सांसदको शैक्षिक जागरणको पक्षलाई नियाल्दा

जीवनका भोगाइलाई शिक्षाका प्रारुप विद्यार्थीका माझमा छाडेका पूर्व संविधानसभा सदस्य तथा सांसद नरबहादुर थापामगर आफुले शिक्षा क्षेत्रमा गरेको योगदानलाई राजनीतिमा सक्रिय हुन थालेपछि पनिओझेलमा पर्न नदिन चाहान्छन् । इतिहासलाई लिपिबद्ध गर्न आधिकारिक योजना नबनेको तथा प्रकाशकको आखाँमा नपरेको अवस्थामा शिक्षा क्षेत्रको मात्र नजरमा केन्द्रित भै शैक्षिक जागरणको पक्षलाई यो आलेखामा खोतल्ने काम भएको छ । आशा छ थप जिज्ञासु पाठकले अनुसन्धान गरी आमरुपमा विस्तृत गरेर पुर्णकार बनाउने काम बाँकी नै हुनेछ । शिक्षाले अध्यारो भविष्य लाईकोर्न,उज्वल मार्गचित्र बनाउन अर्जुनदृष्टि खोल्ने काम गर्दछ । शिक्षालाई विगतको तुलनामा सचेतनामुलक र सर्वभसुलभ माने पनि विकट क्षेत्रमा अझै शिक्षाको विकास हुन बाँकी नै छ ।

नेपालको इतिहासमा सुधारउन्मुख पञ्चायतकालको समयमा बागलुङको जिल्ला पञ्चायत सभापति करिब १८ वर्ष काम गरेका स्वर्गीय रणसिंङ थापामगर (साविकको बागलुङ जिल्ला भकुण्डे गाउँ विकास समिति वडा नं. ७ दह हाल बागलुङ नगरपालिका १० भकुण्डे,दह ) को जन्म स्थानमा मा वि.स.२०१४ साल वैशाख महिना १० गते स्व.बुबा उजिरसिंह थापा मगर र आमा श्री लिला थापा मगरको कोखबाट जन्मेका नर बहादुर थापा मगरका भाइ एक र एक बहिनीको स्वर्गवास भइ सकेको अवस्थारहेको छ । उनीका साथमा श्रीमति माया थापामगर, एक छोरी प्रिङका थापा हाल विवाहित, दुई छोरा रुपक थापामगर र दिपक थापामगर सहितबुहारी तथा तिन नातिको परिवारमा हाल रहेका छन् ।

वि.स. २०२७ सालमा चौतारे डाडा प्राथमिक विद्यालय भकुण्डेमा प्रारम्भीक शिक्षा सुरुवात गरी कक्षा ५ सम्म पढे । चौतारे डाडा प्राथमिक विद्यालयमा स्व.डन्ड बहादुर थापा मगर, स्व.पदम बहादुर थापा, धनि प्रसाद शर्मा शिक्षकहरुले आफुलाई अध्यापन गरेको हालको समयमा पनि सम्झनामा रहिरहेको छ । वि.स. २०३२ सालमा एस.एल.सी. पास विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङ बजारबाट गरे । आफुसँग अध्ययन गरेका थुप्रै साथीहरु भारतीय सेनामा भर्ना,नेपाल प्रहरी,नेपाली सेनामा भर्ना भएपनि शैक्षिक जनशक्तिको अभावले गर्दा एस.एल.सी. पास वि.स.२०३२ सालमा गरे लगत्तै वि.स.२०३३ साल भदौ ९ गते हालको धुल्लुलिवा माध्यमिक विद्यालय,धुल्लुबाँस्कोट (स्थापना वि.स.२०१६ साल फागुन ७ गते) बागलुङमा शिक्षक हुन पुगे । धुल्लुबाँस्कोट गाउँ भैरवस्थान, कुश्मीशेरा, राङखानी हुँदै पैदलयात्रा मार्फत तरिकाले जानुपर्ने हुन्थ्यो । हाल भने कच्ची मोटरबाटो निर्माण भएकोले छोटो र छिटो तरिकाले जाने बाटो थिएन । सो विद्यालयमा अध्यापन गर्ने समयमा धुल्लुबाँस्कोट गाउँमा शिक्षाको जागरण गराउन र थप कक्षा सञ्चालनको लागि देउसीभैलो खेली आर्थिक सहयोग संकलन गरेको मिठो सम्झना रहेको छ । विद्यालयमा पढन आउने विद्यार्थीहरुलाई खोजी खोजी ल्याउने गरेको र अभिभावकले छोराछोरीलाई पढाउन भन्दा कामकाज गराउनमा बढी लगाउने गरेको समय थियो । तर आजभोलि अभिभावकहरु बालबालिका हरुलाई अध्ययन गराउन बढी सचेत भएको समय छ ।

