भेडा पालेर गाउँमा जमेका कृष्णमुरारी

भेडा बिक्रि गरेर मासिक ४० हजार रुपैयाँ आम्दानी

बागलुङ, ८ फागुन – उमेरले ७२ काटेका कृष्णमुरारी श्रेष्ठको दैनिकी भेडीगोठ र जंगलमा धेरै बित्ने गरेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थालेको ३६ बर्ष भयो । बिहान बेलुकी घरको धन्दा गर्नु र दिनभर गोठमा रहेका भेडालाई चाराउनका लागि नजिकैकको जंगलमा पग्नु उनको दैनिकी हो ।गोठभरी भेडा पालेका श्रेष्ठले दैनिकी चलाउने माध्यामनै भेडा पालनलाई बनाएका छन् । श्रेष्ठले भेडा बिक्रिगरेर मासिक ४० हजार रुपैयाँ आम्दानी गर्छन् । भेडाकै कमाईले उनको दैनिकी चल्दै आएको छ । पहिले पहिले ३०÷३५ वटा भेडा पाल्ने श्रेष्ठले पछिल्लो समय भेडाको संख्या घटाएका छन् । भेडाको लागि चरीचरणको अभाव हुँदै गएकाले संख्या घटाउनुपरेको श्रेष्ठले बताए । २०२९ सालदेखि निरन्तर भेडा पाल्दै आएका श्रेष्ठ यो पेशाबाट आत्तिएका छैनन् । बरु भेडा पालनबाट पाएको सफलताले खुसि लाग्ने गरेको बताउँछन् ।

श्रेष्ठको घरमा पुजा आजाका भेडा किन्नेहरु धेरै आउने गरेका छन् । गाउँछेउमा रहेको जंगलमा भेडाका लागि प्रसस्ता घाँस पात रहेकाले भेडा पालन सहज रहेको उनले बताए । भेडाको बजार राम्रो रहेकाले मासिक आम्दानी पनि राम्रो हुने गरेको छ । ‘बिक्रिका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमै आएर लैजान्छन’ श्रेष्ठले भने ‘एउटै सानो भेडाको दश हजार देखी १५ हजार सम्म पर्ने गरेको छ ।’ बागलुङ बजारको बिलासि निजनशैलि त्यागेर धम्जा पुगेका श्रेष्ठ सुरुमा स्थानिय एक विद्यालयका शिक्षक थिए । शिक्षण पेशा सँगै उनले भेडा पालन थालेका हुन् । ४६ बर्ष पहिले सामान्य शिक्षकको रुपमा धम्जामा पुगेका श्रेष्ठ सफल भेडा पालक किसान मात्रै बनेन उनले त्यहाँ घरनै जमाएर बसेका छन् ।

अक्सर मानिसहरु आफुलाई सहरिया भन्न रुचाउँछन् । सुकिला, मुकिला र ठाँटिएर हिँड्ने सहरियाहरुको दृष्टिकोणमा गाउँमा बस्नेहरु पाखे्, केही नजान्ने र केही नहुने झुत्रे हुन । पछिल्लो समयमा नेपालका अधिकाँस गाउँहरु रित्तिदैछन् । युवायुवतिको मोह गाउँघर प्रति खासै देखिदैन । उनीहरुमा पनि सुकिलामुकिला बन्ने सोख छ । तर कृष्णमुरारीलाई भने धम्जा पसेपछि बागलुङ बजार फर्किने सोच कहिलै आएन् ।
बागलुङ सदरमुकाम बागलुङ बजार घर भएका उनको अहिले काठेखोला–३ धम्जामै घर बनेको छ । बागलुङ बजारदेखि शिक्षण पेशामा धम्जा पुगेका उनलाई पुनःबजार फर्किन मन कहिल्यै नलागेको बतथाउँछन । गाउँको हावापानी, घरछेउको भेडीगोडमा हुर्किरहेको भेडाका पाठाहरुले उनको मन उतै रोकीरहेको छ । उनलाई त्यस्तो मोहनी लगाउने चिज भनेको त्यहाँको स्वस्थ र सफा अनि हरियाली वातावरण पनि हो । सुरुमा धम्जा जनता प्राविमा शिक्षण पेशामा धम्जा पुगेका उनले आफ्नी आमा, श्रीमति, छोराछोरी समेतलाई धम्जा लगेको बताए ।

१० रुपैयाँ घरभडा तिरेर गाउँको बसाई सुरु गरेका श्रेष्ठको अहिले सुन्दर घर छ । जुन घर गाउँमा पढाएको पारिश्रमीक र भेडाको व्यवसायले बनेको हो । २०४८ साल तिर शिक्षण गरे बापत उनले मासिक १ सय ४० रुपैयाँ पाउँथे तर त्यो पारश्रमीकले घर चलाउन कठिन थियो । शिक्षण सँगै घरमा पालेका भेडाले उनको थप खर्चको जोहो हुन्थ्यो । भेडाबाट राम्रो आम्दानी हुन थालेपछि शिक्षण पेशानै छोडेर श्रेष्ठले व्यवसायीक भेडा पाल्न थालेको बताए । भेडा पालेरै उनका एक मात्र छोरा विद्यालय तहको शिक्षा आर्जन गरे । अहिले उनका छोरा विदेश छन् । छोराको कमाई पनि राम्रैछ । छोराले पटक–पटक बजार झर्न उनलाई आग्रह गरेपनि गाउँको मोहनीले उनलाई छोडेको छैन् ।