प्लमिङको कामबाट मासिक २० हजार

बागलुङ, ७ चैत – युवाहरुले पढेको सैद्धान्तिक ज्ञानले रोजगारी पाउन नसक्ने अवस्थाले अधिकांसले बिदेश ताकेका छन् । लाखौं खर्चेर अमेरिका, जापान, अष्ट्रेलिया लगायतका देश र नभए खाडी मुलुकमा रोजगारी खोज्दै जानेको संख्या अत्याधिक छ । बागलुङ त अझै रेमिट्यान्सले धानेको जिल्ला पनि हो । यहाँका हजारौं युवा बिदेशमा छन् । उनीहरुले बिदेशमा कमाउन जाँदा स्वदेशका लागि चाहिने दक्ष जनशक्ति भने बाहिरबाट झिकाउनु परेको छ । यस्तै समस्या देखेर अघिल्लो बर्षदेखि बागलुङमा प्राविधिक शिक्षाको रुपमा थालिएका केही क्रियाकलापले युवालाई रोजगार बनाएको छ । अपांगता भएका व्यक्तिलाई त प्राविधिक ज्ञान नभए बाँच्नै समस्या छ । यस्तै समस्या समाधान गर्न धौलागिरी एकीकृत ग्रामीण बिकास केन्द्र डिआइआरडिसीले गत बर्षदेखि थालेको प्राविधिक शिक्षाको अभिायनले युवा रोजगारीमा आउन थालेका हुन् ।

तनहुँ घर भएका शिसिर गुरुङले अघिल्लो बर्षको चार महिने तालिमपछि पाएको प्रमाणपत्रको आधारमा बजारमै ल्पमिङको काम गरेर मासिक २० हजार रुपैयाँ कमाउने भएका छन् । बहिरा भएकोले अन्य क्षेत्रमा रोजागिर पाउन नसकेका गुरुङले चार महिनाको तालिमपछि स्वरोजगार भएका छन् । माग अनुसारको काम गर्न नभ्याएपछि धेरै साथीलाई पनि सिकाउने र काममा लगाउने गरिरहेका छन् । सशष्त्र द्वण्द्वको समयमा श्रीमान बेपत्ता भएपछि घर चलाउन नसकेकी जैमिनी नगरपालिका–९ की मधुदेवी शर्माले पनि सिलाई कटाईको काम गरेर जीवन धानेकी छिन् । एक बर्षअघिको आर्थिक अवस्थाबाट उनले सहज महसुस गरेको बताइन् । १६ बर्षदेखि खेपेको दुःख र लागेको ऋण तिर्न यो पेशा उपयोगी हुने उनले बताईन् । सिलाई गर्दा दैनिक एक हजार रुपैयाँसम्म कमाई गर्न सकेको उनले बताईन् । एक बर्ष यता जिल्लामा ६० जना युवाले सिटिईभिटीको लेवल १ उत्तीर्ण गरेर काम थालेका हुन् । सीपको अवसर नपाएका उनीहरुको जीवनमा खुसी आउन थालिसकेको छ । धौलागिरी एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी)ले लग्जेम्बर्सको ओएनडिडि फिनेल नामक संस्थाको सहयोगमा व्यवसायिक सीप दिन थालेपछि दोश्रो चरणमा पनि ५० युवा तालिममा व्यस्त छन् । उनीहरुले ४ महिनासम्म नियमित सिकेपछि लिइने परीक्षाबाट प्रमाणपत्र दिइन्छ । ए लेबलको परिक्षण प्रमाणपत्र सरकारी काममा पनि उपयोग हुन्छ । यो प्रमाणपत्र संसारभर मान्यता प्राप्त हुने केन्द्रका कार्यक्रम अधिकृत शालिकराम शर्माले बताए । विशेषगरी आर्थिक अवस्था कमजोर भएका, अपांगता भएकोले अन्य काम गर्न नसकेकाहरुलाई पल्म्मिङ, सिलाई, हाउस वायरिङ लगायतका तालिम केन्द्रले संचालन गरेको हो ।

यस्तो तालिम गरेर प्रमाणपत्र पाएकहरुले मासिक ३० हजार रुपैयाँसम्म कमाई गर्न सकेको उनले बताए । ‘जागरण बढाउने भन्दै धेरै तालिम संचालन भए, तर आर्थिक उन्नती भएन, त्यसैले व्यवसायिक काममा लाग्ने तालिम संचालन गरेका हौं’ शर्माले भने, ‘तालिम पाएकाहरुलाई व्यवसायमा लाग्न प्रेरणा मिल्ने गरी अन्य सहयोगी पनि खोज्दैछौं ।’ तालिम पाएकाहरुले कमाई गरेर परिवार पाल्न सकोस् भन्ने चाहना राखेर अभियान चलाएको उनले बताए । तालिम लिएका महिलाले बैदेशिक रोजगारीमा गएका श्रीमानलाई समेत फर्कन आग्रह गरेका छन् । बैदेशिक रोजगारीमा जान खोजेका युवा पनि यस्ता तालिमबाट यही रोजगारी गर्न आर्कषित भएका छन् । ‘बिदेशमा भन्दा यहीं राम्रो अवसर रहेछ’ गुरुङले भने, ‘यो पेशाबाट कमाई गरेर बिदेश गएकालाई पनि फर्काउने उदाहरण दिन सकिन्छ ।’ उनले सांकेतिक भाषामा तालिमबाट सफलता पाएको बताए । लेबल ए पास भएपछि प्रशिक्षकको रुपमा समेत उनीहरु सूचिकृत बन्न पाउने प्रावधान छ । केन्द्रले ५ बर्षका लागि दुई सयबढी दक्ष युवा उत्पादन गर्न साँढे ४ करोड रुपैयाँको अनुदान सम्झौता पनि गरिसकेको छ ।