प्राविधिक धारका १६८ विद्यार्थी एसइईमा

बागलुङ बाट सामुदायिक र संस्थागत गरी ५ हजार ५ सय २२ जना विद्यार्थी परीक्षामा सहभागि

बागलुङ, ९ चैत – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको प्राविधिक धारतर्फ बागलुङबाट १६८ विद्यार्थी सहभागी हुँदैछन् । कुल ५ हजार ५२२ विद्यार्थी सहभागी हुने एसइई परीक्षामा थोरै मात्रा प्राविधिक तर्फका विद्यार्थीले सहभागीता जनाउने बताइएको छ । शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याका अनुसार धौलागिरी बहिरा आवासिय मावि र शान्ति मावि कुश्मिसेरामा कम्प्युटर इन्जिनियर, धौलागिरी विरेन्द्र माविमा भेटेनरी, भिमसेन मावि विहुँमा सिभिल इन्जिनियरिङ्ग, गल्कोट मावि र त्रिभुवन माविमा कृषि विषयको पठनपाठन भैरहेको छ । जिल्लाको ६ वटा माध्यमिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक संचालन गर्दा प्राविधिकतर्फ विद्यार्थी संख्या न्युन रहेको उपाध्याको भनाई छ । प्राविधिक शिक्षाको आवाज निरन्तर उठे पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

बागलुङमा सामुदायिक विद्यालयले मात्र कक्षा ९ र १० मा प्राविधिक विषयमा पठनपाठन गर्दै आएका छन् । प्राविधिक धारतर्फ १०१ जना छात्र र ६७ छात्रा गरी १६८ जना विद्यार्थी परीक्षामा सहभागी हुने बताइएको छ । दृष्टिविहिन विद्यार्थीअन्तर्गत जनताधन माविका दिना पाण्डे मात्रा परीक्षामा सहभागी हुने बताइएको छ । कम्प्युटर इन्जिनियरिङ्ग विषयका पठनपाठन हुने धौलागिरी बहिरा आमाविका २५ विद्यार्थी एसइईमा सहभागी हुने छन् । चैत्र १० गतेदेखि सुरु हुने परीक्षामा १४० विद्यालयका नियमिततर्फ सामुदायिक विद्यालयका २ हजार १३७ छात्र, २ हजार ५३७ छात्रा गरी ४ हजार ६७४ र संस्थागत नियमित साधारणतर्फ ५०८ छात्र र ३३७ छात्रा गरी ८४५ विद्यार्थी परीक्षामा सहभागी हुने छन् । पहिलो पटक एसइईमा सहभागीता जनाउन थालेको मुक्तिनाथ वेद विद्याश्रम बागलुङबाट ९ जना छात्रले मात्रा सहभागीता जनाउँदै छन् । कक्षा ६ देखि १० सम्मको सँस्कृत विषयका पठनपाठन हुने सो विद्यालयमा हालसम्म कुनै पनि छात्रा विद्यार्थी अध्ययनको लागि भर्ना भएका छैनन् । संस्कृत अध्ययनको लागि छात्राहरु आकर्षित नभएको प्रधानध्यापक शान्ति ज्ञवालीले जानकारी दिईन । परीक्षा संचालनको लागि ३१ वटा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाईएको छ ।

केन्द्राध्यक्षहरु सम्बन्धी केन्द्रमा पुगेका छन्भने प्रश्नपत्र र उत्तर पुस्तिका पनि सम्बन्धी केन्द्रमा सुरक्षा सहित पु¥याएको शाखा अधिकृत सरितादेवी शर्माले जानकारी दिईन । परीक्षा संचालको लागि ३१ जना केन्द्राध्यक्ष, ३९ सहायक केन्द्राध्यक्ष, ५६ जना परीक्षा सहायक, २७८ निरीक्षक, ११२ जना सहयोगी र ४६५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीय निकायका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय प्रमुख, शिक्षा अधिकृत, समन्वय समितिका पदाधिकारी गरी ८८६ जनालाई अनुगमनकर्ताको रुपमा परिचालन गरिएको छ । परीक्षार्थीलाई बालमैत्री व्यवहार गर्न, प्राथमिक उपचारको व्यवस्था र छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्था गर्न केन्द्राध्यक्षलाई निर्देशन दिएको इकाई प्रमुख उपाध्याको भनाई छ । गण्डकी प्रदेश सरकारले परीक्षालाई लक्षित गरी बागलुङको लागि ३६ हजार रुपैयाँ प्याड खरिदको लागि रकम उपलब्ध गराएको थियो । सम्बन्धी परीक्षा केन्द्रबाट महिला शिक्षकले आवश्यकता अनुरुप प्याड उपलब्ध गराउने छन् । परीक्षालाई मर्यादित, निष्पक्ष, भयरहित वातावरणमा संचालन गर्न माशिप, समन्वय समिति बागलुङले ३३ बुँद्दे आचारसंहिता र ३१ बुद्दे निर्देशन जारी गरेको छ । परीक्षामा अमर्यादित गतिविधि गर्नेलाई न्युनतम ६ महिला जेल र एक लाखसम्म जरिवाना हुने बताइएको छ ।