बागलुङमा क्षयरोगका बिरामी बढे

बडिगाडमा सबैभन्दा धेरै बिरामी

बागलुङ, १० चैत–बागलुङमा क्षयरोगका बिरामीको संख्या बढ्दै गएको । स्वास्थ्य कार्यालय बागलुङले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको फागुन मसान्त सम्म मात्रै १ सय ४ जनामा क्षयरोग फेला परेको छ । कार्यालयको तथ्याङक अनुसार आर्थिक बर्ष २०७५÷७६ मा बिरामीको दर बढेको हो ।
जिल्लाको बडिगाड गाउँपालिकामा सबै भन्दा बढि १२ जनामा क्षयरोग देखिएको स्वास्थ्य कार्यालय बागललुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले जानकारी दिए । सामाजिक बहिस्करणको त्रासका कारण रोगको संक्रमण रहेर पनि बिरामी खुल्न नसकेका कारण बिगतमा बिरामी संख्या कम देखिने गरेको तिवारीले बताए ।
जनचेतना सँगै बिस्तारै बिरामीहरु खुल्न थालेपछि रोग संक्रमण भएका हरुको संख्या बढ्न थालेको हो । जिल्लामा क्षयरोगका विरामी उपचार दर पनि गत वर्षको तुलनामा बृद्धि भएको छ । गत वर्ष ८७ प्रतिशत रहेको उपचार दर यस वर्ष ९४ प्रतिशत पुगेको स्वास्थ्य कार्यालयले जनएको छ । हरेक स्थानिय तह एक ल्याबको स्थापना अन्तरगत जिल्लाको काठेखोला गाउँपालिका बाहेक सवै ठाउँमा ल्याबको स्थापना गरिएको छ ।
क्षयरोगका शंकास्पद विरामीको अहिले सम्म निसीखोला गाउँपालिकाको निसी र बोहोरागाउँ स्वास्थ्यचौकी, तमानखोला गाउँपालिकाका बोङगादोभान स्वास्थ्य चौकी, बरेङ गाउँपालिकाका बाटाकाचौर, ढोरपाटन नगरपालिकाको बुर्तिबाङ, जैमिनी नगरपालिकाको कुश्मिसेरा, गलकोट नगरपालिकाको हरिचौर, बडिगाड गाउँपालिकाको दगातुन्डाँडा, ताराखोला गाउँपालिकाको अर्गल, स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अंचल अस्पतालमा क्षयरोगको खकार परिक्षण हुदै आएको छ । जिल्लामा सम्पुर्ण स्वास्थ्य सेवाबाट यस रोगको उपचारका लागि औषधी वितरण भै रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।
क्षयरोगलाई न्युनिकरण गर्ने उदेश्यका साथ यस बर्षपनि मार्च २४ गते क्षयरोग दिवस बिभिन्न कार्यक्रम गरि मनाइने भएको छ । ‘समय अबको क्षयरोगको अन्त्यको’ मुलनाराका साथ जिल्लामा क्रियाशिल पत्रकारहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले क्षयरोग निवारणका लागि गण्डकी प्रदेश सरकारले छुट्टै कार्यक्रम ल्याउने बताईन ।
नेपालको कुल जनसङख्या मध्ये करिव ८० हजार व्यक्ति क्षयरोगबाट प्रभाववित रहेका छन । प्रत्येक बर्ष ४४ हजार नया बिरामी थपिने अनुमान गरिदै आइएको छ । पाँच हजार देखि ७ हजार सम्म क्षयरोगको कारण मानिसको मृत्यु हुने गरेको तथ्याङकले देखाएको छ । सरकाररको सन २०५० सम्म क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य रहेको छ । कार्यक्रममा धौलागिरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केविराना मगर, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष लगायतले बोलेका थिए । कार्यक्रम स्वाथ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीको अध्यक्ष तथ्याङक सहायक घनश्याम सापकोटाको स्वागत र क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।