मानव स्वास्थ्य सम्बन्धी कार्यशाला

बागलुङ, ११ चैत – स्वास्थ्य सहकारी संघ, बचत तथा ऋण सहकारी संघ र सिवाइसी सहकारीको संयोजनमा मानव स्वास्थ्य सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयको नसिंङ तथा मानव बिकास महाशाखाले बागलुङमा आयोजना गरेको गण्डकी प्रदेशका स्वास्थ्य सहकारीका सदस्यबीच गरेको एक दिने कार्यशालामा नसर्ने रोगबारे बहस थाल्न सुझाव पदि दिइयो । नसर्ने रोगबाट नेपाल र विश्वमै सबै भन्दा धेरै मानिसको मृत्यु हुने गरेको तथ्यांक आएकोले सहकारीकर्मीमा यो सन्देश दिन आवस्यक भएको बताइको थियो ।

मुटु रोग, मृगौला, मधुमेय लगायतका रोगले बर्षेनी लाखौं मानिस मरिरहेकोले त्यसको नियन्त्रणमा सहकारीका शेयर सदस्यमा सन्देश लैजान सुझाव पनि दिइयो । मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासकहरुले नेपालमा सबैभन्दा धेरै मानिसलाई एकैपटक सन्देश दिने माध्यम समेत सहकारी भैसकेको बताए । उनीहरुले गाउँगाउँमा खुलेका सहकारीमा सहजै सन्देश दिन सक्ने भएकोले प्रदेश तहका सहकारी कर्मीलाई अभिमुखिकरण र कार्यशाला गरिएको बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य चण्डीप्रसाद शर्माले बताए । उनले सहकारीले स्वास्थ्यका लागि धेरै काम गरेपनि राज्यको सेवामा नजोडिएको भन्दै अव जोडिनुपर्ने समेत बताए ।

शेयर सदस्य बिरामी हुँदा, महिला सुत्केरी हुँदा र शेयर सदस्य तथा उनीहरुका आफन्तको मृत्यु हुँदा सहकारीले राहत दिने गरेको उनले बताए । स्वास्थ्य बिमा अभियानलाई जागरणको रुपमा लैजाने, रोग लाग्नु अघि नियमित स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य शिविरहरु संचालन गर्ने काममा सहकारीले अगुवाई गर्नुपर्ने बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले बताए । ‘बर्षेनी सर्ने रोगले मर्नेहरु हजारको संख्यामा पनि छैनन्’ उनले भने, ‘नसर्ने रोगले लाखौं मरिरहेका छन् ।’ यो अभियान नियमित संचालन गरेको सहकारीका प्रतिनिधिले दावी गरे । कार्यशालामा नेपालको संविधान, जनस्वास्थ्य सेवा ऐन, स्वास्थ्य सेवाका अन्य क्षेत्र र अहिले सम्म भएका क्रियाकलाप बारे छलफल गरिएको थियो ।