बाजेको स्मृतिमा पदमार्ग निर्माण शुरु

म्याग्दी, ९ चैत – बृद्ध र काम गर्न नसक्ने भएपछि आफ्नै बुबाआमालाई ‘हरो’ भनेर बृद्धाश्रममा लगेर छोड्ने सन्तानहरु बढिरहेका बेला म्याग्दीको एक गाउँमा भने आफ्ना दिवंगत बाजेको स्मृतिमा नाति र पनातिहरु मिलेर बाटो निर्माण शुरु गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखका तिजिला समुदायले आफ्ना बाजे स्व.भनदेव तिलिजाको स्मृतिमा ६ लाखको लागतमा शिखको ईलाका स्वास्थ्य चौकीसम्म जाने बाटोको निर्माण कार्य शुरू गरेका हुन् ।

‘मूल सडकदेखि शिख देउरालीस्थित स्वास्थ्य चौकी जोेड्ने करिब ३ सय मिटर पदमार्ग निर्माणको काम शुरु गरिएको छ’स्थानीय सेते तिलिजा पुनले भने ‘शिख स्वास्थ्य चौकीसम्म आवतजावत गर्नको लागि सजिलो होस् भन्ने उद्देश्यले बाटो निर्माणको काम शुरु गरिएको हो ।’ स्व. भनदेव तिलिजाको स्मृतिमा हाल युकेमा बसोबास गर्ने स्व.तिलिजाको नाति र पनातिहरुले बाजेको स्मृतिमा निर्माण गर्न लागेको उक्त बाटोमा यातायातका साधनहरु पनि संचालन हुनसक्ने बनाइने सेते तिलिजाले जानकारी दिए ।

‘बाटो निर्माणको लागि कुनै समिति पनि गठन गरिएको छैन र कसैलाई ठेक्का पनि दिइएको छैन ’बाटो निर्माण कार्यमा खटिइरहेका क्याप्टेन बलबहादुर तिलिजालाई उद्घृत गर्दै सेते तिलिजाले भने ‘दैनिक रुपमा कामदारहरु लगाएर बाटो निर्माणको काम गरेका छौं ।’ स्व. तिलिजाका छोरा, नाति र पनातिहरु सबै युकेमा रहेका छन् ।