धुल्लुबाँस्कोटको विद्यालयमा ६ महिना अध्यापन गरेपछि वि.स. २०३९ सालमा हालको भैरव माध्यमिक विद्यालय भकुण्डे (स्थापना वि.स.२०११।११।११) मा सरुवा भै आउनु भयो । भैरव प्राथमिक विद्यालय भकुण्डेको छोटो अध्यापन पछि महाविद्याजन प्राथमिक विद्यालय रायडाडामा सरुवा भै अध्यापन गराउनु भयो ।वि.स. २०३९ सालमा प्रविणता प्रमाण तह महेन्द्र बहुमुखी क्याम्पस बागलुङबाट पास समेत गरे । महाविद्याजन प्राथमिक विद्यालय रायडाडाको कक्षा वृद्धिका लागि देउसी,भैलो खेलेर आर्थिक सहयोग संकलन गरेको अनुभव समेत छ ।

हालको महाविद्याजन माध्यमिक विद्यालय रायडाडा (स्थापना वि.स.२०१८।११।२८ गते ) मा आफुले पढाएका विद्यार्थीहरुले उच्च पद हासिल गरेको र भेटघाटमा उच्च सम्मान गरेको पाउदा खुशी लाग्ने गरेको बताउँछन । रायडाडाबाट सरुवा भै वि.स.२०४२ सालमा आफुले प्रारम्भीक शिक्षा आर्जन गरेको विद्यालय चौतारे डाडा प्राथमिक विद्यालय (स्थापना वि.स. २०२२ सालमा स्थापना भई शिक्षाबाट स्वीकृत प्राप्त भएको मिति वि.स.२०२९।८।१५ गते) मा अध्यापन समेत गर्ने शिलशिला बन्यो । त्यही विद्यालयमा शिक्षण गरिरहेको समयमा वृति विकासको अवसरको खोजीको क्रममा सेभ द चिल्ड्रेन, परियोजनामा काम गर्ने अवसर मिल्यो । सो परियोजनामा काम गर्ने समयमा शिक्षा र स्वास्थ्य क्षेत्रमा शिक्षक, अभिभावक, विद्यार्थीहरुलाई सचेतना जगाउने कार्यक्रममा सहभागी हुने मौका मिल्यो । परियोजनामा काम गर्ने शिलशिलामा आफनो योग्यतालाई बढाउने औपचारिक तथा अनौपचारिक अध्ययनसँगै वि.स. २०४५ सालमा महेन्द बहुमुखी क्याम्पस बागलुडबाट स्नातक तह नियमित क्याम्पस नगई स्वअध्ययनमा बढी केन्द्रित भइ पास गर्ने अवसर समेत मिल्यो । दिउसो शिक्षकको रुपमा विद्यालयमा अध्ययन गराउने र गाउँमा शिक्षित जनशक्तिको अभाव भएकोले रातको समयमा जिल्ला शिक्षा कार्यालयबाट संचालित अनौपचारिक शिक्षा समेत पढाउने गरेको अनुभव रहेको बताउनुहुन्छ । अनौपचारिक शिक्षणको अनुभवबाट पनि थुप्रै महिला दिदी बहिनीहरुलाई साक्षर बनाउनमा योगदान गरेको बताउदै आजभोलि सरकारी तथा निजी विद्यालयहरुको बढदो विकासले दु्रत गतिमा शिक्षाको विकास भएकोले साक्षर जनशक्तिमा हवातै वृद्धि भएको छ ।
सेभ द चिल्ड्रेनमा २०५४ साल सम्म काम गर्ने अवसर मिल्यो । भैरव माध्यमिक विद्यालय भकुण्डे, बागलुङको विद्यालय व्यवस्थापन समितिको सदस्य तथा सल्लाहकार समितिको सदस्य, चौतारे डाडा माध्यमिक विद्यालय भकुण्डेको विद्यालय व्यवस्थापन समितिको सदस्य तथा सल्लाहकार समितिको सदस्य भै कामकाज गर्ने अवसर पछिल्लो समयमा प्राप्त गरेका थिए । चौतारे डाडा प्राथमिक विद्यालयमा शिक्षण गर्दा नेपाल सरकारको सहसचिव पदमा हाल कार्यरत बलाराम रिजाललाई समेत अध्यापन गरेको भन्न पाउदा आफुलाई अत्यन्त खुशी लाग्ने गरेको बताउँछन् । आफुले शिक्षण गर्ने क्रममा,सामाजिक संघ सस्थाहरुमा र राजनीतिक यात्राको क्रममा उत्पे्ररित भएका जनशक्तिहरुको सम्पर्क र लेखा जोखा कम मात्रामा भएको पाउने गरिन्छ ।

