धौलागिरीमा कुखुरा आयातमा रोक

पर्वत, ९ चैत – कास्की लगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको हो । पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा रोक लगाइएको कुश्मा नगरपालिकाका पशु चिकित्सक राम्जीप्रसाद पौडेलले जानकारी दिए ।

कास्की, चितवन, मकवानपुरलगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयातमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाई छ । डिमुवाबाट बुधबार मात्रै चितवन र पोखराबाट कुखुरा बोकेर आएका दुई गाडी सम्बन्धित क्षेत्रमा फिर्ता पठाइएको छ । कुश्मा र म्याग्दी तथा जोमसोमतर्फ बिक्रीका लागि लगिँदै गरेका कुखुरा नियन्त्रणमा लिएर फिर्ता पठाइएको हो । कास्कीमा बर्डफ्लू देखिएपछि पर्वतसहितका छिमेकी जिल्ला पनि उच्च जोखिममा रहेका छन् । छिमेकी जिल्लाबाट पक्षीजन्य उत्पादन बिक्रीका लागि ल्याउन केही समयका लागि नदिने र यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।