कार्य क्षेत्र विस्तार गरेकोमा ढोरपाटनलाई शुभकामना

बागलुङ, ५ चैत – पन्ध्र वषैदेखि बागलुङबाट निरन्तर प्रकाशन हुँदै आएको ढोरपाटन दैनिकले आफ्नो कार्य क्षेत्र विस्तार गरेपछि बागलुङका बिभिन्न संस्थाहरुले बधाई तथा शुभकामना प्रदान दिन थालेका छन् । धौलागिरी साहित्य प्रतिष्ठान बागलुङ, सार्थक प्रकाशन बागलुङ र सिर्जनशिल नारी समाज बागलुङले सोमबार एक कार्यक्रमको आयोजना गरेर ढोरपाटन पत्रिका टिमलाई बधाई तथा शुभकामना दिएका हुन् । कार्यक्रममा पत्रिकाका सम्पादक हरिनारायण गौतम र कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई खादा अविरले सम्मान गरीएको थियो । छापा पत्रकारिताको विकास, विस्तार र गुणस्तरीय सुधारको लागि ढोरपाटनले गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि प्रकाशन सुरु गरिसकेको छ । ढोरपाटन मोफसलबाट प्रकाशित हुने पत्रिका मध्ये दुई ठाउँबाट एकैसाथ प्रकाशन गर्ने पहिलो पत्रिका बनेको छ ।

ढोरपाटनले प्रदेश यात्रासँगै पत्रिकाको आधार ठूलो बनाएको छ । साथै बागलुङ र पोखराबाट प्रकाशन गरी वितरण गर्न थालेको सम्पादक हरिनारायण गौतमले बताए । वि.सं. २०६० भदौ १ गतेदेखि धौलागिरिको सदरमुकाम बागलुङ बजारबाट नियमित प्रकाशित हुदै आइरहेको पत्रिकाले फाल्गुन २९ गतेदेखिदेखि पोखराबाट पनि प्रकाशन सुरु गरेको हो । कार्यक्रममा बोल्दै सम्पादक गौतमले पत्रिकाको क्षेत्र विस्तारसँगै पत्रिकाको गुणस्तर निरन्तरता र जीवन्तताको लागि चूनौती थपिएको बताए । उनले पत्रिकालाई अब्बल बनाउनका लागि निरन्तर संघर्ष गर्ने बताए । पाठकको रुची अनुरुपका पाठ्य सामाग्रीमा विशेष ध्यान दिने भन्दै गौतमले त्यसका लागि सबैको सहयोग आवश्यक रहेको पनि बताए । ‘दिन प्रतिदिन पत्रकारिताको जीवन मर्दै छ’ उनले भने, अझै पनि ‘विशेष पहिचान सहितको पत्रिका बनाउने प्रयत्नमा छौँ ।’ पाठकको सल्लाह बमोजिम पत्रिका र व्यक्ति समेत परिमार्जन हुने उनले बताए ।

संघीयताको मर्म अनुसार अगाडि बढ्न, पत्रकारिताको माध्यमबाट गण्डकी प्रदेशलाई सवल बनाउन, लोकतन्त्र, विधिको शासन, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको दायरालाई थप फराकिलो बनाउने उद्देश्यले प्रकासन फराकिलो बनाएको गौतमको भनाई छ । निश्पक्ष समाचार, स्वतन्त्र विचार र ब्यावसायिक पत्रकारिताको मूल ध्येयका साथ प्रकाशन सुरु भएको ढोरपाटन गण्डकी प्रदेशको ‘क’ वर्गको दैनिक पत्रिका हो । कार्यक्रममा बरिष्ठ अधिवक्ता कृष्णप्रसाद निउरे, स्तम्भकार यामबहादुर थापा, सृजनशिल नारी समाजका पूर्वअध्यक्ष कल्पना श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय राना, सल्लाहकार कोपिला कँडेल लगायतले बोलेका थिए । कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, सृजनशिल नारी समूहका अध्यक्ष रञ्जना नेपालीको स्वागत र महासंघका सचिव राम थापा ‘अविरल’को संचालनमा सम्पन्न भएको थियो ।