आफुले शिक्षण गर्दा बढी उत्प्रेरणामुलक भै जागरीलो र मिहिनेतका साथ पठन पाठन गराउने गरेको बताउँछन । विपन्न दिनदुखी परिवारका छोराछोरीलाई खोजी खोजी अध्ययन गराउन बढी पहल गरेको सम्झना अहिलेसम्म रहिरहेको बुझाउछन् । पढाउने विद्यालयमा छानाको व्यवस्था हुने थिएन । कालोपाटी नभई खरी ढुगाले लेखी पढाउने गरेको अनुभव छ । अहिले प्रत्येक विद्यालयमा मार्कर,हवाइट बोर्डमा लेखी पढाउने व्यवस्था छ ।
प्रत्येक विद्यालयमा अहिले पुस्तकालयको व्यवस्था हुन थालेको छ । तर आफुले अध्यापन गर्ने समयमा पाठयपुस्तक बाहेकका शिक्षण सामाग्रीहरु पाउन धेरै कठिन रहेको बताउनु भयो  । शैक्षिक सामाग्रीहरुको अभाव हुने गर्दथ्यो । आजभोलि विद्यालयमा शैक्षिक सामाग्रीहरुको प्रशस्त मात्रामा पाइन्छ । स्थानीय सामाग्रीहरुको अधिकतम उपयोग गरी विद्यार्थी मैत्री,बाल मैत्री वातावरणमा सिकाइलाई उपलब्धीमुलक बनाउन प्रत्यनशील रही सृजनात्मक वातावरणमा अध्यापन गर्ने सोच रहने थियो ।डिजिटल प्रविधिको विकासमा अहिले विद्यार्थीहरुले धेरै सिक्न र जान्न सक्ने मिडियाहरुको विकास भएको छ । विद्यार्थीहरु बढी जिज्ञासु र प्रश्नबाचक बनेमा धेरै भन्दा धेरै ज्ञान र सिप आर्जन गर्ने माध्यमहरुको विकास भएको बताउने पूर्व सभासद नर बहादु थापा मगरले अहिलेका युवा युवतीलाई अवसरलाई आत्मसात गरी दक्ष र शिक्षित जनशक्ति बन्न जरुरी भएको बताउनु हुन्छ  ।
युवा र विद्यार्थीहरु लाई विकृति, विसंगती,कुसंस्कार, कुलत, कुरीति, कुचलन, कुविचारबाट अलग गराउन चाडपर्वको समयमा खेलकुद विकास र हाजिर जवाफ जस्ता क्रियाकलापको व्यवस्थापन गरी आम समुदायमा सकारात्मक सन्देश दिइएको बताउछन् । अहिले मेला,महोत्सव आयोजना गर्ने संस्कृतिको विकास भएको छ । त्यो बेलामा तिजको मेला, दशै, तिहार, श्रीपञ्चमीको समयमा भलिबल, दौड प्रतियोगिता राखी युवा जमातलाई परिचालन गर्ने काम नर बहादुर थापा मगरको नेतृत्वमा हुने गर्दथ्यो ।

शिक्षक पेशाको समयमा राजनीतिमा भुमिगत तरिकाले सक्रिय शिक्षकहरुको सगतले आफु पनि कम्युनिष्टको राजनीतिमा संगठित भएको बताउँछन् । राजनीतिक निष्ठा,पद्धती,संगठनात्मक प्रणालीमा त्याग गरेका कारण राजनीतिक इतिहासमा संविधान सभाको सदस्य समानुपातिक तर्फबाट नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रतिनिधित्व गदैै राजनीतिक अवसर समेत प्राप्त गरे ।
राजनीतिक,सामाजिक र नागरिक समाजका क्षेत्रमा कामकाज गरेका शिलशिला नियाल्दा अर्को आलेख तयार गर्नुपर्ने हुन्छ । छोटो समय र पाठकको व्यस्ततालाई मध्यनजर राख्दै बाँकी क्षेत्रका योगदानलाई ओझेलमा राख्दै यो बसाईको आलेखलाई अन्त गर्दछु ।