की पुल निर्माण भैरहेको छ । आयोजनाका इन्जिनीयर जगत प्रजापतिका अनुसार पुल निर्माण गर्ने विभिन्न २८ मध्ये १२ स्थानमा अहिले पुल निर्माण कार्य जारी रहेको छ ।