बागलुङ–पर्वत जोड्ने नेपालकै लामो पुल बनाउने काम सुरु

६ करोड ९१ लाख रुपैयाँको लागतमा पुल निर्माण हुने

बागलुङ, ५ चैत – बागलुङ सदरमुकामदेखी पर्वतको पाङ जोड्ने नेपालकै सबैभन्दा लामो पुलको निर्माण कार्य सुरु भएको छ । कालिगण्डकी नदीमाथि निर्माण हुने ५६७ मिटर लामो पुल निर्माणको काम सोमबारदेखी सुरु भएको हो । ‘सस्पेन्सन’ पुल बिभाग मार्फत भएको खुल्ला बोलपत्र प्रकृयाबाट कामको जिम्मा पाएको थानी÷विएलटि÷हिमशिखर जेभी निर्माण कम्पनीले संयुक्त रुपमा काम सुरु गरेका हुन् । पुलको शिलान्याश हुन बाँकी छ । पुलको बागलुङ तर्फको भुभागमा संरचना निर्माणको काम थालिएको निर्माण शिमशिखर कण्ट्रक्सन प्रालिका प्रमुख नरहरी खड्काले बताए । आगमी दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी तीन कम्पनीले संयुक्तरुपमा कामको जिम्मा पाएका थिए ।

६ करोड ९१ लाख रुपैयाँको लागतमा पुल निर्माण हुने छ । ‘२०७७ को असार मसान्तसम्म काम सक्ने लक्ष्यका साथ काम सुरु गरेका छौं’ खड्काले भने ‘कुनै अवरोध नभए समयमै कम सकेर हस्तान्त्रण गछौं ।’ नेपालमा ‘सस्पेण्डेड’ पुल ३ सय ६० मिटर भन्दा लामो पुल बन्न लागेको यो नै पहिलो पुल हो । अन्य प्रबिधिका पुलहरु धेरै बनेका भएपनि ‘सस्पेण्डेड’ पुल पहिलो पटक बागलुङ र पर्वत जोड्ने गरी बन्न लागेको ‘सस्पेन्सन’ पुल बिभागका इञ्जिनियर टोप बहादुर बानियाले बताए । ‘हामिलाई जानकारी भएसम्म ‘सस्पेण्डेड’ यति लामो दुरीको बन्न लागेको एसियामानै पहिलो हो’ बनियाले भने ‘चीनबाट लठ्ठा तान्ने ‘विइन्च’ मेसिन खरिदको प्रकृया अघि बढेकाले यो काम सम्भव छ ।’ यो प्रबिधिमा पुल निर्माण गर्नका लागि लठ्ठा तान्ने मेसीन खरिद गर्ने प्रकृया अर्थ मन्त्रालयबाट अघि बढेकाले काममा सहजता आउने निर्माण कम्पनीले जनाएको छ । अर्थमन्त्रालयले पुल निर्माणका लागि आवश्यक पुल निर्माण प्रविधि खरिदका लागि सहमती दिएपछि पुल निर्माणको कामले गति लिएको थियो ।

बागलुङ नगरपालिका–१ सहिद पार्क र कुश्मा नगरपालिका– १ पाङ अदुवावारी जोड्नेगरी निर्माण गर्न लागिएको पुल १६० मिटर अग्लो हुने छ । २०५९ सालदेखि पुल निर्माणको चर्चा चलेपनि लामो दुरी भएकाले लठ्ठा तान्न समस्या हुने भन्दै अध्ययन प्रक्रियामै रोकिएको थियो । बागलुङ नगरपालिकाको पहलमा तीन महिना अगाडि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले पुनः सर्वेक्षण गरी पुल निर्माणमा आवश्यक लठ्ठा तान्ने मेसिन खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो । अर्थ मन्त्रालयले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरिद गर्न ४० लाख रुपियाँ बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया सुरु भएको भएको थियो । मेसिन आगामि असार मसान्त भित्र नेपाल आई पुग्ने छ ।