इच्छा विपरीत रंग दल्ने लाई कारवाही हुने

बागलुङ, ५ चैत – फागु पूर्णिमाको अवसरमा बुधबार मनाइने होली पर्वलाई लक्षित गरेर बागलुङ प्रहरी प्रशासनले विषेश सुरक्षा योजना बनाएको छ । इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारीसहित सुरक्षा योजना लागू गरिएको हो । होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजना बनाए सँगै प्रहरीले सोही काम गर्न जनाएको छ । बागलुङ प्रहरी प्रमुख कृष्ण हरी शर्मा पोखरेलले अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गरेर हिरासतमा लिइने बताए ।

पोखरेलले कसैले इच्छा विपरित रंग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् । पर्व मनाउने नाममा जाँडरक्सी खाएर जथाभावी हो–हल्ला गर्न, महिलाहरु प्रति हिंसात्मक कार्य गर्न र नियम विपरीत यात्रु संख्या भन्दा बढि यात्रु राखी सवारी साधन चलाई हल्ला गर्न व्यक्तिहरुलाई विशेष कारवाहिमा राखिएको पौडेलले जानकारी गराएका छन् । ‘हामीले एउटा कार्ययोजना नै बनाइसकेका छौं । जसअनुसार होलीको दिन बगलुङमा अन्य दिनमा भन्दा धेरै प्रहरी फिल्डमा खटिनेछन् पोखरेल बताउछन् ।

‘सकेसम्म होली पर्वलाई भद्र र सौहार्दपूर्ण बनाउने कुरामा हाम्रो प्रयास रहनेछ ।’ उनका अनुसार होलीलाई लक्षित गरेर सदरमुकामा चेकपोइन्टहरु राखिएको छ भने मोबाइल गस्ती पनि बढाइएको छ । उनले अवस्था अनुसार कतिपयलाई पहिलो पटक सम्झाइने र दोस्रो पटक पनि सोही हर्कत दोर्होयाए अभद्र व्यवहार मुद्दा समेत चलाइने बताएका छन् ।